नव वर्ष २०७९ को पावन उषासँगै हामी पाँच जनाले यात्रा सुरु गरेका थियौँ । यात्रा थियो भिमाद नगरपालिका मालेबगर हुँदै ऋषिङ्ग गाउँपालिकाको अन्तिम विन्दु भिरकोटसम्म । बिहान ९ बजे घरबाट प्रस्थान गर्ने योजनाबमोजिम म घरबाट निस्केको थिएँ । नारायण खनाल सर र मैले अन्य साथीहरूलाई “धेनुङ भन्ज्याङमा पर्खने जानकारी गरायौँ र हामी उकालो लाग्यौँ । धेनुङ देउराली भन्ज्याङमा अवस्थित ‘धेनुङ देउराली खाजा पसल’ पसेर नमकिन, समोसा र चना चपाइवरी सक्नु, विष्णु, विश्व र तीर्थ सर टुप्लुक्क भेटिनुभयो । उहाँहरू भेटिनुभन्दा पहिला मैले स्थानीय गजेन्द्र श्रेष्ठसँग यो ठाउँको नाम धेनुङ रहनुका कारण के होला भनी जिज्ञासा पोखेको थिएँ । यस सम्बन्धमा उनले धेरै वर्ष पहिले यहाँ मानवीय आवश्यकता पूरा गर्ने कामधेनु गाई थियो रे । कामधेनु गाई स्वर्गे भएपछि उनैको सम्झना स्वरूप पुर्खाले एउटा ढुङ्गोमा उनैको मूर्ति बनाएका रहेछन् । त्यसैको सम्झना स्वरूप यो ठाउको नाम कामधेनु हुँदै धेनुङ भएको जानकारी गराए । अर्को तर्क अनुसार धेनु+ल्हुम अर्थात् ढुङ्गामा कुँदिएको गाईको मूर्ति’ भएकाले धेनुङ भनिएको हो भन्ने खबर पनि ग्रहण ग-यौँ ।
मोचबारीबाट ओरालो लागेको बाटो धारुङ भन्ज्याङमा पुगेर मैदानमा परिणत हुँदो रहेछ । घारुङ भन्ज्याङ निकै पुरानो ठाउँ हो भन्ने त सुन्दै आएको थिएँ । आजभन्दा २५ वर्ष पहिले त्यहाँ केवल ४, ५ वटा सामान्य प्रकारका घर थिए । तर यतिखेर भने बजारका दुवै किनारमा लस्करै भवन बनाउने प्रतिस्पर्धा नै चलेको पाएँ । धारुङ भन्ज्याङको झिनो बसाइपछि हामी ऋङ्ग ऋषिको तपोभूमि ऋषिङ्ग नामक गाउँको अवलोकनका लागि उकालो लाग्यौँ । धारुङ भन्नाले धाराबाट झरेको पानी यसको मतलब मगर भाषाको ‘धारुङ डी’कै अपभ्रंश रूप धारुङ हो भन्ने लाग्यो । ‘भन्ज्याङ’को अर्थ त दुई बाटाको सङ्गम वा मिलन भइहाल्यो ।
‘धारुङ भन्ज्याङ–ऋषिङ्ग खण्ड’ दुरीको हिसाबले खासै लामो छैन अपितु ती दुई स्थानका बिचमा जैविक विविधताको अन्तर भने निकै रहेको पायौँ । यति छोटो दुरीको ऋषिङ्ग खण्डमा पनि लाली गुँरास, चुत्रो, मगरकाँची, चौटाजोरलगायतका जडीबुटी र वनस्पती पाइँदो रहेछ । त्यहाँ त डरलाग्दा पहाड, छङ्गासुर भिर, बज्र चट्टाने पहरोलाई चिरेर निर्माण भएको फराकिलो मोटरबाटो देख्दा हामी त छक्क प¥यौँ । परापूर्व कालदेखि नै आडैमा रहेको चौतारी जसलाई ऐरी चौतारी भनेर चिनिने गरिन्थ्यो, त्यसको स्वरूप देख्न नपाउँदा मन भने खिन्न भयो ।
