‘समाजवाद’ नै नेपालका राजनीतिक दलको घोषित राजनीतिक सिद्धान्त रही आएको छ । राजनीतिक दलहरूको आन्तरिक बैठक, प्रशिक्षण र खुला जनसभामा पनि समाजवादलाई लागु गर्ने प्रतिबद्धता व्यक्त गरिन्छ तर व्यवहारमा भने समाजवाद लागु गर्न सकिएको छैन । यसको मूल कारण भनाइ र गराइमा भिन्नता देखिनु हो । सैद्धान्तिक रूपमा देशका प्रायः सबै जसो राजनीतिक दलहरूले खुला अर्थतन्त्रको नीतिलाई आत्मसात् गरिसकेका छन् । यसले अब समाजवाद लागु गर्न कठिन छ । केवल यो नारामा मात्रै सीमित रहने सम्भावना छ ।
डा. राममनोहर लोहियाले ‘समाजवाद’ को सिद्धान्तलाई अगाडि सारेका थिए । यो उनको मूल मन्त्र पनि रही आएको छ । विश्वमा जहाँ पनि भेदभाव र असमानता रहन्छ, त्यहाँ समाजवादको सान्दर्भिकता हुने छ । समाजवाद एउटा राजनीतिक सिद्धान्त हो, जो कहिल्यै समाप्त हुँदैन ।
भारत स्वतन्त्र भएपछि दुई वटा मुद्दा ‘लोकतन्त्र’ तथा ‘समानता’ लाई सर्वाधिक महत्वपूर्ण मानिएको थियो । नेपालमा पनि राणा शासनको समाप्तिपछि तथा पञ्चायती व्यवस्थाको अन्त्यपछि उपरोक्त दुई मुद्दालाई नै महत्वपूर्ण मानियो तर आधुनिक विकासको नाममा उपरोक्त दुई अवधारणाको अक्षरशः पालना भएन किनभने यो त्यति सरल विषय पनि होइन ।
समाजवादी नेता डा. राममनोहर लोहियाले धन तथा जग्गा (भूमि) को कुरा मात्रै गरेका थिएनन्, उनले सप्तक्रान्तिको कुरा गरेका थिए । यो सप्तक्रान्ति सफल भए विश्वमा कहीँ कतै असमानता नै रहने छैन, न त कसैको कसैमाथि निर्भरता नै रहने छ । उनले आह्वान गरेका सप्तक्रान्तिमा पहिलो थियो, महिला एवं पुरुषबिचको समानता, दोस्रो थियो छालाको रङको आधारमा राजकीय, आर्थिक असमानताको विरोध, तेस्रोमा संस्कारगत अर्थात् जन्मजात प्रथाको विरोध र पिछडिएका समुदायका लागि विशेष अवसरको व्यवस्था, चौथोमा विदेशी दासताको विरोध तथा स्वतन्त्रता, पाँचौँमा निजी पुँजी असमानताको विरोध तथा आर्थिक समानता एवं योजनाद्वारा उत्पादन वृद्धि गर्नु, छैटौँमा निजी जीवनमा अन्यायपूर्ण हस्तक्षेपको विरोध तथा लोकतान्त्रिक पद्धति एवं सातौँमाा अस्त्र–शस्त्रको विरोध तथा सत्याग्रह ।
गम्भीर विचारबाट प्रतिपादित यी सूत्रले पूरै विश्वलाई परिवर्तन गरेर मानिसलाई दासताको मानसिकताबाट मुक्त गर्न सक्छ । वर्तमानको अन्योलपूर्ण एवं सिद्धान्तविहीन राजनीतिक युगमा लोहियाको विचारमाथि गम्भीरतापूर्वक विचार गर्न सके र त्यसलाई कार्यान्वयनमा ल्याउने सके देशका समस्याको पनि सहज तरिकाले नै समाधान गर्न सम्भव छ । राजनीतिक दलका कार्यकर्ताले लोहियाको उपरोक्त सात सूत्रसँग आफ्नो कर्तव्य एवं व्यवहारलाई दाँजेर हेर्नु पर्छ तथा स्वयम् आफैँले आफ्नो मूल्याङ्कन गर्नु पर्छ ।
डा. लोहियाले भनेका थिए कि उपरोक्त सात वटै क्रान्ति एकैसाथ संसारमा हुने गर्छ । संसारको जुनसुकै ठाउँमा पनि दुःख, गरिबी, पराधीनता, असमानता एवं पीडाको अवस्था देखिए, त्यो हाम्रो सभ्यता र समाजका निम्ति लाजको विषय हुनुपर्ने हो । नयाँ संसारको निर्माणको सपना देख्दा आफ्नो सांस्कृतिक धरोहरलाई बिर्सन नहुने र संरक्षण गर्नुपर्ने उनले भनेका थिए । शायद त्यही भएर होला उनले नदीहरूको सफाइ, हिमालय बचाउ, भाषा नीति, रामायण मेला, देश विभाजनको अवस्थाको बारेमा पनि निरन्तर चिन्तनशील थिए । उनी अर्थशास्त्रको मामिलामा पनि अग्रगामी सोच राख्थे । इतिहास र नियतिको विषयमा बोल्थे ।
