• २५ पुस २०८१, बिहिबार

बागमतीमाथि आर्मीको सहज जित

blog

बल खोस्ने प्रयास गर्दै आर्मी र बागमतीका खेलाडी । तस्बिर सौजन्य : एन्फा

काठमाडौँ, भदौ २७ गते । विभागीय टोली त्रिभुवन आर्मी क्लबले एन्फा महिला लिग फुटबलमा बागमती क्लबमाथि सहज जित निकालेको छ ।

सातदोबाटोस्थित एन्फा मैदानमा बिहीबार भएको खेलमा आर्मीले बागमतीलाई ३–० गोलले हराएको हो । आर्मीको जितमा विमला चौधरीले २६औँ र अमिशा कार्कीले ६१औँ मिनेटमा गोल गर्नुभयो ।

अर्को गोल आर्मीले खेलको अन्तिममा बागमतीकी सन्जी थिङबाट आत्मघाती उपहार पाएको थियो । खेलभर आर्मीको दबाब झेलेको बागमतीको गोल फर्काउने प्रयास सफल भएन । जितसँगै आर्मीले चार खेलबाट नौ अङ्क बनाएको छ । बागमतीले तीन अङ्क बनाएको छ । 

यसैगरी बिहीबार नै भएको अर्को खेलमा एपिएफ क्लबले वालिङ नगरपालिकालाई २–१ गोलले हराएको छ । एपिएफको जितमा रेनुका नगरकोटी र रश्मीकुमारी घिसङले गोल गर्नुभयो । वालिङका लागि सिसे एन्टोङगोले गोल फर्काउनुभयो । जितसँगै एपिएफले चार खेलबाट १० अङ्क बनाएको छ । 

वालिङको चार अङ्क छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आयोजना गरेको लिगमा विभागीय तीनसहित १० टोलीको सहभागिता रहेको छ । दुई करोड २४ लाख ६८ हजार रुपियाँ लगानी रहेको लिगको विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपियाँ पुरस्कार पाउने एन्फाले जनाएको छ । 

यस्तै लिगको उत्कृष्ट खेलाडीलाई एक लाख, फेयर प्ले टोलीलाई एक लाख ५० हजार, विधागत उत्कृष्ट खेलाडीलाई जनही ५० हजार रुपियाँ प्रदान गरिनेछ ।