गणेश पौडेल
पर्वत, भदौ २८ गते । गाउँ जोड्ने सडक कच्ची र जीर्ण हुँदा पनि मर्मत र स्तरोन्नतिका लागि कुनै निकायले चासो नदेखाएपछि यहाँको एक गाउँका बासिन्दाले देउसीभैलो खेलेर सडक ढलान गरेका छन् ।
पर्वतको मोदी गाउँपालिका ६ थामर्जुङका बासिन्दाले देउसीभैलो खेलेर सङ्कलन गरेको रकमले सडक ढलान गरेका हुन् । डिमुवा–तिलाहार–थामर्जुङ सडकको स्तरोन्नतिका लागि स्थानीय मोदी गाउँपालिकालगायत कुनै निकायको प्राथमिकतामा नपरेपछि देउसीभैलो खेलेर रकम सङ्कलन गरिएको स्थानीयले बताएका छन् ।
‘बजेटमा हाम्रो ठाउँलाई कसैले हेरेनन्,’ स्थानीय चन्द्रबहादुर नेपालीले भन्नुभयो, ‘बिरामी लैजान र हिँड्नसमेत समस्या भएपछि देउसी खेलेको रकमले बाटो बनायौं ।’ बाढी पहिरोका कारण सडक सुविधावाट गाउँनै वञ्चित भएपछि गाउँलेहरुले मिलेर रकम सङ्कलन गरेका थिए ।
थामर्जुङमा एक सय ५५ घरधुरी छन् । सोही गाउँमा खेलिएको देउसीभैलोबाट गत वर्षको तिहारमा रु. दश लाख सङ्कलन भएको चन्द्रबहादुर नेपालीले बताउनुभयो । विभिन्न निकायमा सडक स्तरोन्नतीका लागि हारगुहार गर्दा पनि सुनुवाइ नभएपछि गाउँवासी आफैं जुटेर ढलान गरिएको उहाँको भनाइ छ ।
‘पालिका, प्रदेश र संघीय सरकारमा हाम्रो पहुँच पुगेन, अन्य सामाजिक कार्य गर्नका लागि देउसी खेलेर सङ्कलन गरेको रकम सडक ढलानमा खर्च गरेका छौं’, स्थानीय नम्रता बस्यालले भन्नुभयो । उहाँले बिरामी उपचारका लागि अस्पतालसम्म लैजानसमेत समस्या भएपछि गाउँवासीको सक्रियतामा सडक ढलान गरेपछि अहिले सहज भएको बताउनुभयो । गाउँलेले रकम सङ्कलन गरिसकेपछि गाउँपालिकाले १५ लाख रुपियाँ दिन तयार भएको उहाँले बताउनुभयो ।
गाउँपालिकाको कोषले बजार क्षेत्रमा मात्र सडक स्तरोन्नतिको काम गर्ने लक्ष्य भए पनि गाउँमा जान समस्या भएको गुनासो आएपछि उक्त क्षेत्रमा पनि साझेदारी गरेर सडक ढलान गरिएको मोदी गाउँपालिका वडा नंं. ६ का वडा अध्यक्ष दीपेन्द्रजंग लामिछानेले जानकारी दिनुभयो ।
देउसी भैलोको रु. १० लाख र गाउँपालिकाको सह–लगानी कोषबाट रु.१५ लाख गरी रु.२५ लाखमा झण्डै दुई सय मिटर सडक ढलान गरिएको छ । सडक ढलान गरेपछि बाह्रैमास सहज रुपमा सवारीसाधन सञ्चालन भइरहेका छन् । विगतका वर्षमा वर्षायामका चार महिना सडक सुविधावाट वञ्चित हुने थामर्जुङ गाउँमा अहिले बाह्रैमास सबै खालका सवारीका साधन चलाउन सकिने भएको वडाध्यक्ष लामिछानेले जानकारी दिनुभयो । स्थानीयको समेत साझेदारीमा निर्माण गरिएकाले कामको गुणस्तर उत्कृष्ट रहेको उहाँको भनाइ छ ।