• २५ पुस २०८१, बिहिबार

पार्टीमा युवा नेताको सक्रियता बढ्दै : नेता भण्डारी

blog

नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारी कांग्रेस रेसुङ्गा नगरपालिकाद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै । तस्बिर : रमेश विश्वकर्मा

रमेश विश्वकर्मा
गुल्मी, भदौ २७ गते ।
 नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले पार्टीमा युवा नेताहरूको सक्रियता बढ्दै गएको बताउनुभएको छ । बिहीबार नेपाली कांग्रेस रेसुङ्गा नगरपालिकाद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले युवा नेताहरूको सक्रियता बढ्दा पार्टी सशक्त बन्दै जाने बताउनुभएको हो ।

गुल्मी निर्वाचन क्षेत्र नम्बर–१ बाट निर्वाचित सङ्घीय सांसद भण्डारीले जिल्लाबाट निर्वाचित भएर गएपछि ग्यास दुर्घटनामा परेर बिरामी पर्दा जिल्लामा पर्ने योजना पनि बिरामी परेको बताउनुभयो । स्वास्थ्यमा धेरै सुधार हुँदै गएकाले यस पटकको बजेटमा यस जिल्लामा सबैभन्दा धेरै योजना र बजेट ल्याउन सफल भएको बताउनुभयो ।

विकास निर्माणका कार्य बजेटले नरोकिने उहाँले बताउनुभयो । जनप्रतिनिधिले गरेका विकासका काम सबै स्थानका नागरिकहरूले देखिने हुनुपर्ने भन्दै भण्डारीले आगामी निर्वाचनमा गठबन्धनबिना एक्लाएक्लै पार्टीहरू चुनावमा जाने परिस्थिति आउन सक्ने बताउनुभयो ।

लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले कांग्रेस सांसदहरूले निर्वाचित भएपछि समान विकासको अवधारणालाई अगाडि बढाइएको बताउनुभयो । प्रदेशमा सिंहदरबारभन्दा ठुला भवन बनिरहेको भन्दै लुम्बिनीमा सम्पन्न भएका योजनाको भुक्तानी समेत दिन नसकेको बताउनुभयो । चुनाव निकै खर्चिलो बन्दै गएकाले कार्यकर्ता पनि जिम्मेवार बन्न र इमानदार बन्न आवश्यक रहेको भन्दै आर्थिक रूपमा भोट किनबेच हुने प्रवृत्तिले समस्या भएको बताउनुभयो ।

त्यस्तै, कांग्रेस लुम्बिनी प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठले पार्टीभित्र असन्तुष्टि बढ्दै गएको भन्दै पार्टी नेतृत्व गम्भीर हुनुपर्ने बताउनुभयो । पार्टीमा संस्थागतसँगै गुटबन्दीको अन्त्य गर्न आवश्यक रहेको बताउनुभयो ।

जनताहरू नेताप्रति आक्रोशित बनिरहेका भन्दै उहाँले पार्टीमा चाकडी र चाप्लुसी प्रवृत्ति विकसित भइरहेकाले पार्टी कमजोर बन्न सक्ने बताउनुभयो । प्रजातान्त्रिक पार्टीमा सिद्धान्त र व्यवहार फरक–फरक भएको भन्दै नेताहरूले बोलेको कुरा व्यवहारमा लागू गर्न जरुरी रहेको बताउनुभयो ।