• ३ साउन २०८२, शनिबार

एक वर्षमा १०५ पक्की पुल

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, साउन ३ गते । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सरकार गठन भएको एक वर्षमा १०५ वटा पक्की पुल निर्माण तथा १० वटा बेलिब्रिज जडान भएको जनाएको छ । यसै गरी एक वर्षको अवधिमा ९३२ किलोमिटर कालोपत्रे सम्पन्न भएको छ । 

एक वर्षको आफ्नो कार्यकालमा भएका उपलब्धिबारे जानकारी दिन शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पुँजीगत खर्चका दृष्टिले मन्त्रालय अब्बल देखिएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “यस मन्त्रालयको विगत छ वर्षको पुँजीगत खर्च तुलना गर्दा आर्थिक वर्ष २०८१/८२ मा सबैभन्दा बढी ७६.४१ प्रतिशत प्रगति भएको छ; जुन औसत राष्ट्रिय पुँजीगत खर्चभन्दा करिब १३ प्रतिशत बढी हो ।” 

मन्त्री दाहालले यही अवधिमा राष्ट्रिय सडक सञ्जाल र यातायातको पहुँच पुग्न बाँकी हुम्लाको सदरमुकाम सिमकोटसमेत राष्ट्रिय राजमार्गको सञ्जालमा जोडिएर सबै जिल्लामा यातायातको पहुँच स्थापित भएको तथा ललितपुरको ग्वार्कोस्थित मुलुककै पहिलो फ्लाइओभर सञ्चालनमा आएको उल्लेख गर्नुभयो । एक वर्षमा नागढुङ्गा सुरुङमार्ग निर्माण पूरा भई सञ्चालन अवस्थामा पुगेको, सिद्धबाबा सुरुङमार्ग छिचोलिएको, त्रिदेशीय कोरिडोरका रूपमा रहेको किमाथाङ्कासम्म ट्र्याक खुला गरिएकोलगायतका उपलब्धिबारे उहाँले जानकारी दिनुभयो ।

रुग्ण ठेक्का व्यवस्थापनमा उपलब्धि

मन्त्रालयले यस अवधिमा रुग्ण आयोजनाहरूको पहिचान र व्यवस्थापनलाई प्रमुख प्राथमिकता दिएको मन्त्री दाहालले बताउनुभयो । आयोजना सुरु हुने तर पूरा नभई अलपत्र हुने परिपाटी अन्त्यका लागि समिति गठन गरिएको र सो समितिले दिएको प्रतिवेदन कार्यान्वयन गरी रुग्ण ठेक्काको सङ्ख्या उल्लेख्य मात्रामा घटाइएको उहाँले बताउनुभयो ।

मन्त्रालयका सचिव केशवकुमार शर्माले रुग्ण ठेक्काको अध्ययनबाट कुल ५८६ ठेक्का पहिचान गरिएकामा गएको एक वर्षभित्र १२० वटा रुग्ण ठेक्का तोडिएको, १५१ वटा रुग्ण ठेक्काको समस्या प्रकृति अनुसार समाधान प्रक्रियामा अगाडि बढाइएको र बाँकी रुग्ण ठेक्काको उचित निकासका लागि थप अध्ययन भइरहेको जानकारी दिनुभयो ।