कुण्ड
शृङ्ग ऋषिको तपोबलले जमिनमा त्रिशूल धसेर एकातिर सेती र अर्कोतिर काली नदीको पानी उत्पन्न गराई स्थानीयका लागि उपलब्ध गराएको भन्ने किंंवदन्ती रहेछ । समुन्द्रको सतहदेखि करिब एक हजार एक सय २० मिटरको उचाइमा अवस्थित त्यो कुण्ड त्यस निर्जर, बन्जर र सुक्खा डाँडाको छातीमा रहनु पक्कै पनि सबैका लागि एउटा आश्चर्यको विषय हुन सक्छ । प्रकृतिको चमत्कारपूर्ण रहश्यको बखान गर्दै शिर झुकाएर त्यो कहिल्यै पानी नसुक्ने कुण्डलाई नमन ग¥यौँ ।
रानीपोखरी गाविसबाट २०७२ मा ऋषिङ्ग गापामा परिणत भएपछि उक्त ऐतिहासिक तर जीवित कुण्ड नजिकै एउटा आकर्षित मन्दिर निर्माण भएको रहेछ । साथैमा परासर ऋषिको पद्म आशनमा बसेको लोभलाग्दो मूर्ति पनि रहेछ । जनै भिरेको परासर ऋषिको सेतो र आकर्षक मूर्तिले विश्वलाई शान्तिको शिक्षा दिनका लागि एउटा हात उठिरहेको थियो । मैले आशीर्वादयुक्त हातमा माथा तेस्र्याएर ‘लेखकीय शौभाग्य प्राप्त होस्’ भन्ने कामना गरेँ ।
ऋषिङ्ग राज्यको सङ्क्षिप्त इतिहास
ऋषिङ्ग राज्यको छोटो परिचयः बाईसी–चौबिसी राज्यको पालामा ऋषिङ्ग पनि एक छुट्टै राज्य थियो । ऋषिङ्ग राज्य सुरुमा मगर राजाहरूको हातमा थियो । दक्षिणबाट आएका राजपुतले मगरहरूबाट राज्य हातमा लिए । पाल्पाका राजा मुकुन्द सेनका समयमा यो राज्य पाल्पाकै अधीनमा थियो । मुकुन्द सेनपछि यो राज्य टुव्रिmयो । राम सेन ऋषिङ्गको पहिलो राजा बने (अधिकारी (शास्त्री), हेम राज, पृष्ठ ७३, २०५८ वि, आजको नेपाल, नारायणी प्रिन्टिङ नयाँ बानेश्वर, काठमाडौँ) ।
ऋषिङ्गका राजाहरू राम (सिंह) सेन (१६ औँ शताब्दी), राजपाल सेन (१६२८), भृङगी सेन (१६२८), गोवर्धन सेन, दयालु सेन (मधुसूदन सेन), दामोदर सेन (१७१०) राजगद्दी, वेणी (माधव) सेन भएका बेलायती लेखक ह्यामिल्टनद्वारा लिखित पुस्तक अकाउन्ट अफ नेपाल (पृष्ठ ७६, विस १८२८) मा उल्लेख छ । इसाको १४ औँ शताब्दीतिर कर्णाली प्रदेशका खस क्षेत्रीहरू कमजोर भएबाट सेनवंशी राजाहरूको नेपाल आगमन हुनुपूर्व तनहुँमा आदिवासी मगरहरूले साना राज्यहरू स्थापना गरेको नेपाल परिचय, पृष्ठ १७५, त्रिविविमा स्वष्ट गरिएको छ ।
