• २४ वैशाख २०८२, बुधबार

गोरखापत्र साझा चौतारी

blog

राष्ट्र, राष्ट्रियता र प्रजातन्त्रको पक्षमा महत्वपूर्ण भूमिका खेल्दै, विविध कठिनाइसँग पौँठेजोरी खेल्दै गोरखापत्र राष्ट्रिय दैनिक आमनागरिकको सुसूचित हुने माध्यमका रूपमा सधैँ अडिग भएर निरन्तर रूपमा अगाडि बढिरहेको छ । समाज रूपान्तरणका लागि जहाँ र जस्तोसुकै परिस्थितिमा कलमको माध्यमबाट सधैँ अगाडि बढिरहेको गोरखापत्रले आफ्ना विविध खुराक आमपाठकमाझ सधैँ पस्किँदै आएको छ । गोरखापत्रले विगत १२४ वर्षदेखि निरन्तर राष्ट्रिय, अन्तर्राष्ट्रिय, राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, वैज्ञानिक, दार्शनिक, पर्यावरण, स्वास्थ्य, खेलकुदलगायत विविध विषयवस्तुका समाचारसँगै विभिन्न विद्वान्का लेखरचना प्रकाशन गर्दै आएको छ । यसका साथै मानवीय अभिरुचिका रोचक, उत्प्रेरक तथा सन्देशमूलक रचनाहरूलाई उचित स्थान दिई आवश्यकता र प्राथमिकताका आधारमा प्रकाशित गर्दै आमनागरिकलाई संविधानप्रदत्त सूचनाको मौलिक हक प्रदान गर्ने कार्यमा समर्पित भई सही समाचार सुसूचित गराउने मुख्य उद्देश्य लिई गोरखापत्र अगाडि बढ्नुलाई सकारात्मक मान्नु पर्छ । गारेखापत्र राष्ट्र, राष्ट्रियता, प्रजातन्त्रप्रति सधैँ समर्पित भएर अघि बढ्नुपर्ने आवश्यकता पनि रहेको छ । 

गोरखापत्र सबैको साझा चौतारी हो । गोरखापत्रमा पाठक, शुभचिन्तक, पत्रकारले निर्धक्कका साथ आफ्नो लेख रचना पठाई सहभागिता जनाउन सक्ने अवसर दिनुलाई सकारात्मक रूपमा लिँदै यस कार्यलाई आगामी दिनमा निरन्तरता दिइनुपर्ने हुन्छ । हाम्रा समाजका घटनालाई समाचारको रूप दिई जस्ताको तस्तै आमनागरिकमाझ सम्प्रेषण गर्ने कार्यमा अग्रणी भूमिका यस पत्रिकाले गर्दै आइरहेको तथ्य हाम्रासामु प्रस्ट नै छ । गोरखापत्रका अगाडि सयौँको सङ्ख्यामा आएका अन्य प्रतिस्पर्धी पत्रपत्रिकाले खासै कुनै नयाँपन दिन सकेको देखिँदैन । गोरखापत्रप्रति आमपाठकको झुकाव रहनुमा यसले प्रकाशित गर्ने सही समाचारहरू सत्य, तथ्य, खोज, प्रमाण र अनुसन्धानमूलक भएर नै हो । गोरखापत्र १२५ औँ वर्षमा प्रवेश गरेको छ । 

गोरखापत्र संस्थानले आफ्ना प्रकाशनमार्फत संविधान कार्यान्वयन, दिगो विकास र लोकतन्त्रको प्रत्याभूतिका लागि महìवपूर्ण जिम्मेवारी वहन गर्दै सञ्चार ऐन, नियम, नीति कार्यान्वयन गर्दै देशको उन्नति, प्रगतिमा सधैँ अघि बढ्नुपर्ने हुन्छ । राष्ट्रको चौथो अङ्ग पत्रकारिता जगतको संरक्षण, संवर्र्धन गर्दै राष्ट्र राष्ट्रियता जनजीविकाको पक्षपोषण एवं राष्ट्र नै ठुलो र महìवपूर्ण भएको उद्घोष गर्दै सबै वर्ग, लिङ्ग, धर्म र जातजातिलाई एकताबद्ध गराउँदै अघि बढ्ने कार्यमा गोरखापत्र र गोरखापत्र संस्थानको महìवपूर्ण भूमिका र योगदान रहेको छ । समाजका जुनसुकै क्षेत्रमा गोरखापत्रको आवश्यकता र महत्व हिजो पनि थियो, आज पनि छ र भोलि पनि अति आवश्यक रहने छ । देशको इज्जत, सान अझ उँचो बनाउने कार्यमा गोरखापत्रले कोही कसैसँग कहिल्यै सम्झौता गरेको देखिँदैन । विभिन्न कालखण्ड राणा शासन, निरङ्कुश पञ्चायतकाल, राजतन्त्र पार गर्दै लोकतन्त्र र गणतन्त्रमा प्रवेश गरी आफ्नो उद्देश्य पूरा गराउने गन्तव्यमा सधैँ अगाडि बढिरहने संस्था नै गोरखापत्र रहेको कुरामा दुई मत हुन सक्दैन । हाम्रा समाजका विकृति, विसङ्गति, अन्याय र असमानताका विरुद्ध, विश्वशान्तिका लागि निरन्तर रूपमा हकाधिकार प्राप्तिका लागि पुलको रूपमा काम गर्दै अघि बढिरहेको गोरखापत्रले राष्ट्रिय, अन्तर्राष्ट्रिय क्षेत्रका घटना, सफलता, असफलतालाई जस्ताको तस्तै सधैँ पस्कँदै आइरहेको छ । गोरखापत्रले समयसापेक्ष परिमार्जन गर्दै २१ औँ शताब्दी सुहाउँदो ई–पेपर, प्रदेश विशेष, विभिन्न जनजातिलाई एकताबद्ध र उनीहरूकै मातृभाषामा सामग्री प्रकाशित गरी भाषा संरक्षणमा समेत अग्रणी भूमिका खेलिरहेको छ । यसबाहेक विभिन्न भाषाभाषीको मुखपत्रको रूपमा नयाँ नेपाल, फेसबुक, अनलाइन र आफ्नो वेबसाइटबाट विश्वका जुनसुकै कुनामा रहेका नेपालीको पहुँचभित्र विविध समाचार सम्प्रेषण गर्न गोरखापत्र सफल हुन पुगेको छ । 

