• २५ पुस २०८१, बिहिबार

क्यारमबोर्ड छाडी पुस्तकालयमा प्रहरी

blog

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसुन्धरा खड्कालाई कार्यालयले स्थापना गरेको ‘घुम्ती पुस्तकालय’ का लागि आवश्यक पुस्तक हस्तान्तरण गर्नुहुँदै नेपाल पत्रकार महासङ्घ काभ्रेपलाञ्चोकका अध्यक्ष बद्रीराज तिमल्सिना ।तस्बिर : केदार तिमल्सिना

केशवराज पौडेल/केदार तिमिल्सिना 

काभ्रेपलाञ्चोक (धुलिखेल), भदौ २७ गते । फुर्सद भयो कि त मोबाइल र क्यारमबोर्डमा झुन्डिने काभ्रेपलाञ्चोकका प्रहरी पछिल्लो समय पुस्तक पढ्ने भएका छन् । प्रहरी कर्मचारीलाई अध्ययनशील बनाउन काभ्रेपलाञ्चोकमा घुम्ती पुस्तकालय (मोबाइल लाइब्रेरी) को अवधारणा ल्याएसँगै प्रहरी कर्मचारीमा पठन संस्कृतिको विकास हुने भएको हो । 

जिल्लामा रहेका ४२ वटा प्रहरी चौकीमा कार्यरत ५८० प्रहरीको सिरानीमा एउटा पुस्तक होस् भन्ने उद्देश्यले प्रहरी उपरीक्षक (एसपी) वसुन्धरा खड्काको अगुवाइमा मोबाइल लाइब्रेरी सञ्चालनमा ल्याइएको छ । पुस्तकालय सुरु भएसँगै प्रहरीसँग तीन सयभन्दा बढी थान पुस्तक सङ्कलन भइसकेका छन् ।

प्रत्येक ३० दिनमा एक प्रहरी चौकीमा भएको पुस्तक अरू चौकीमा स्थानान्तरण गर्ने योजना जिल्ला प्रहरीले लिएको छ । भदौ मसान्तसम्ममा जिल्लाका विकट महाभारत र खानीखोला गाउँपालिकामा पुस्तक पठाउने तयारी छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता राजकुमार श्रेष्ठले पहिलो चरणमा इलाका प्रहरी कार्यालय बनेपा, प्रहरी चौकी दोलालघाट, पाँचखाल, खावा, पनौती र काभ्रे भन्ज्याङलाई आवश्यक पुस्तक हस्तान्तरण गरिएको जानकारी दिनुभयो । 

बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाको वार्षिक कार्यसम्पादन सम्झौता (२०८०) अनुसार जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको नवप्रवर्तनीय कार्य ‘हामी पनि पढ्छौँ– घुम्ती पुस्तकालय’ अन्तर्गत विभिन्न विधाका पुस्तक सङ्कलन गरेपछि अहिले घुम्ती पुस्तकालय सञ्चालनमा आएको हो । 

जिल्ला प्रहरी कार्यालय काभ्रेका मातहतका प्रहरी एकाइमा कार्यरत प्रहरी कर्मचारीलाई विभिन्न अनुपात मिलाई प्रहरीको ज्ञान, बुद्धि, विवेक र आत्मस्फूर्तिमा समेत वृद्धि भई व्यावसायिक, व्यक्तिगत तथा सामाजिक जीवनमा समेत सकारात्मक टेवा पु¥याउन मोबाइल लाइब्रेरीको अवधारणा ल्याइएको एसपी खड्काले जानकारी दिनुभयो । 

प्रहरीको अभियानमा नागरिक समाजको पनि सहयोग सुरु भएको छ । नेपाल पत्रकार महासङ्घ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिनाले प्रहरीका लागि उपयोगी पुस्तक हस्तान्तरण गर्नुभएको छ । प्रहरीले लघुकथा, घरेलु उपचार विधि र समुदायसँग नजिक हुने उपन्यासलाई धेरै मन पराउनुभएको छ । पुस्तकबारे सहकर्मीसँग उहाँहरूले छलफल गर्ने गर्नुहुन्छ । 

ट्राफिक प्रहरी पोस्ट खावामा कार्यरत वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) उमेश थपलियाले किताब भएपछि पढ्न हौसला मिल्ने बताउनुभयो । उहाँले अध्ययनले समुदायसँग र सवारीचालकसँग सकारात्मक रूपमा कुरा राख्न सक्ने बनाउने बताउनुभयो । प्रहरी कर्मचारीलाई व्यस्त कार्यतालिकाबाट अध्ययनका लागि समय निकाल्न प्रोत्साहन गर्ने वातावरण तय भएको उल्लेख गर्नुभयो । 

एसपी खड्काले अध्ययनपछि पुस्तकको समीक्षामार्फत ज्ञान, सिप, क्षमता अभिवृद्धि गरी सेवा प्रवाहलाई निपुण बनाउने लक्ष्य राखिएको बताउनुभयो । पुस्तकालयको अभिलेखीकरण कार्यका लागि प्रहरी अधिकृतलाई संयोजन गर्ने जिम्मेवारी प्रदान गरेको छ ।