डा. लोहियाले लोकतन्त्र एवं समाजवादलाई एउटै सिक्काको दुई वटा पाटो ठान्थे । लोहिया स्वयम् पनि महात्मा गान्धीको सत्याग्रह एवं अहिंसाका कट्टर समर्थक थिए तर गान्धीवादलाई उनी अधुरो ठान्थे । उनी समाजवादी थिए तर माक्र्सवादलाई एकाङ्गी ठान्थे । उनी समाजवादी थिए तर विश्व सरकारको सपना पनि देख्थे । आधु्निक सभ्यता बदलियोस् भन्ने पनि चाहन्थे । उनी विद्रोही तथा क्रान्तिकारी पनि थिए तर शान्त एवं अहिंसाका घोर उपासक पनि थिए । उनी कहिल्यै कुनै ठुलो सरकारी पदमा पुगेनन् तर पनि उनको स्वीकार्यता एवं व्यक्तित्व निकै अग्लो थियो । उनका विचारले देशका बुद्धिजीवीलाई सधैँ केही न केही सोच्न बाध्य पारिरहेको हुन्थ्यो । लोहियाले गान्धीवादी नीति, अर्थ एवं श्रमबिचको परस्पर सम्बन्ध, किसान एवं मजदुरको हित तथा हाम्रा समाज एवं विश्वमा विद्यमान असमानताको कारणलाई ध्वस्त पार्दै जीवनभरि सङ्घर्ष गरेका थिए । ‘लोकतन्त्र एवं समाजवाद’ केवल किताबमा नारा र कानुनमा मात्रै सीमित नरहेर स्वाधीन नागरिकको आचरणमा देखिनु पर्छ भन्ने उनको मनसाय थियो । स्वाधीनता एक आचरण पनि हो, संयम र मर्यादा तथा अर्काको स्वाधीनताको रक्षा गर्नु पनि हो । डा. लोहिया यस कुरालाई आफ्नो व्यवहार एवं विचारबाट प्रत्येक स्तरमा चरितार्थ गरी देखाउने विलक्षण सांस्कृतिक चिन्तक राजनेता तथा धरातलमा आधारित कार्यकर्ता पनि थिए ।
डा. लोहियाको मान्यता थियो कि किसानका जग्गाको मूल्यमा कुनै पनि विकासलाई स्वीकार गर्न सकिँदैन । ठुलठुला उद्योगलाई असिञ्चित एवं खेतीका निम्ति अनुपयुक्त जग्गा मात्रै प्रयोग गर्न दिनु पर्छ । उनको विचारमा जुन जग्गाबाट एउटा किसानका अनेकौँ पुस्तालाई पालनपोषण हुन सक्छ, त्यसबाट उसलाई वञ्चित पनि गर्न पुग्छौँ । हामी खाद्यान्नको उपलब्धतालाई मात्रै कम गरिरहेका हुँदैनौँ अपितु त्यसभित्रको स्वावलम्बन, स्वाभिमान, एवं स्वाधीनतामाथि सङ्कट उत्पन्न गरी एक गम्भीर सांस्कृतिक हानिको दिशामा बढिरहेका हुन्छौँ । कानुनी शब्दहरू लाभहानिका गणितभन्दा टाढा रहेर स्वाधीनता, उत्पादकता, धरातलीय यथार्थ एवं गहिरिँदो सांस्कृतिक संस्कारको दिशामा कसैको पनि ध्यान केन्द्रित हुन सकिरहेको छैन । डा. लोहियाको आफ्नो कुनै घर थिएन, आश्रम र कुटी पनि थिएन । पार्टी कार्यालयमा बसोबास गर्दथे ।
डा. लोहियाको सिद्धान्त र विचारलाई आत्मसात् गर्नु सजिलो छैन । उनी भन्थे, “आर्थिक पछौटेपनलाई गलत अर्थमा परिभाषित गरी केवल जातीय रूपमा पिछडिएकाको कुरा मात्रै चर्चामा ल्याइएको छ ।” डा. लोहियालाई अहिले केवल जातीय राजनीतिका नेताको रूपमा मात्रै चर्चामा ल्याउने काम गरिन्छ, जुन दुर्भाग्यपूर्ण हो । डा. राममनोहर लोहियाको नेपालका समाजवादी नेताहरू बिपी कोइराला, सूर्यप्रसाद उपाध्याय, गणेशमान सिंह र सुवर्णशमशेरसित पनि राम्रो सम्बन्ध थियो । नेपाली कांग्रेसले आत्मसात् गर्दै आएको समाजवादको सिद्धान्त लोहियाकै सिद्धान्त थियो । बिपी कोइरालाले आफ्नोतर्फबाट पनि त्यसमा केही थप्ने काम गरी नेपालका निम्ति उपयोगी हुने खालको सिद्धान्त अगाडि ल्याएका थिए । नेपाल, भारत अथवा विश्वका जुनसुकै देश होस्, जब जब समाजवादको चर्चा हुने छ डा. लोहियाको नाम चर्चामा आउने छ नै ।