काठमाडौँ, भदौ २५ गते । नेपाल क्रिकेट सङ्घ (क्यान) ले सेप्टेम्बर १६ देखि २४ तारिखसम्म क्यानडामा हुने नेपाल, क्यानडा र ओमान सम्मिलित एक दिवसीय त्रिकोणात्मक सिरिजमा भाग लिने नेपाली क्रिकेट टोलीको बिदाइ गरेको छ ।
क्यानले मङ्गलबार खेलाडी टोलीको बिदाइ गरेको हो । खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टङ्कलाल घिसिङ, क्यउानका सचिव पारस खड्का, म्यानेजर विनोद दासलगायतले बिदाइ गर्नुभयो । लिग–२ तालिका अनुसार नेपालले सेप्टेम्बर १६ तारिख क्यानडा, १८ तारिख ओमान, २२ तारिख क्यानडा र २४ तारिख ओमानसँग खेल्नेछ ।
नेपालले क्यानडामा दोस्रो राउन्डको त्रिकोणात्मक सिरिज खेल्न लागेको हो । पहिलो राउन्डमा नेपालले नामिबिया र नेदरल्यान्ड्ससँग खेलेको थियो । सिरिजमा प्रत्येक टोलीसँग समान दुई खेल्ने प्रावधान रहेको छ ।
नेपालले पहिलो राउन्डमा एक खेल मात्र जितेको छ । नेपालमा भएको पहिलो राउन्डमा नेपालले नेदरल्यान्ड्सलाई एक खेलमा पराजित गरेको थियो । क्यानडा पनि नेपालले अमेरिकामा विश्वकप लिग–२ कै अर्को सिरिज खेल्नेछ ।
क्यानडामा तीन टोलीबिच टी–२० सिरिज पनि हुनेछ । क्यानले क्यानडा भ्रमणका लागि जगत टमाटालाई सल्लाहकार प्रशिक्षकमा नियुक्त समेत गरेको छ ।
नेपाली टोली
रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्लेल, आसिफ शेख, भीम सार्की, अनिल साह, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, कुशल मल्ल, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुलशन झा, रिजन ढकाल, ललितनारायण राजवंशी, सन्दीप लामिछाने र देव खनाल (वैकल्पिक खेलाडी) ।