• २६ पुस २०८१, शुक्रबार

पलेशालाई रिपोर्टर्स क्लबको एक लाख रुपियाँसहित सम्मान

blog

रिपोर्टर्स क्लब नेपालबाट सम्मानित भएपछि पलेशा गोवर्धनलगायत ।

काठमाडौँ, भदौ २४ गते । रिपोर्टर्स क्लब नेपालले पेरिस पारा ओलम्पिकमा कांस्य पदक विजेता पलेशा गोवर्धनलाई एक लाख रुपियाँ पुरस्कारसहित सम्मान गरेको छ । सोमबार क्लबका सभापति ऋषि धमलाले पलेशालाई सम्मान गर्नुभएको हो । 

क्लबले प्रशिक्षक कविराज नेगी लामालाई २५ हजार रुपियाँ र व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई विशेष सम्मान प्रदान गरेको छ । रिपोर्टर्स क्लबका सभापति धमलाले पलेशाले खेलको माध्यमबाट अन्तर्राष्ट्रिय जगतमा नेपालको नाम राखेको भन्दै प्रशंसा गर्नुभयो । पलेशाले लगातार ११ वर्षसम्म सङ्घर्ष गरेको कारण देशको शान, मान र प्रतिष्ठा बढेको उहाँले बताउनुभयो । 

कांस्य पदक विजेता पलेशाले आफूले ११ वर्षसम्म गरेको कडा मेहनतको फल पाउँदा खुसी लागेको बताउनुभयो । ‘नेपालले पनि मेडल ल्याउन सक्छ र ?’ भन्ने प्रश्नको उत्तर आफूले लिएर आएको उनले बत्ताइन् । आफूले सपोर्ट नपाएर पनि यो गेममा कडा मेहनतको बाबजुद सफल भएको हुँ । उहाँले भन्नुभयो, ‘धेरै गाह्रो थियो  यो मेडल ल्याउन । किनकि सङ्घर्ष त्यति नै थियो, सपोर्ट धेरै थिएन । हामीले सपोर्ट कहिले पनि पाएनौँ । अहिले सबैको आँखा यता परेको छ । सबैले सर्ने भनेर पनि प्रमित गर्नुभएको छ । राम्रो स्थिति भयो भने मैले एलए को गेममा पनि सहभागिता जनाउन सक्छु । आशा गरौँ, त्यहाँ गोल्ड मेडल लिएरै आउनेछौँ ।’

यसैबिच नेपाल तेक्वान्दो सङ्घले आइतबार राति पलेशालाई १० लाख रुपियाँ, प्रशिक्षक लामालाई तीन लाख र पारा ओलम्पिकमा सहभागी अर्का तेक्वान्दो खेलाडी भरतसिंह महतालाई एक लाख रुपियाँसहित सम्मान गरेको छ । खेलाडी र प्रशिक्षकलाई युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले सम्मान गर्नुभयो ।