सदरमुकाम मान्मबाट १६ कोस पश्चिमोत्तरमा पर्छ पचाल झरना गाउँपालिका । विसं २०५७ सालमा स्पेस टाइम राष्ट्रिय दैनिकमा ‘विश्वकै अग्लो हुन सक्ने पचाल छहरो’ शीर्षकमा मेरो आलेख प्रकाशित भएपछि पचाल झरनाको प्रचार प्रारम्भ भएको हो । यस झरनालाई स्थानीयहरू अहिले पनि पचाल छहणो नै भन्छन् । स्पेस टाइममा छापिएको मेरो आलेख पढेर कामको सिलसिलामा कालिकोट पुगेका स्विस राजदूतले मान्ममा एक होटल साहुनीलाई पचाल छहणो कहाँ पर्छ ? भनी सोध्दा साहुनीले खै थाहा छैन भन्दा राजदूत छक्क भएको कुरा पछि ती साहुनीले मलाई बताएकी थिइन् ।
यो छहणा (झरना) को एउटा अलग्गै विस्मयकारी मिथक छ । मिथक यस्तो छ कालासिल्लो मस्टो र पचालो मस्टो दुई दाजुभाइ हुन् । यौवनास्थामा पचालाको एक राक्षसकी छोरीसँग प्रेम बस्यो । यो थाहा पाएपछि सारा देवीदेवता मिलेर सम्बन्ध विच्छेद गर्न खोजे तर पचालाले मान्दै मानेन बरु भाग्नु उचित ठानेर उक्त राक्षसकी छोरी भगाएर यही छहणो भित्र लुकेर बस्यो । पचालो मस्टो भागेर यहीँ बसेपछि यसको नाम त्यस दिनबाट पचाल छहणो रहन गयो । त्यही राक्षसनीबाट एउटा छोरा पनि जन्म्यो । त्यसको नाम हो लुवासुरी । आजभोलि आफ्नै पैठमा पतुर्नु धामी नाच प¥यो भने आफ्नै भाषामा पचालाले छोरा र लुवासुरीले बुवा भनेर सम्बोधन गर्छन् । साबिकको राम्नकोट गाविसको खार्दु गाउँमा पर्छ पचाल छहणो । राज्य पुनर्संरचना आयोगले हाम्रो सुझावलाई उपयुक्त ठान्दै पछि यस पालिकाको नाम पचाल झरना नै राख्यो । साबिककै राम्नकोट, बदालकोट र नानीकोट गाविसलाई मिलाएर पचाल झरना गाउँपालिका बनेकाले अब यो पचाल छहणोबाट पचाल झरनामा रूपान्तरित भएको छ ।
मेरो आलेखबाट चर्चा सुरु भएपछि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय सञ्चारमाध्यम पनि यसको वास्तविकताको खोजीनितीमा लागे । प्रचारप्रसारले व्यापकता पाएपछि तत्कालीन जिल्ला विकास समिति, वर्तमान गाउँपालिका र गैरसरकारी सङ्घसंस्थाको पहलमा नापजाँच गरी पचाल झरनाको वास्तविक उचाइ ३८१ मिटर पुष्टि भयो । तत्पश्चात पचाल झरना विश्वकै अग्लो नभए पनि दक्षिण एसिया र नेपालको अग्लो हुन पुग्यो । अहिले नेपाल सरकारले यस झरनालाई आन्तरिक पर्यटकीय गन्तव्य स्थलको ६४ औँ स्थानमा दर्ज गरेको छ । दक्षिण एसियाकै अग्लो झरना पचाल झरना गाउँपालिकालाई चिरा पारेर बिच भागमा बग्छ नेपालकै लामो कर्णाली नदी ।
