• ८ मंसिर २०८१, शनिबार

कोशी प्रदेश सभाको सात संसदीय समितिको सभापति छान्ने प्रक्रिया सुरु

blog

शशिधर पराजुली

विराटनगर, भदौ २७ गते । कोशी प्रदेश सभा अन्तर्गतका संसदीय समितिको निर्वाचन प्रक्रिया सुरु भएको छ । आम निर्वाचन भएको ११ महिनापछि गत वर्षको कात्तिक २० गते संसदीय समितिहरू गठन गरिएको भए पनि अहिलेसम्म संसदीय समितिहरूको सभापति टुङ्गो लागेको थिएन । 

संसदीय समितिले अब भने नेतृत्व पाउने निश्चित भएको छ । आज समितिको सभापति पदका लागि मनोनयन दर्ता भई भोलि शुक्रबार समितिको निर्वाचन गर्ने कार्यतालिका अनुसार निर्वाचन प्रक्रिया अगाडि बढेको हो । 

मुख्यगरी सत्तारुढ दल नेकपा एमाले र नेपाली काँग्रेसबिच संसदीय समितिको नेतृत्व गर्ने विषयमा बुधबार साँझ सहमति जुटेपछि निर्वाचन प्रक्रिया अगाडि बढेको हो । सहमति अनुसार सात वटा संसदीय समितिमध्ये नेकपा एमाले र नेपाली काँग्रेसले ३-३ वटा समितिको नेतृत्व गर्नेछन् । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले एउटा समितिको नेतृत्व गर्न पाउने भएको छ । 

नेकपा एमालेले सभापतिले सभापति कोशी प्रदेश सभा २१ महिनापछि हुन लागेको संसदीय समितिको निर्वाचनका लागि दलहरूले सभापतिको उम्मेदवार छनौट गरेका छन् ।

प्रदेश सभामा दुई तिहाइ बढी सांसद रहेको सत्तारुढ गठबन्धनले एमालेलाई ३ वटा र काँग्रेसलाई ३ वटा समितिको सभापति भागबण्डा गरिसकेको छ । संसदीय परम्परा अनुसार सार्वजनिक लेखा समितिको सभापति भने प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले पाउनेछ ।

समितिको टुङ्गो लागेसँगै नेकपा एमालेले झापाका होमबहादुर थापालाई प्राकृतिक स्रोत तथा पूर्वाधार समितिको सभापतिमा उम्मेदवारी दिने तयारी गरेको छ भने, तेह्रथुमकी कमला दर्नाललाई न्याय प्रशासन तथा विधायन समिति र सुनसरीका रामदेव यादवलाई उद्योग, पर्यटन तथा वातावरण समितिको सभापति बनाउने निर्णय एमालेले गरेको छ ।

यसैगरी नेपाली कांग्रेसले सामाजिक विकास समिति सभापतिमा मोरङका गयानन्द मण्डल, सुशासन तथा योजना समितिको सभापतिमा इलामकी खगेश्वरी पौडेल र अर्थ समितिको सभापतिमा भोजपुरका विनोद वान्तवा राईलाई उम्मेदवार बनाउने तयारी गरेको छ । 

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको भागमा परेको सार्वजनिक लेखा समितिको सभापतिका लागि उदयपुरका सांसद राजन किरातीले उम्मेदवारी दिनुहुने संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिनुभयो । 

उम्मेदवारीको प्रस्ताव दर्ता गर्न आज बिहीबार १० बजेदेखि साँझ ५ बजेसम्मको समय दिइएको त्यो । उम्मेदवारहरूको अन्तिम नामावली आजै प्रकाशन गर्ने तालिका सार्वजनिक गरिएको छ । साँझ ६ः१५ बजे अन्तिम नामावली प्रकाशन हुनेछ भने शुक्रबार दिउँसो २ बजे निर्वाचन हुने छ । 

प्रमुख दलहरूबिच सहमति भइसकेका कारण समितिका सभापतिमा दोहोरो उम्मेदवारी पर्ने सम्भावना न्यून छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सातमध्ये प्रमुख दुई दलले पाँच वटा समितिको सभापति लिएर विपक्षी दलहरूलाई दुईवटा समितिको सभापति दिने चाहना गर्नुभएको थियो ।

तर सत्ता साझेदार दल नेपाली काँग्रेसले बराबरी समितिको नेतृत्व दाबी गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीलाई समितिको सभापति दिने मुख्यमन्त्रीको चाहना पूरा हुन सकेन । उता नेकपा माओवादी केन्द्रले दुई वटा समितिको नेतृत्व दाबी गरेको भए पनि पाएन ।