• २६ पुस २०८१, शुक्रबार

कांग्रेसले उपसभामुखको विषयबारे संसदीय दलको बैठकबाट निर्णय लिने

blog

काठमाडौँ,  भदौ २६ गते ।  नेपाली कांग्रेसले प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानाको विषयमा उठेका प्रश्नबारे संसदीय दलको बैठकबाट निर्णय लिने निष्कर्ष निकालेको छ । 

पार्टी सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवासमा आज बसेको शीर्ष नेताहरूको बैठकले उपसभामुखको विषयमा सत्तासाझेदार दलहरूसँग छलफल र परामर्श गरी आवश्यक निर्णय लिइने कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिनुभयो । 

“पार्टीका शीर्ष नेताहरूको अनौपचारिक बैठकमा मुलुकको समसामयिक राजनीतिबारे छलफल भयो । उपसभामुखको विषयमा संसदीय दलको बैठक राखी निर्णय गर्ने र सरकारमा आबद्ध दलहरूसँग पनि समन्वय गरेर अगाडि बढ्ने निर्णय भएको छ”, उहाँले भन्नुभयो । मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकमा सत्तारुढ दलका सांसदहरूले राजीनामा गरेर मार्ग प्रशस्त गर्न उपसभामुख रानालाई सुझाव दिनुभएको थियो । सोही विषयबारे पार्टीको धारणा बनाउन कांग्रेसले अनौपचारिक छलफल गरेको हो । रासस