काठमाडौँ, भदौ २७ गते । भारत भ्रमणमा रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल र भारतबिच थप हवाई प्रवेश मार्ग तथा दुई देशका विभिन्न शहरहरुबिच सिधा हवाई सम्पर्क स्थापना गर्ने विषयमा छलफल गर्नुभएको छ ।
भारतको नयाँ दिल्लीमा बुधबारबाट जारी अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन ( आईकाओ) को एशिया प्रशान्त क्षेत्रको मन्त्रीस्तरीय दोस्रो सम्मेलनको साइडलाइन भेटघाटका क्रममा बिहीबार भारतका नागरिक उड्डयनमन्त्री राममोहन नाइडु किन्जारापुसँगको भेटमा सो विषयमा छलफल गर्नुभएको हो ।
भेटका क्रममा मन्त्री पाण्डेले नेपालमा हाल थप सञ्चालनमा आएका पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसहित तीनवटा अन्तर्राष्ट्रिय विमान सञ्चालनमा रहेकाले भारतको बढ्दो गतिमा अघि बढेको नागरिक उड्डयन क्षेत्रले भारतका विभिन्न शहरबाट नेपाली शहरहरुमा थप सिधा उडान तथा अन्तर्राष्ट्रिय विमानस्थलहरुबाट सिधै क्षेत्रीय र अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक संयन्त्र परिचालन गर्न भारतीय पक्षसँग आग्रह गर्नुभएको थियो ।
उहाँले पोखरा नेपालका पर्यटकीय राजधानीका रुपमा विकसित भइरहेको र विगतमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथको भ्रभण गरेपछि अहिले ठूलो सङ्ख्यामा भारतीय धार्मिक पर्यटकले मुक्तिनाथको दर्शन गर्न जाने थालेको स्मरण गर्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका विभिन्न शहरबाट सिधा उडान भर्न भारतीय उड्डयन कम्पनीहरुलाई प्रोत्साहित गर्नुपर्ने विषयमा जोड दिनुभएको थियो ।
यसैबिच बुधबार भारतको संस्कृति तथा पर्यटनमन्त्री गजेन्द्र सिंह शिखावतसँग नयाँदिल्लीमा भएको भेटका क्रममा पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय शहरहरुबाट सिधा हवाई उडान गर्न भारतीय मन्त्रीसँग आग्रह गर्नुभएको थियो ।
सो क्रममा भातरीय संस्कृति तथा पर्यटनमन्त्री शिखावतले नेपाल र भारतबिचको प्रभावकारी अपासी सम्पर्क स्थापना तथा सहज आवतजावतको माध्यमबाट दुई देशको संस्कृति तथा सभ्यतागत सम्पर्कलाई थप मजबुत बनाउन सकिने कुरामा जोड दिनुभएको थियो ।
भेटमा विगतमा दुई देशका संस्कृति तथा पर्यटनमन्त्रीहरुबिच सांस्कृतिक सम्बन्ध मजबुत बनाउने विषयमा एक सझादारी पत्रमा हस्ताक्षर भएको र अहिले त्यसको म्याद सकिएकाले त्यसलाई थप परिमार्जनसहित पुनः नवीकरण गर्ने विषयमा छलफल भएको थियो ।
भेटका क्रममा मन्त्री पाण्डेले नेपाल र भारतबिच रहेका नाट्य प्रतिष्ठान, कला प्रतिष्ठान जस्ता निकायबीच सांस्कृतिक तथा प्राज्ञिक ज्ञान आदानप्रदान गर्ने विषयमा पनि छलफल भएको थियो ।
भारत र नेपलाबिच मानवीय तथा सांस्कृतिक विषयसँग समबन्धित स्रोतहरु कतै न कतै एक अर्कासँग जोडिएको हुँदा ती विषयमा थप खोज अनुसन्धान गरी सम्बन्धलाई थप मजबुत बनाउने विषयमा दुबै देशका संस्कृतिमन्त्रीबिच छलफल भएको थियो ।
सो भेटका क्रममा पर्यटन तथा संस्कृतिका माध्यमबाट दुई देशबिचको सम्बन्धलाई थप गहिराईमा पुर्याउन सकिने विषयमा विचार आदानप्रदान भएको थियो ।
यसै गरी साइडलाइन बैठकका क्रममा अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन ( आईकाओ) दुईपक्षीय, म क्षेत्रीय बहुपक्षीय निकायका प्रतिनिधिहरुसँगको बेग्लाबेग्लै भेटमा नेपालले हवाई सुरक्षाका विषयमा सुरु गरेका नीतिगत सुधार लगायत विषयमा मन्त्री पाण्डेले जानकारी गराउनुभएको थियो ।
सोही क्रममा आइकाओका युरोपियन युनियन एभिएशन सेफ्टी एजेन्सी (इएएसए) का प्रतिनिधिहरुलाई सरकारले नागरिक उड्डयनका क्षेत्रमा सेवा प्रदायक र नियामक निकायलाई अलग गर्ने विषयमा कानुन निर्माणको कामलाई तीव्रता दिएको र आईकाओको हवाई सुरक्षा अडिटमा गरेको सुधार लगायतका विषयमा जानकारी गराउनुभएको थियो ।
भेटका क्रममा भएका गहन छलफलमा नेपालले हवाई उड्डयन क्षेत्रलाई थप विश्वसनीय, सबल र सुरक्षित बनाउन देखाएको तदारुकता, कानुनी तथा संरचनागत सुधार जस्ता विषयले नेपालका नागारिक उड्डयन क्षेत्रको आत्मविश्वास अभिवृद्धि भएको नयाँदिल्लीस्थित नेपाली दूतावासका अधिकारीहरुले जनाएका छन् ।
आजै दक्षिण कोरियाका नागरिक उड्डयन, भूमि , पूर्वाधार उपमन्त्री जो जोङओनसँग भएको भेटमा नेपाल वायुसेवा निगमका विमानले सिधै कोरियामा उडान गर्ने लगायतका विषयमा छलफल भएको थियो ।
सोही क्रममा बुधबार मन्त्री पाण्डेले भियतनामका यातायात उपमन्त्री ली आन ट्वानसँग पनि द्विपक्षीय भेट गर्नुभएको थियो भेटका क्रममा नेपाल र भियतनामबीच सिधा हवाई सम्पर्क स्थापित गर्ने लगायतका नागरिक उड्डयनका क्षेत्रमा आपसी सहयोग अभिवृद्धिका विषयमा छलफल भएको थियो ।
यसैगरी, मन्त्री पाण्डेले जापानका भूमि, पूर्वाधार, यातायात तथा पर्यटन राज्यमन्त्री कोनोसुकी कोकुबासँग भेट गर्नुभएको थियो । भेटका अवसरमा दुईदेशबिच नागरिक उड्डयन, पर्यटन, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र मानवीय संसाधन विकासलगायतका विषयमा थप सहयोग अभिवृद्धि गर्ने छलफल भएको थियो ।
यी भेटघाटका क्रममा भियतनामबाट जापान र कोरियालगायतका देशबाट नेपालमा सिधा हवाई उडान गर्न सकिने वातावरण तयार भएको र सरकारले त्यसका लागि आवश्यक प्रबन्ध गरेको मन्त्री पाण्डेले जानकारी गराउनुभएको थियो ।
मन्त्री पाण्डेले बुधबार नयाँदिल्लीस्थित नेपाली दूतावासको भ्रमण गर्नुभई दूतावासका अधिकारीहरुसँगको भेटमा दुई देशबिच नागरिक उड्डयन, संस्कृति र पर्यटनका क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने विषयमा छलफल गर्नुभएको थियो ।