अकाउन्ट अफ नेपालमा विस १६१० तिर पाल्पाका राना मुकुन्दसेनका भतिज राजसेनले ऋषिङ्गमा राज्य गरेका र यिनी निःसन्तान भएपछि तनहुँ राज्यमा गाभिन गएको पाइन्छ । ऋषिङ्ग राज्यमा मणिमुकुन्दसेन प्रथमका भतिज राम (सिंह) सेनले शासन गरेका थिए । ऋषिङ्गका दोस्रो राजा राजपालसेन (राजसेन) निःसन्तान भएको हुनाले उनले राजपुरको राजा सुल्तानसेनका राजकुमार तुलासेनलाई धर्मपुत्र बनाएका थिए । तुलासेनका नाति दामोदरसेनले आफ्ना टुहुरा भाइ दयालु सेनलाई ऋषिङ्ग राज्यको राजा बनाएका थिए । तत्पश्चात उनका छोरा मुकुन्दसेनको शासन चल्यो ।
ऋषिङ्गे राजाले हतियार भण्डारण गर्ने स्थान वर्तमानको राईथोक गाउँको ठिक माथि अवस्थित छ । ऋषिङ्गे राजाको कोत हतियार भण्डारणस्थल हालको दुर्गा भवानी मन्दिरमा टोप, ढाल, खोडा र तरबारहरूको केही अवशेषहरू देख्न सकिन्छ । संरक्षणको अभावमा प्रायः सबै हतियार चोरी भइसकेको र हराएको अवस्था छ । हामीले थाहा पाउँदासमेत ३६७ वटा तरबारहर थियो । जुन म आफैँले गन्ने मौका पाएको थिएँ । आज हतियार भण्डारण कोतलाई दुर्गा भवानी मन्दिरको नाममा संरक्षण गरिएको छ । जहाँ बडादसैँ र चैते दसैँमा भव्य मेला लाग्ने हुँदा टाढा टाढादेखि भक्तजनहरू आउने गर्दछन् । विस २०३० साल फागुन महिनामा ऋषिङ्गे राजाको हतियारहरू कोत (हालको दुर्गा भवानी मन्दिर) बाट चोरी भयो । चोरी गरिएका हतियार चोरहरूले पहिले रूपटार नजिकको वन भोटेवनमा लगेर राखेको र तेस्रो दिनमा गरगती घाटबाट डुङ्गामा तारेर लान खोज्दा डुङ्गा नचलेपछि माझीले डुङ्गा नचल्नुको कारण बुझ्न खानतलासी गर्दा ऋषिङ्गे राजाको भण्डारण गरिराखिएको हतियार चोरेर ल्याइएको पाइयो । जसबाट के प्रमाणित हुन्छ भने दुर्गाभवानीको नाममा संरक्षण गरी राखिएको हतियारमा ईश्वरीय शक्ति छ । त्यसपछि सबै गाउँले सोही ठाउँमा गएर बाजागाजसहित ऋषिङ्गे राजाको कोतमा ती हतियार ल्याइएको जानकारी स्थानीय समाजसेवी जङ्गवीर आले (वर्ष ६५) ले दिनुभयो ।
ऋषिङ्गे राजाको टुँडिखेल, सैनिक परेड खेल्ने ठाउँ हाल कमार्दी अर्थात् ढुङ्गेपानीमा रहेको थियो । जहाँ ठुला ठुला गराहरू आज पनि देख्न सकिन्छ । रानी कहिलेकाहीँ वन बिहार अर्थात् शयर जाँदा बस्ने हुनाले भोटे वनमा रानीबास भन्ने एउटा ठाउँको नाम रहेको छ । ऋषिङ्गे राजा भोटेवनमा सिकार गर्न, लुम्दी, गरगती घाट स्नान गर्न र आम घाट गर्गेश्वोर महादेवको दर्शन गर्न जाँदा राजाले बाटोमा खाने गरेको पानीको मूल (राजाको मूल) हाल आएर अपभ्रंश भई रजमूल दुई खोलाको दोभानमा देख्न सकिन्छ । राजा हिँड्नका लागि बनाएको सिँढीको बाटो अझै धेरै ठाउँमा देख्न सकिन्छ । राजाले तीर्थ गर्ने गर्गेश्वर महादेव आज गरगती घाट हाल