मानसरोवर तालको लङ्कारी दह मुहान भई बग्ने धार्मिक विशेषता बोकेका ऐतिहासिक नदी सतलज, ब्रह्मपुत्र, सिन्धु र कर्णाली हुन् । यही कर्णाली नदी तिब्बत हुँदै भारत पुग्छ । हिउँदमा जौपाते रङ र बर्खामा हिलाम्मे कालो रङ बनाएर बग्छ । स्थानीय स्तरमा कर्णाली नदीले हामीलाई बर्खामा काठदाउरा, हिउँदमा माछा, पौडी खेल्न र पिउने सुविधा मात्र दिएको छ । त्योबाहेक कर्णाली नदीबाट अरू कुनै उपादेयता देखिँदैन । कर्णाली नदीले पचाल झरना गाउँपालिकालाई यसरी विभक्त गरेको छ । वारिपट्टि राम्नकोट र बदालकोट पर्छन् पारिपट्टि नानीकोट पर्छ । वारिपट्टि बगरमा जारकोट, पारिचौर झुगला, लाफा, पारिलाफा, पणेच्छा, गङ्खेत, बाग्या फाँट छन् । पारिपट्टि घाटकाचौर, सिगाबगर, चाट्याबगर, भैस्यासैन, भुराबगर फाँट छन् । पणेच्छा पालिकाको सदरमुकाम हो । अन्य सबै खेतीयोग्य जमिन हुन् । यी जमिनलाई जिउँला भनिन्छ । यी जिउँलाहरूमा धान र गहुँ खेती मात्र गरिन्छ । तरकारी खेतीको अधिक सम्भावना भए पनि किन हो किन यहाँ तरकारी खेती गर्ने चलन छैन । स्थानीय बासिन्दा सुर्खेतबाट झिकाएर महँगोमा तरकारी खान राजी छन् तर आफ्नै खेतबारीमा तरकारी लाउन राजी छैनन् । यो बिडम्बना नै भन्नु पर्छ ।
एक पटक मेरा बुवा भक्तबहादुर बमले खेतमा बन्दागोभी तरकारी लगाउनुभयो । बन्दागोभी पनि खुब फल्यो । बन्दागोभी देखेर गाउँभरिका मान्छे बन्दागोभी माग्न आए, दिनुभयो । पछि पछि त पात माग्न थाले, पात पनि सकिए, त्यसपछि डाठ माग्न सुरु गरे । यसरी हैरान भएपछि पछिल्लो वर्ष बुवाले बन्दागोभी नै लाउनु भएन । आफू पनि अरू पनि सब चिल्लाराम । रायो, गोलभेँडा, फर्सी, काँक्रा, भिन्डी, भेन्टा, स्कुस, घिरौँला, तितेकरेला जस्ता तरकारी मनग्गे फल्ने ठाउँ हुन् यी ठाउँ । यी सबै नदी किनाराका फाँट । यी फाँट र जिउलोको बगरभरि सिसौ, बेणु, तिमिला, खनाया, बैँस, टटाल्नु, सिमल, पीपल, टुसारो, खणिक, सिउतारो, केराका बोटहरूले झपक्कै देखिन्छ मेरो जन्मथलो जारकोट ।
हामी साना केटाकेटीमा गाई बाख्रा चराउन जाने मैले केटाकेटीमा भैँसी चराउने, गाईबाख्रा चराउने, घाँस काट्ने, दाउरा ल्याउने जस्ता सबै काम गरेको छु । हाम्रा गाई, बाख्रा चराउने, घाँसदाउरा र स्याउला काट्ने प्रायः वन एउटै हो । सिसौ, पीपल, खणिक र खच्याका स्याउला वैशाखजेठमा कति काट्थ्यौँ कति । पशु चराउने हाम्रा वन थिए थिर्पुतिर । तर्पर्या, बाम, चाखुणकाठिया, गहतेणी, मुइन्खाणा यता लाफातिर कटेरा, करुवाढाण, पेटारी, ह्याङ्लु, चुफीढुङ्गा, बगौरा, पारिचौण बालिकुना आदि । गाई, बाख्रा चराउनु हाम्रो बाध्यता थियो भने बाउत (पौडी) खेल्नु रहर । बाउत खेल्ने अरू विकल्प थिएन कर्णाली नै हो । थिर्पुतिर गोठालो गयो भने बाउत खेल्ने मोहोर हो । लाफातिर गयो भने पारिचौणको बालुवा सोताको