• २५ पुस २०८१, बिहिबार

तोकिएकै शीर्षकमा खर्च गर्न निर्देशन

blog

सुर्खेत समाचारदाता

सुर्खेत, भदौ २८ गते । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले गैरसरकारी संस्थालाई जुन कामका लागि रकम आएको हो, त्यही काममा मात्र खर्च गर्न निर्देशन दिनुभएको छ । उहाँले कर्णालीको गरिबी, अशिक्षा, भौगोलिक विकटता देखाएर दातृ निकायबाट रकम ल्याएपछि नागरिकको जीवनस्तर सुधार्नका लागि रकम खर्च गर्न निर्देशन दिनुभयो । 

गैरसरकारी संस्था महासङ्घले बुधबार आयोजना गरेको प्रदेशस्तरीय नीति संवादमा नागरिक सङ्घ संस्थाको चुनौती र नागरिक स्वतन्त्रताका सवाल कार्यक्रममा बोल्दै उहाँले गैरसरकारी संस्थालाई आफ्नो उद्देश्यमाथि केन्द्रित रहेर काम गर्न सुझाव दिनुभयो । कर्णालीलाई बचेखुचेको रकम मात्रै दिइने गरेका कारण कर्णालीमा सधैँ गरिबी तथा भोकमरी देखिएको उहाँले बताउनुभयो । केन्द्रीय कानुन नबन्दा प्रदेशमा पनि कानुन बनाउन नसकिएको बताउँदै उहाँले पुरानै ऐन, नियमले गैरसरकारी संस्थाले काम गर्नु परेको उल्लेख गर्नुभयो । अझै पनि सङ्घ संस्था ऐन, २०३४ अनुसार काम भइरहेको र अब लोकतन्त्रमा सोही अनुसार कानुन परिमार्जन गरिनुपर्ने उहाँको भनाइ छ । 

सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले नागरिक अधिकार प्राप्ति र सचेतनाको क्षेत्रमा गैरसरकारी संस्थाको भूमिका स्मरणीय रहेको बताउनुभयो । उहाँले गैससलाई सधैँ अपारदर्शी भएको आरोप लाग्ने गरेको बताउँदै उहाँले त्यसप्रति सचेत रहन सुझाव दिनुभयो । उहाँले विकास साझेदार संस्थाले स्थानीय रोजगारी वृद्धि गरिरहेकाले विशुद्ध सामाजिक काम गर्न निर्देशन दिनुभयो । साथै ‘एक पालिका एक गैसस’ अनुसार काम गरी नमुनायोग्य बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । 

गैरसरकारी संस्था महासङ्घका केन्द्रीय अध्यक्ष रामप्रसाद सुवेदीले पञ्चायतकालमा बनेको ऐनले अहिलेको लोकतन्त्रमा काम गर्नुपर्दा दायरा साँघुरो भएको बताउनुभयो । उहाँले ऐन परिमार्जन गरिनुपर्ने, साझेदारी ऐन वा कार्यविधि ल्याउनुपर्ने सुझाव दिँदै गैसस सरकारको सहयोगी भएको उल्लेख गर्नुभयो । गैरसरकारी संस्था महासङ्घका केन्द्रीय महासचिव अर्जुनकुमार भट्टराईले सङ्घीयतापछि गैससलाई काम गर्न झनै कठिनाइ भएको तर्क प्रस्तुत गर्नुभयो । उहाँले पालिका, वडामा दर्ता गर्नुपर्दा झन्झट भएको बताउँदै सबै गैससलाई एउटै डालोमा हालेर व्यवहार गर्न नहुने  बताउनुभयो । कोभिडपछि नेपालमा गैरसरकारी संस्थाले ६५ अर्बको योगदान दिएको स्मरण गराउँदै उहाँले सरकारले चाहेको समृद्धि ल्याउन गैससमैत्री वातावरण बनाइदिन आग्रह गर्नुभयो ।