ज्वाला खोलाको दोभानको ठिक पश्चिमपट्टि अवस्थित छ । ऋषिङ्गे राजाले तीर्थ गर्न, गङ्गामा स्नान गर्न र गर्गेश्वोर महादेव मन्दिरको दर्शन गर्न जाने गरेको भन्ने किंवदन्ती छ । ऋषिङ्गको कुँडहरमा राजाले घोडा राख्ने गरेको किंवदन्ती पाइन्छ (जहाँ चारैतिर घेरेर बनाएको ठाउँ भएकाले त्यस ठाउँको नाम कुडहर रहन गएको हो) । ऋषिङ्गे राजाको जेलघर धेरै पछिसम्म पनि दोस्दी खानेपानी सल्लाघारी अगाडि रहेको प्रत्यक्षदर्शी बताउनुहुन्छ । उहाँकै भनाइ अनुसार ऋषिङ्गे राजाको पुरोहित बडागुरुज्यु बस्ने ठाउँ बडागाउँ (बडा बस्ने गाउँ) भएकाले ऋषिङ्गे राजदरबारमुनिको गाउँको नाम पनि बडागाउँ रहन गएको हो ।
सो उचाइबाट हामीले पश्चिममा झिरुवास, मचवारी, च्याचुल, वनडाँडा, मानपुर, धेनुङ, साभुङ हटियालगायतका बस्ती छर्लङ्ङ देख्यौँ । त्यसरी नै उत्तरमा पल्टाङ, डाँक, बतासे, छाङ, सुनाकोट, साभुङ, मिछुर्लुङ, कुवाकोट, आमडाँडा, र दक्षिणतिरका धेनुङ, मोहोरिया, धारुङ, मोचबारी, बल्छीगौँडा, गवादीलगायत थुप्रै बस्ती देख्ने शुभ अवसर प्राप्त ग¥यौँ । कुण्ड परिसरको ठाउँलाई परापूर्वकालदेखि नै ‘अजम्बरी’ भनिँदो रहेछ । ‘अजम्बरी’ को तात्पर्य “ऋङ्ग ऋषिको तपस्याले’ उत्पन्न गराएको सेती र काली नदीको पानी जस्तोसुकै खडेरीमा पनि नसुक्ने हुनाले भनिएको रहेछ । त्यस परिसरमा निर्माण गरिएको कुवा सानो, साघुँरो र असुविधाजनक छ तथापि हजारौँ मानिसको कुण्डप्रति अथाहा श्रद्धा कायमै छ ।
त्यस ठाउँका जानकार दीपक माविका प्रअ विश्वराज गैह्रेको धारणा पनि पूर्ववत् नै भएको अभिव्यक्ति दिनुभयो । सरस्वती मावि साभुङका सामाजिक विषयका पूर्वशिक्षक तीर्थराज गैह्रेका अनुसार त्यस ठाउँमा विगतका वर्षमा धुमधाम मेला लाग्ने गथ्र्याे तर हिजोआज भने त्यो चलन छिमलिँदै गएको छ ।
अजम्बरी परिसर पश्चात् हामी बालपुर, रानीपोखरी हुँदै ऋषिङ्गको मुटु भनेर चिनिने हवेली डाँडामा पुग्यौँ । हवेली डाँडामा रहेको शिव सरस्वती मावि जिल्लाकै पुरानो हाइस्कुलमध्येकै एक हो । २०६३ सालको एसएलसी परीक्षा सञ्चालनका लागि सुपरिटेनडेन्ट भएर म त्यहाँ गएको थिएँ । त्यतिखेर विद्यालयको भौतिक अवस्था निकै नाजुक थियो । आकाश सफा थियो । परपरका डाँडाहरू, तिनै डाँडाको काख र थाप्लोमा थुपुथुपु बसेका अनगन्ती परपरका बस्तीहरू निकै लोभलाग्दा देखिँदा रहेछन् । समुन्द्रको सतहदेखि एक हजार १५० मिटरको उचाइमा अवस्थित हवेलीबाट त परपरका बस्तीहरू सूर्यको पारसमणिमा टिमिटिम गरिरहेका थिए ।
