• ९ मंसिर २०८१, आइतबार

समिति सभापतिको निर्वाचन सोमबार

blog

काठमाडौँ, भदौ २६ गते । राष्ट्रिय सभामा रिक्त रहेको दुई समितिका सभापतिको निर्वाचन भदौ ३१ गते सोमबार हुने भएको छ । माथिल्लो सदन अन्तर्गतको विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिको कार्यकाल भदौ २३ गते सकिएको छ । राष्ट्रिय सभा नियमावली (दोस्रो संशोधन)–२०८० मा पद रिक्त भएको १५ दिनभित्र निर्वाचन गर्नुपर्ने व्यवस्था छ । 

राष्ट्रिय सभाको मङ्गलबारको बैठकले रिक्त रहेको दुवै समितिको सभापतिको निर्वाचन भदौ ३१ गते गर्न सङ्घीय संसद् सचिवालयलाई निर्देशन दिएको थियो । सभाका अध्यक्ष नारायणप्रसाद दाहालले तोकिएको मितिमा निर्वाचन हुने गरी निर्वाचन कार्यक्रम प्रकाशित गर्न संसद् सचिवालयलाई निर्देशन दिनुभयो । 

विधायन व्यवस्थापन समितिको सभापतिमा (एकीकृत समाजवादी) बाट निर्वाचित सदस्य जयन्तीदेवी राई र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा निर्वाचित मायाप्रसाद शर्माको कार्यकाल सकिएको हो । राष्ट्रिय सभामा एकीकृत समाजवादीका आठ जना सदस्य छन् । माथिल्लो सदनको सबैभन्दा ठूलो दल माओवादी केन्द्रका १७ सदस्य छन् । दुवै दल प्रतिपक्षमा छन् । 

राष्ट्रिय सभा अन्तर्गतका चार समितिमध्ये विकास, आर्थिक मामिला तथा सुशासन समितिमा नेपाली कांग्रेसका कमलादेवी पन्त सभापति हुनुहुन्छ । कांग्रेसका १६ जना सदस्य छन् । सरकारको नेतृत्व गरेको नेकपा (एमाले) का १० जना सदस्य छन् । जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टीका एक एक तथा राष्ट्रपतिबाट दुई जना मनोनीत सदस्य छन् । 

सभाको मङ्गलबारको बैठकमा प्रतिनिधि सभाबाट पठाइएको नेपाल विश्वविद्यालय–२०७९ को सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभासमक्ष जानकारी गराई टेबुल गरिएको छ । बैठकमा शून्य, विशेष र आकस्मिक समयमा सभाका सदस्यले उठाएका विषयबारे उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले जवाफ दिनुभयो । 

मन्त्री दाहालले रुग्ण ठेक्कासम्बन्धमा मन्त्रालयस्तरमा सहसचिवको नेतृत्वमा टोली बनाएर प्रतिवेदन बुझाएपछि थप निर्णय गर्ने बताउनुभयो । आपूर्तिमन्त्री भण्डारीले चाडपर्वको पूर्वसन्ध्यामा खाद्य सामग्री अभाव हुन नदिन सरकारले आवश्यक निर्णय गरेको बताउनुभयो । सभाको अर्को बैठक भदौ ३० गते आइतबार बस्ने छ ।