विभिन्न कालखण्डमा विभिन्न आरोहअवरोहबिच विभिन्न बाधा अड्चनलाई समेत पाखा लगाउँदै सही, सत्य र तथ्यमा आधारित समाचार सम्प्रेषणका लागि कार्यरत दक्ष प्राविधिक कर्मचारी, पत्रकार, जिल्ला समाचारदाता, सम्पादकमण्डलको निरन्तर सहयोगकै कारण गोरखापत्र आज नम्बर एक पत्रिका बन्न सफल भएको छ । गोरखापत्रमा सक्रिय रूपमा समाचार प्रकाशनका लागि सहयोग गर्ने हजारौँ कलमजीवी, पेसागत मर्यादा र दायराभित्र रही कलम चलाउने लेखक, स्रष्टा र लाखौँको सङ्ख्यामा रहेका ग्राहक र पाठकको मायाममता, निरन्तर सहयोग, सद्भाव र विश्वासकै कारण गोरखापत्रले फड्को मार्न सकेको हो । गोरखापत्रभित्र छापिने समाचार र सूचना सत्यतथ्यमा आधारित हुने र सरकारको आधिकारिकता प्राप्त पत्रिका भएकाले पनि यसको छुट्टै पहिचान रहँदै आएको छ । यो पत्रिकाले कहिल्यै पनि कुनै वर्ग, वर्ण, लिङ्ग र जनजातिमा भेदभाव नगरी समानताको दृष्टिकोणले हेर्ने गरेको छ । 

गोरखापत्रले जनता नै सर्वोपरि ठानी राष्ट्र, राष्ट्रियता र दिगो प्रजातन्त्र स्थापनाका लागि जनताकै पक्षमा वकालत गरिरहेको छ र भविष्यमा समेत नागरिककै पक्षमा लाग्ने विश्वास लिन सकिन्छ । सीमित स्रोतसाधन र जनशक्ति प्रयोग गरेर आमनागरिकलाई सुसूचित गराउँदै विभिन्न आरोहअवरोह पार गर्दै अनवरत रूपमा पत्रकारिता क्षेत्रमा अब्बल स्थान हासिल गर्नु चानचुने कुरा हुनै सक्दैन । अहिले गोरखापत्र सबैको दैनिकी भइसकेको छ । इन्टरनेटको माध्यमबाट हातहातमा रहेको मोबाइल एपमार्फत  समाचार तुरुन्तै पाउन सकिन्छ, यो नै गोरखापत्रको सकारात्मक पक्ष हो । गोरखापत्रले सत्यलाई सत्य नै ठान्छ, कुनै सरकार वा प्रमुखको आदेश अनुसार चलेको अनुभव अहिलेसम्म रेकर्ड रहेको देखिँदैन । गोरखापत्र अरू पत्रिका जस्तो पक्ष वा विपक्ष लिएर लेख्दैन । सत्यतथ्यमा आधारित भएर वास्तविकता उजागर गर्ने कार्य यसले गरेको छ । 

गोरखापत्रको ऐतिहासिक सङ्ग्रहले भावी पुस्तामा नेपाल र नेपाली समाजका अलावा विश्वजगत्का समाचार सजिलै अध्ययन गर्न सक्ने पुस्तकालयका रूपमा रहेको छ । गोरखापत्र संस्थानले आमपाठकको भावनाको कदर गर्दै अङ्ग्रेजी पत्रिका दी राइजिङ नेपालमा अङ्ग्रेजी भाषाका विभिन्न खुराक पस्कने गर्छ । बालबालिकाको शिक्षा क्षेत्र उकास्न मात्रै नभई उनीहरूको साहित्यिक क्षमता अभिवृद्धि गर्न गराउन मुना मासिकमा विभिन्न स्तम्भमार्फत भविष्यको साहित्यकारका रूपमा अभिभावकत्वसमेत निर्वाह गरिरहेको छ । त्यसै गरी युवाको चाहना र प्रतिनिधित्व गर्दै उनीहरूको क्षमता र दक्षतालाई समेट्दै युवामञ्च र साहित्य र कलाका अनुरागीहरूका लागि छुट्टै खुराकका रूपमा मधुपर्क मासिक पत्रिकामा समेट्दै आएको छ । यसका साथै विभिन्न समयमा पुराना स्रष्टा र कवि साहित्यकारको संस्मरण, नाटक, कविता, लोककथा, कथाहरूको सँगालो प्रकाशित गर्दै नयाँ पुस्ताका पाठकलाई सुसूचित गराउने कार्यमा समेत गोरखापत्र अगाडि छ । देश र समाजका लागि गोरखापत्रले उदाहरणीय, उल्लेखनीय र प्रशंसनीय कार्य गरिरहेको छ । विश्वसनीय, सत्यतथ्य, प्रमाणमा आधारित र भरपर्दो समाचार प्रकाशित गरिएकै कारण गोरखापत्रले पाएको यो स्थानलाई चिरकालसम्म कायम राख्नुपर्ने दायित्व पनि छ ।