पोखरी भन्ज्याङ
पोखरी भन्ज्याङमा केही वर्ष पहिले सुनसान थियो । त्यो फराकिलो चउरको पल्लो छेउमा ऋषिङ्ग गाउँपालिकाको नव निर्मित तीनतले भव्य भवन देख्दा हाम्रा मन रोमाञ्िचत भए, हिमाल झैँ हाँसे ।
दीपक माविका पूर्वशिक्षक एवं ज्योतिष विष्णुहरि गैह्रे भन्दै हुनुहुन्थ्यो, “यहाँ करिब ३० वर्ष पहिले एउटा ठुलो पानीको पोखरी थियो । त्यही पोखरीको नामबाट यो ठाउँको नाम पोखरी भन्ज्याङ रहन गएको हो । अहिले पोखरी हटाएर पालिकाको कार्यालय बनेकाले यो ठाउँलाई पालिका भन्ज्याङ भन्न उपयुक्त हुने तर्क प्रस्तुत गर्नुभयो ।
हामी एक हजार १५० मिटरको डाँडोबाट ओर्लेर करिब आठ सय मिटर तल रहेको जैसीहटियामा झरेका थियौँ । सानो उपत्यका जस्तो लाग्ने त्यो ठाउँ निकै रमाइलो रहेछ । स्थानीय समुद्र थापाका अनुसार उक्त हटियामा ५० घर मगरका मात्र छन् । सो गाउँलाई पुरानो कोटदरबार भनेर पनि चिनिँदो रहेछ ।
हामी गोठादी पुग्यौँ । यसको वास्तविक अर्थ ‘गोठाङ डी’ हो । उहिलेका मानिसहरू प्रायः गाउँबेँसी गर्ने चलन थियो । कतै कतै यद्यपि छ नै । हरेकका बेँसीमा गोठ हुन्थे । ती गोठमा माटोका भाडामा पानी राख्ने चलन थियो । घरमा आउने पाहुनाले ‘डी कुला ले ?’ ‘पानी कता छ ?’ भने होलान् ? त्यसको प्रतिउत्तरमा घरमुलीले ‘गोठाङले डी’ ‘गोठमा छ पानी’ भने होलान् । त्यही ‘गोठाङ डी’ कालान्तरमा अपभं्रस भई ‘गोठादी’ भएको अनुमान लगाएँ ।
अगाडि बढ्दै गर्दा ‘ढुङ्गाडे’ भन्ने ठाउँमा हाम्रा बाइक एकाएक रोकिए । म खुट्टाले हिँडेर एक पटक र अर्काे पटक बाइकमा करिब १५ वर्ष पहिले त्यहाँ पुगेको थिएँ । त्यतिबेला बाटो छेउछाउमा बनाइएका घर झुप्रा, साना र असुविधाजनक थिए । तर अहिले भने त्यो ठाउँ सफा, सुन्दर र फराकिलो भएछ ।
बाटोको उत्तरतिर भएको अग्लो चउरलाई सम्म बनाइ ऋषिङ्ग गापाको कार्यालय बनाउन भनिएको रहेछ । तर अग्लो चौरको ढिस्को फालेर सम्म बनाइँदै गर्दा बिचमा अजङ्गको कडा चट्टान निस्केको रहेछ । त्यो चट्टानको ढिस्को फाल्दा डोजरका दाँत भाँचिएकाले डोजर फिर्ता गएको कुरा पनि सुन्न पायौँ ।
