अमरराज नहर्की
तनहुँ, भदौ २४ गते । तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित बन्दीपुर केबलकार सोमबारबाट १५ दिनका लागि बन्द भएको छ । केबलकार सेवालाई थप सुरक्षित बनाउन मर्मत–सम्भार गर्नुपर्ने भएकाले यही भदौ २४ गते सोमबार देखि लागु हुनेगरी आगामी १५ दिन सम्मका लागि केबलकारको सेवा बन्द गरिएको हो ।
बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडद्वारा प्रवर्द्धन गरिएको बन्दीपुर केबलकार परियोजनाले केबलकार सेवालाई थप सुरक्षित बनाउन नियमित मर्मत सम्भारलाई जोड दिएको केबलकारद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।
बन्दीपुर गाउँपालिका-४ को डुम्रे बजार नजिकै केबलकार चोकदेखि मन्दिरसम्म एक हजार ७ सय मिटर दुरी ७ मिनेटमा पार गरी बन्दीपुर बजार पुग्न सकिन्छ । बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले जेठ ३१ गतेबाट व्यावसायिक रूपमा बन्दीपुर केबलकार सुचारु गरेको थियो ।