• ९ मंसिर २०८१, आइतबार

पुल बनेपछि जनजीवन सहज

blog

गुणबहादुर रोका

सुलीकोट, भदौ २५ गते । गोरखाको गण्डकी गाउँपालिका–१ बुट्टार र इच्छाकामना गाउँपालिका–३ चुम्लिङटार जोड्ने बेलिबृज पुल निर्माण भएको छ । पुल निर्माण भएसँगै दुई पालिकाका स्थानीयहरुलाई आवतजावतका साथै जनजीवन निकै सहज भएको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमल्सेना साकारले जानकारी दिनुभयो । 

उहाँका अनुसार २०७१ सालमा उक्त ठाउँमा पप्पु कन्ट्रक्सनले पक्की पुल निर्माणको जिम्मा लिएर पनि समयमै काम नसकिएपछि पुरानो ठेक्का तोडेर नयाँ ठेक्का आह्वान भएर काम अघि बढी सम्पन्न भएको उहाँले बताउनुभयो । पक्की पुल निर्माणमा ढिलाइ भएपछि जलविद्युत् आयोजनाको निर्माण सामग्री ढुवानीमा सहजताका लागि निर्माण कम्पनीले बेलिबृज निर्माण गरेको उहाँले बताउनुभयो ।  

अहिले ब्लु इनर्जी प्रालिले १०० मेघावाटको सुपर त्रिशूली जलविद्युत् आयोजना निर्माण गर्ने कम्पनीले ११ करोड रुपियाँ खर्च गरेर बेलिबृज निर्माण गरेको कम्पनीले जनाएको छ । भदौ २४ गते बेलिबृज निर्माण सम्पन्न गरी मङ्गलबारबाट सवा साधनहरु आवतजावत सुरु भएको प्रालिले जनाएको छ । 

उक्त बेलिबृजको स्टिल संरचना सडक विभागले उपलब्ध गराएको छ । त्रिशूली नदीमाथि एक सय मिटरको बेलिबृजसँगै एप्रोच सडकलाई जोड्न २० मिटर लम्बाइको आरसिसि स्टक्चरको पुल निर्माण सम्पन्न भएको छ । पुल निर्माण सम्पन्न भएसँगै गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमल्सेना साकारले सोमबार एक कार्यक्रमका बिच रिबन काटेर पुलको उद्घाटन गर्नुभएको हो । 

बेलिबृज पुल निर्माण भएपछि गण्डकी गाउँपालिका सबै वडाका स्थानीयवासीलाई आवतजावतमा सहज तथा गण्डकी गाउँपालिकामा उत्पादन भएका तरकारी किसानको घरमै व्यापारीहरु पुग्ने भएकाले व्यापार व्यवसाय पनि बढ्ने विश्वास गरिएको गण्डकी गाउँपालिकाका अध्यक्ष तिमल्सेनाको भनाइ छ । 

पप्पु क्न्ट्रक्सनले पक्की पुल अलपत्र पारेर छोडेकोले ५० मिटर तल बेलिबृज निर्माण गरी गण्डकी गाउँपालिकामा उत्पादन भएको तरकारी पृथ्वी राजमार्गको चुम्लिङटार हुँदै चितवन, पोखरा र काठमाडौंसम्म सहज तवरबाट बिक्री वितरण गर्न सकिने गण्डकी गाउँपालिकाले जनाएको छ ।