• २६ पुस २०८१, शुक्रबार

सञ्चयकर्तालाई आकर्षित पार्नेगरी काम गर्न कोषलाई अर्थमन्त्रीको निर्देशन

blog

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल कर्मचारी सञ्चय कोषसँगको छलफलपछि बोल्नुहुँदै ।

काठमाडौँ, भदौ २५ गते । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कर्मचारी सञ्चय कोषले उपलब्धिको कोणबाट सञ्चयकर्तालाई आकर्षित पार्नेगरी काम गर्ने निर्देशन दिनुभएको छ । मङ्गलबार कर्मचारी सञ्चय कोषसँगको छलफलमा अर्थमन्त्री पौडेलले यस्तो निर्देशन दिनुभएको हो ।

अर्थमन्त्री पौडेलले कोषले सञ्चयकर्तालाई नोक्सानीको आधारमा नभ उपलब्धिका आधारमा आकर्षित गर्नेगरी काम गर्न आग्रह गर्नुभयो । उहाँले कर्मचारी सञ्चय कोषको सबैभन्दा ठूलो आधार र भविष्य सञ्चयकर्ता भएको भन्दै कोषले सञ्चयकर्ताहरुको विश्वास टुट्न नदिने गरी विश्वासलाई बलियो बनाउँदै लैजान आवश्यक रहेको जिकिर गर्नुभयो ।

‘‘सञ्चय कोषमा सञ्चयकर्ताहरुले कोषमाथि भरोसा गरेका हुन्छन् । कोषको सबैभन्दा ठूलो आधारमा र भविष्य भनेको सञ्चयकर्ताहरु नै हो । सञ्चयकर्ताहरुको विश्वास टुट्न नदिने गरी प्रतिदिन विश्वासलाई बलियो बनाउँदै जाने गरी कोषले काम गर्नुपर्छ । सञ्चय कोषप्रति सञ्चयकर्ताको विश्वास र भरोसा नटुटोस् भन्ने कुरामा ख्याल गर्नुहोला । कोषले सञ्चयकर्तालाई निपेक्ष रहने तहमा होइन । सञ्चयकर्तालाई आकर्षित गर्नुस् ।,’’ उहाँले भन्नुभयो, ‘‘सञ्चयकर्तालाई आकर्षित गर्दा क्षति नोक्सानीको कोणबाट होइन । उपलब्धिको कोणबाट हेर्नुस् । तपाईहरुले सकेसम्म न्यून जनशक्तिबाट अधिकतम काम गर्नुस् । इफिसेन्ट जनशक्तिलाई लिएर काम गर्नुस् । तर नेपालमा रोजगारीको पनि आवश्यकता छ ।’’

उहाँले कोषले सकेसम्म न्यून जनशक्तिबाट अधिकतम काम गर्न पनि आग्रह गर्नुभयो । उहाँले दक्ष र क्षमतावान जनशक्तिलाई लिएर काम गर्न पनि निर्देशन दिनुभयो । उहाँले नेपालमा रोजगारीको पनि आवश्यकता भए पनि अन्य क्षेत्रले रोजगारीको क्षेत्रमा काम गरिरहेको भन्दै प्रविधिको प्रयोग हुने कर्मचारी सञ्चय कोष, बैंक तथा वित्तीय संस्था र अन्य निकायहरु सबैले सकेसम्म कम जनशक्तिबाट धेरै काम गर्न आवश्यक रहेको बताउनुभयो ।

अर्थमन्त्री पौडेलले संस्थाहरुले जनशक्तिलाई सेवा सुविधा, मर्यादा, इज्जत दिँदै कर्मचारीले आफ्नो भविष्य देख्नेगरी ढोका खोलिदिनुपर्ने बताउनुभयो । उहाँले कोषमा पाँच सय दरबन्दी धेरै भए पनि अहिले ३७१ जनाले काम गरिराखेको भन्दै थप जनशक्ति थप्न आवश्यक नदेखिएको उल्लेख गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘‘सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम लगायतका माध्यमबाट काम गरिरहेको छ । कर्मचारी सञ्चय कोष, बैंक तथा वित्तीय संस्था र अन्य निकायहरु सबैले सकेसम्म कम जनशक्तिबाट धेरै काम लिनुपर्छ । उक्त जनशक्तिलाई सेवा सुविधा, मर्यादा, इज्जत दिनुपर्छ । कर्मचारीले आफ्नो भविष्य त्यहाँ खोज्न सक्ने ढोका खोलिदिनुपर्छ । पाँच सय दरबन्दीमा ३७१ ले काम गरिराख्नुभएको छ । कोषमा दरबन्दी धेरै भयो । ३७१ कर्मचारीले गर्नु भएकै छ । कोष ओएमएनमा जानुपर्छ । दरबन्दी आवश्यकता अनुसार घट्ने र बढ्ने गर्छ ।’’

उहाँले नयाँ प्रविधिको प्रयोगले जनशक्ति व्यवस्थापन सहज हुँदै आएको बताउनुभयो । उहाँले प्रविधिको प्रयोगले थोरै जनशक्तिबाट पनि धेरै काम लिन सकिने भएकाले कोषले सोही बमोजिम काम गर्नुपर्ने बताउनुभयो ।