विसं १८१७ सालभन्दा पहिला नेपालको पश्चिमतिर २२ र उत्तरतिर २४ राजाहरू थिए । तनहुँमा पनि थुप्रै ठाउँमा ससाना राजाहरू भएको इतिहासले प्रमाणित गर्छ । यसै सन्दर्भमा यो ठाउँको नाम किन र कसरी ‘ढुङ्गागाडे हुँदै ढुङ्गाडे’ भयो भन्ने जिज्ञासा पलायो । स्थानीय ज्येष्ठ नागरिकद्वय रेवतीरमण र टङ्कलाल रानाभाटज्यूलाई यो ठाउँको नाम ‘ढुङ्गागाडे’ कसरी रह्यो भन्ने जिज्ञासा पोख्दा उहाँ दुवैले परापूर्वकालमा सात दिनकी सुत्केरीले, हेर्नुस्त ऊ (बुढी औँलाले परको अग्लो ढुङ्गो देखाउँदै) त्यो ढुङ्गा गाडेकीले यो ठाउँको नामै ढुङ्गागाडे भएको हो । तर हिजोआज ढुङ्गागाढेलाई जनजिब्रोले ढुङ्गाडे भन्न थालेका छन् ।
मैले स्थानीय कुलबहादुर बर्देवा, बद्री र भक्तबहादुर रानाभाटसँग पनि यसबारेमा जिज्ञासा राखेको थिएँ । उहाँहरूले माथिको भनाइलाई पनि मान्यता दिँदै अर्को तर्क पनि प्रस्तुत गर्नुभयो । उहाँहरूका भनइअनुसार यहाँबाट (हातले देखाउँदै) मास्तिर ऋषिङ्गे राजा र तलतिर भिरकोटे राजाले राज्य गर्दा रहेछन् । ती दुवै राज्य साँधको विषयलाई लिएर सधैँ झैझगडा गर्दा रहेछन् ।
अब उप्रान्त झैझगडा नहोस् भन्नाका लागि उनीहरूले यस क्षेत्रलाई साँध मानेर एउटा ठुलो र लामो ढुङ्गो गाडेका रहेछन् । त्यसैको नामबाट यो ठाउँको नाम रहन गएको हो ।
भिरकोटे र ऋषिङ्गे राज्य भएको सही कुरा हो । ती राज्यहरू आपसमा विविध विषयलाई लिएर झगडा गरिरहन्थे होला । यहाँ ढुङ्गा गाडेको कुरा पनि सही हो किनभने यहाँ यो मन्दिर परापूर्वकालदेखि नै अवस्थित छ र मन्दिरभित्र एउटा असाधारण लोहोरो आकारको कलात्मक र चिल्लो ढुङ्गो पनि छ । उनीहरूले उक्त ढुङ्गो सुत्केरी महिलालाई नै किन गाड्न लगाए त भन्दा– सुत्केरी महिला बिटुली हुन्छिन् । उनले छोएको वस्तु अरूले छुन हुँदैन भन्ने धार्मिक मान्यतालाई प्राथमिकता दिएका होलान् ।
बडो रमाइलो भयो भिरकोट गाउँको घाँटीमा रहेको मानादी खोलामा पुग्दा । छेवैमा अवस्थित सूर्यकुमार श्रेष्ठको घर जहाँ मैले १२ रात बिताएको थिएँ । त्यहाँ पुग्दा आफ्नै घर पुगे जस्तो लाग्यो । कुरा के थियो भने १६ वर्ष पहिले सुपरिटेन्डेन्टट भएर बाल विकास माविमा एसएलसी परीक्षा सञ्चालनको लागि गएको थिएँ ।
त्यसपछि हामी पाँचै जना सीधै भिर्कोट देउराली पुग्यौँ । अलि अगाडि निर्माणाधीन स्वास्थ्य केन्द्र भवन परिसर पुग्यौँ । त्यहाँ भवन निर्माणको कार्य सुस्त गतिमा भएको पायौँ ।
भवन बन्दै गरेको ठाउँबाट नवलपुर जिल्लाका समग्र पश्चिमी भाग देखिँदो रहेछ । त्यहाँको समथर भूभाग र त्यो भूभागमा निर्माण भएको चार लेनको फराकिलो पक्की सडकले हाम्रा मन पनि फराकिलो बनायो । हामी करिब २० मिनेट जति त्यही रमाइलो हे-यौँ र पुनः आएकै बाटो फर्कियौँ । मधुपर्क