• ७ मंसिर २०८१, शुक्रबार

सुदूरपश्चिममाथि आर्मीको गोल वर्षा

blog

बल खोस्ने प्रयास गर्दै आर्मी र सुदूरपश्तिमका खेलाडी । तस्बिर : एन्फा

काठमाडौँ, भदौ २५ गते । विभागीय टोली त्रिभुवन आर्मी क्लबले एन्फा महिला लिगमा सुदूरपश्चिम प्रदेशमाथि गोल वर्षा गरेको छ ।

ललितपुरको सातदोवाटोस्थित एन्फा मैदानमा मङ्गलबार भएको खेलमा आर्मीले सुदूरपश्चिमलाई १४–१ गोलले हरायो । एकपक्षीय खेलमा आर्मीलाई जिताउन दिपा शाहीले पाँच गोल गर्नुभयो । यस्तै अनिता लम्जेलले दुई तथा चन्द्रा भन्डारी, विमला चौधरी, हिमा चौधरी, सावित्री देवी मगर, विमला विक र सन्जु कुमालले एक एक गोल थप्नुभयो ।

आर्मीले अर्को एक गोल सुदूरपश्चिमबाट आत्मघाती उपहार पाएको थियो । सुदूरपश्चिमले पनि एउटा गोल आर्मीबाट उपहार पायो । जितसँगै आर्मीले तीन खेलबाट ६ अङ्क बनाएको छ । सुदूरपश्चिम अङ्कबिहीन छ । 

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आयोजना गरेको लिगमा विभागीय तीनसहित १० टोलीको सहभागिता रहेको छ । दुई करोड २४ लाख ६८ हजार रुपियाँ लगानी रहेको लिगको विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपियाँ पुरस्कार पाउने एन्फाले जनाएको छ । 

यस्तै लिगको उत्कृष्ट खेलाडीलाई एक लाख, फेयर प्ले टोलीलाई एक लाख ५० हजार, विधागत उत्कृष्ट खेलाडीलाई जनही ५० हजार रुपियाँ प्रदान गरिनेछ ।