• २५ पुस २०८१, बिहिबार

बढ्दै ‘स्क्रब टाइफस’ को जोखिम

blog

सल्यान समाचारदाता

सल्यान, भदौ २८ गते । सल्यानमा पहिलो पटक ‘स्क्रब टाइफस’ का बिरामी भेटिएका छन् । सल्यान अस्पतालमा उपचारका लागि आएका बिरामीमा ‘स्क्रब टाइफस’ सँग मिल्दोजुल्दो लक्षण देखिएपछि परीक्षण गर्दा नौ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

भदौयता मात्रै नौ जनामा ‘स्क्रब टाइफस’ भेटिएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ । यसअघि जिल्लामा ‘स्क्रब टाइफस’ को सङ्क्रमण पुष्टि भएको थिएन । केही महिनायता मात्रै किट ल्याएर परीक्षण सुरु गरिएको थियो । स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुनकुमार बुढामगरले आठ महिला र एक पुरुषमा ‘स्क्रब टाइफस’ को सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो । उहाँका अनुसार शारदा नगरपालिकाका चार, बागचौर नगरपालिकाका तीन तथा छत्रेश्वरी गाउँपालिका र दार्मा गाउँपालिकाका एक/एक जनामा सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये चार जना १३ वर्षमुनिका बालबालिका छन् । 

ती बिरामीमा ज्वरो आउने, पसिना आउनेलगायतका लक्षण देखिएको अस्पतालले जनाएको छ । मुसामा लाग्ने ‘माइट’ नामको सूक्ष्म किराले टोकेमा यो रोग सर्ने गर्छ । एउटा ‘माइट’ मा रोग सङ्क्रमण भएपछि फुलमा सर्ने र यसको सङ्क्रमण २४ पुस्तासम्म जाने अध्ययनले देखाएको छ । 

झाडीमा मुसाको रगत चुसेर जिउने ‘माइट’ नामक परजीवीको माध्यमबाट मानिसमा ‘स्क्रब टाइफस’ सर्छ । कडा ज्वरो आएको छ भने ‘स्क्रब टाइफस’ पनि हुन सक्छ । त्यसैले तत्काल स्वास्थ्यकर्मीको निगरानीमा पुगिहाल्नुपर्ने डा. बुढामगरले बताउनुभयो । उहाँले भन्नुभयो, “डेङ्गु, टाइफाइडको लक्षणसँग यसको लक्षण मिल्ने भएकाले परीक्षणबिना पत्ता लगाउन गाह्रो पर्छ । सङ्क्रमितले तत्काल उपचार सुरु गर्नु पर्छ, नत्र ज्यानै जोखिमका पर्न सक्छ ।”

कृषिजन्य काम गर्ने मानिस यो रोगको उच्च जोखिममा रहेका जिल्ला अस्पताल सल्यानले जनाएको छ । कार्यालयका अनुसार घरभित्र र वरपरको वातावरण सफा राखी झाडी हटाएमा जोखिम कम गर्न सकिन्छ ।