ढुङ्गो डुबाउने र बगाउने पानीमा बाउत सिक्न धेरै अप्ठ्यारो । पहिला त भित्री बाउतबाटै बाउत सिकिन्थ्यो । यसलाई हामी भ्यागुता बाउत भन्थ्यौ । त्यसपछि सिपालु कसैले जुणी (टुपी) समाएर सिकाइदिन्थे । बाउत सिक्नका लागि जुणी राख्न घाँस काट्ने आसीले कपाल काट्थ्यौँ । कति लाटा हामी कपाल समातेर पनि बाउत सिक्न सकिन्थ्यो तर कपाल काट्नै पर्ने । धनराज दाइ ठुलो आसीले भेडा मुडे झैँ मुड्नु हुन्थ्यो हाम्रो कपाल । यति दुख्थ्यो कि भनेर साध्य छैन ।
मेरा बालसखाहरू थिए मुनबहादुर, बालसिंह, राजेन्द्र, कम्म, देउल्या, जैपाल्या, पवित्ता, चल्ली, बुच्याहरू । यी सबैभन्दा मैले नै छिटो बाउत सिकेँ । बाउत सिकिसकेपछि एउटा नियम थियो, पहिला सोताको ढुङ्गो व्रmस गर्ने । त्यसपछि सीधै कर्णाली छिन्ने । कर्णाली छिनिसकेपछि मात्र बाउतमा दीक्षित भएको मानिन्थ्यो । मैले बाउत सिक्न लागेको १०औँ दिनमा कर्णाली छिनिसकेको थिएँ । हाम्रो कर्णालीमा बाउत खेल्ने उपयुक्त समय फागुन १५ देखि जेठको १५ सम्म हो ।
जेठपछि नदी बढ्दै जान्छ । पानी पनि धमिलो हुँदै जान्छ, खतरा भइहाल्छ । नदी किनाराको बस्ती असाध्य गर्मी हुने । यस कारण पनि बाउत सिक्नै पर्ने । एक दिन वैशाख महिना थियो । गहुँ काटेर खेतहरू खाली जस्तै थिए । खेतमा गाईगोरु, बाख्रा, भैँसी चर्थे । यस प्रव्रिmयालाई हामी उदाउनी भन्छौँ । म तीन कक्षामा पढ्थेँ । मेरो साथी कम्म दाइ पनि तीन कक्षामा पढ्थ्यो । स्कुल जान उकालो दुई घण्टा हिँड्न पथ्र्यौ । ऊ अलि ठुलो म सानो । माथि डाडा डाङ्ग्री धन्जय जेठाबाको घरमा पुगेपछि उँधो हे¥याँै । तल जिउलामा गाईबाख्रा उफ्री उफ्री चरिरहेका । बिहानी हावाले पीपलका पात फिर्फिर हल्लँदै । सिमलको कोसा फुटेर भुवा आकाशमा उडिरहेको देख्दा मनले उकालो उक्लनै मानेन । यत्तिकैमा कम्म दाइले जुक्ति झिक्यो र भन्यो, ए मोती आज उदाउनी बिदा हो था छैन, स्कुल बन्द हुन्छ फर्कुं ।
हो त नि भन्दै खुसीले फुरुङ्ङ हुँदै फर्कियौँ । झोला कम्म दाइको घरमा राख्यौँ, उसको घर अलि छेउतिर एक्लै थियो । अनि बामगाणको किनारै किनार गाउँलेलाई छल्दै मोहोर पुग्यौँ । त्यहाँ नुहाउनेको भिड थियो । हामीलाई देखेर खासखुस गर्न थाले ।आज यी दुई टोका (बच्चा) स्कुल गएनछन्, अब मास्टर र घरपरिवारको रामधुलाइ खाने भए ।
