• ८ पुस २०८१, सोमबार

गाडी चल्न बनाएको सडकमा हिँड्नै सकस

blog

खप्तड छेडेदह गाउँपालिका– २ मा रहेका ग्रामीण सडकमा स्थानीय ज्यान जोखिममा आउजाउ गर्दै । तस्बिर ः गोरखापत्र

शेरबहादुर सार्की

बाजुरा, भदौ २७ गते । बाजुराको खप्तड छेडेदह गाउँपालिका अधिकाशं गाउँ बस्तीमा  गाडी सञ्चालन गर्न निर्माण गरेका ग्रामिण सडकमा हिंड्नै सकस हुने गरेको छ । हिउँदको महिना जथाभावि निर्माण गरिएका ती सडकमा बर्खाको समय लगातार पहिरो बग्न थालेपछि अहिले यहाँका स्थानीयलाई त्यो सडकमा हिड्नै सकस हुने गरेको हो ।

हिउँदको महिना खनेका ती सडकमा बर्खाको समय पहिरो बग्ने गरेकोले यहाँका बालबालिकालाई समेत विद्यालयमा आउजाउमा समस्या हुने गरेको खप्तड छेडेदह गाउँपालिका –२ पीपलगाउँका स्थानीय पदम बुढाले बताउनुभयो ।

उहाँले भन्नुभयो,  “गत साउनमा परेको अविरल वर्षातका कारण पीपल गाउँदेखि कुर्पे मथर्पुसम्म जाने सडकमा पहिरो गएपछि अहिले यहाँका बालबालिकालाई विद्यालय आउँदा निकै जोखिम मोहल्दै आउनुपरेको छ । ”

भत्किएका सडकलाई समयमै मर्मत सम्भार नगर्ने हो भने हिउँदको महिनामा पनि यहाँका स्थानीय ती सडकमा आउजाउ गर्न निकै समस्या हुने बुढाले बताउनुभयो ।खप्तड छेडेदह गाउँपालिका पीपल गाउँ गाँज्रा कुर्पे लगायतका अधिकांश सडक बर्खाको समय पहिरो गएर अवरुद्ध भएका छन् ।

लगातार पानी पर्दै गएकोले अहिले सम्म ती सडकको मर्मत सम्भार कार्य रोकिएको छ । सडक मर्मत सम्भारको काम रोकिएपछि यती बेला यहाँका स्थानीयलाई वडा कार्यालय तथा बालकालिकालाई विद्यालय आउन समस्या भएको छ । 

सडकमा गएको पहिरोले गाउँ बस्तीमा समेत जोखिम बढेको छ । यहाँका गाउँ बस्तीको माथिबाट खनेको सडकमा पहिरो जान थालेपछि त्यसले पूरै गाउँ बस्तीलाई नै थप जोखिममा पार्ने गरेको हो ।

गत असारदेखि गाउँमा पुगेको सडक पहिरोका कारण अवरुद्ध भएकोले यतिबेला ती सडक मर्मत गर्ने तयारी भइरहेको खप्तड छेडेदह गाउँपालिका  –२ का अध्यक्ष भक्त बुढाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “गाउँ कार्यपालिकाको बैठममा सडक मर्मत सम्भार गर्ने भन्ने निर्णय भएको छ । यसका लागि प्राविधिकको टोली पनि सर्भे गर्नका लागि यहाँका प्रत्येक वडमा पुगेका छन् ।”

उनीहरुले सर्भे गरेको रिपोट फेरि गाउँपालिकामा पुगेपछि अवरुद्ध भएका सडक मर्मत सम्भार गरिने बुढाले बताउनुभयो ।