नभन्दै परिवारलाई त जसोतसो कुरा मिलायौँ । शिक्षकबाट बच्न सकिएन । हाम्रा गुरु हुनुहुन्थ्यो, बिर्खबहादुर सेजुवाल । उहाँले भने भोलिपल्ट स्कुलमा हिजो किन नआएको भन्दै मिहिणे झारको स्यागुठाले पिट्न थाल्नुभयो । जिउभरि राता चाठाहरू देखिए, रगत आउला झैँ भयो । अझै भएन भनेर दुई औँलाको कापमा मोटो भाटो राखेर औँला च्याप्नु भयो । ज्यादै असह्य भएर म चिच्याएँ, रोएँ । पछि टिक्न नसकेर भनिदिएँ, यै कम्म दाइ हो, उदाउनी बिदा हो भन्यो । अनि मलाई छोडेर गुरु त्यतै फर्कनुभयो । ऊ रुँदै थियो म कक्षा कोठामा छिरिहालेँ । पछिल्लो दिन कम्म दाइले पनि मलाई हप्कायो ! “आजदै म तोकन मह पनि दिँदैन साथ पनि लिँदैन ।” म केही बोलिनँ चानुमानु बसेँ । उसको घरमा मह मनग्गे हुन्थ्यो । हामी अन्निरोटीसँग दिनहुुँ मह चोरेर खान्थ्यौँ । मह चोरेपछि त्यो भयबाट उम्किन बाआमालाई मेरो नाम जोडेर भन्थ्यो, “मोती आएर खाउँ भन्यो अनि खायौँ ।” उसका बा असाध्य भलाद्मी थिए । मेरो नाम लिए केही भन्दैनथे किनकि हामी दुवैका बा राम्नकोट गाउँका बहुतै मिल्ने दोस्ती थिए ।
चैतवैशाखमा नदी किनारमा कमिला झैँ हुन्थे बाउतेहरू । हामी ६, ७ जना साथीको कथा बेग्लै थियो बाउत हान्नुमा । मैले १२, १३ वर्षको उमेरसम्म कम स्कुल बढी गोठालो जाने काम गरेँ । राम्नकोटमा हाम्रा दुई वटा बस्ती छन् । १२ महिनामा (महिना बेँसी जारकोट र ती महिना लेक राम्नकोटमा बसोबास हुन्छ । प्रायः हाम्रो परिवार जारकोटमै बस्ने भएकाले बाउत सिक्न, खेल्न पनि सहज भयो । हाम्रो गोठालो जाने वनहरू भनेकै ह्याङ्लु, कटेरा, बल्ल्याजुद्दा, पेटारी हुन् । त्यतातिर गाईबाख्रा छोडुवा धपायो पारिचौण बालुवामा बाउत खेल्यो हाम्रो बाल दैनन्दिनी थियो । नदी किनारामा पनि तीन वटा बालुवास्थान थिए– सोताको ढुङ्गो बालुवा, माझको बालुवा, बालिकुनाको बालुवा । विशेष गरी पहिलो बालुवा नै नुहाउन र बाउत खेल्न सजिलो र चर्चित स्थान हो । बालुवाको पानी चागो परेको, वारपार गर्न पनि सहज हुन्थ्यो । त्यहीँमाथि झुगलो (झोलुङ्गो) भएकाले मान्छेको आवतजावत बाक्लो हुने हुँदा भर पनि लाग्थ्यो ।
बाबियोको लट्ठा बाटेर दुवै किनाराको नेवमा बाँधी बिचमा दुदिलाका सेटा हालेर बनाइएको झुगलोमा मान्छे र भेडाबाख्रा मात्र तर्न मिल्थ्यो । गाईभैँसी घोडाघोडीहरू कर्णालीबाटै तारिन्थ्यो । कसैले यस्तै खाले पशुवस्तु किनेर ल्याएमा घाँटीमा डोरी बाधेर एक बाउते अगाडि एक बाउते पछाडि सिर्कनाले हान्दै तार्नुपथ्र्याे । एक दिन म र एक जना साथीले धौलागोहका मान्छेको गाई यसरी नै ता-याँै । गाई तारेबापत एक मोहोर तराउनी पाएको थिएँ । त्यसपछि त कसैले वनबाट गाई धपाउँदै ल्याए पनि अब तराउनी मोहोर पाइन्छ भन्दै नदी किनारामा कुरी बस्थ्यौँ । हाम्रो समाजमा एउटा नैतिक संस्कृति के छ भने जो गोठालो जान्छ, साँझ घर फर्कंदा रित्तै आउँनै हुँदैन । घाँसदाउरा जे पाइन्छ, ल्याउनै पर्ने । यदि कोही गोठालो पशुवस्तुसँग रित्तै आएमा उसलाई अल्छे, धतुरे, फत्तुरे, बिनाकामको, गरी खान नसक्ने भनेर नैतिक प्रश्न उठाइन्छ र गिज्याउने गर्छन् पनि । गाउँघरको चलन, लोकलाजबाट बच्न पनि केही न केही ल्याउनै पथ्र्याे । म प्रायः दाउरा नै ल्याउँथे । दाउरा पनि बाङसो, कुकुवा, आखो, गुइँयटठो, मिहिण्या, धुच्चु आदिका झिँजामिजा । दिनभरि बाउत खेल्ने बालुवामा बालुवाको लिगुणी हाल्ने हाम्रो दिनचर्या थियो । पहिला पहिला घर भन्थ्यौँ पछि राष्ट्रकवि माधवप्रसाद घिमिरेको कलाकार अरनिको कविता किताबमा छापिएपछि मन्दिर भन्न थाल्यौँ । बालुवाको मन्दिर बनाउँदै उक्त कविता पाठ गथ्र्याैं । चैतवैशाखका लामा दिन फेरि नदीमा जति नुहायो उति भोक लाग्ने । अन्नि लिने चलन थिएन बिहान खायो एकैचोटि साँझ । कहिलेकाहीँ रोटी बचेका छन् भने मात्रै । नत्र अन्नि अनिवार्य थिएन ।
एक दिन त भोकले साह्रै भएको थियो । आँखा तिरमिर भएका थिए । पेटमा मुसा दगुर्न थालेका थिए । झुगलामा तराउनी माग्ने ठेकेदारहरू बस्थे । तराउनीबापत कहिलेकाहीँ रोटी, टाट्या (पुरी) खिर पनि मिल्थ्यो । म र साथी जैपाल्या त्यही आसले झुगलातिर गयौँ । ठेकेदार हुनुहुन्थ्यो बाजे गम्भीर बम । उहाँले एकजना सिकु बाहुनकी छोरी माइतबाट पोइल गोठी जान आएकी रहिछन् उनले बाजेलाई तराउनी च्युरीको पातमा बाँधेको टाट्याको पोको दिइन् । हामीले देखिहाल्यौँ । मुख रसायो जिब्रोबाट पानी आउन थाल्यो लय ट्वाटकियो खाऊँ भन्छन् कि सोचेको त बाजेले त्यो पोको आफ्नो पद्दनीमा बाँधेर पर गन्बान्नामाथि ढुङ्गाले च्यापेर पो राखे । आफू वर खणिकको रुखमुनि बसेर ताकु कात्न थाले । मैले जैपाल्यालाई भने ऊ दलितको छोरो भए पनि मसुर थियो । “ए, जाजा त्यो चोरेर ल्या बड्डो ताकु कात्तै छ था पाउँदैन । जैपाल्या पद्दनीको नजिक के पुगेको थियो बाजेले देखिहाल्नुभो । ठुलो स्वरम ए, साले गधा भन्दै लट्ठी ल्याएर आइहाल्नुभो । ऊ भागेर बेपत्ता, मैले पनि सुइँकुच्चा ठोकेँ । हाम्रो भेट भोलिपल्ट त्यै बालुवामा भयो । उसले हाँस्दै भन्यो, “बडडाले मकन मारिअल्याछिया यार ठाकुर, अब त्यसो नगर्ने यार दाइ बरु बाङसोको फूल खाने त्यहाँ पनि गुलियो रस हुन्छ नि । भोक लाग्यो भन्दैमा वन गएको गोठालो घर जान मिलेन । ठेकेदारले पनि सातो लिइहाले ।” त्यस दिनबाट हामीले नुहाएपछि भोक मेटाउन बाङसोको फूल चुस्न थाल्यौँ । कोही कोही यसलाई असुरो पनि भन्दा रहेछन् । जारकोटमा प्रशस्त पाइन्छ बाङसो । यसका पात काटेर धानको बेर्नामा पनि हालिन्छ । यसको फूल सेतो हुन्छ । फूलको पिँधमा गुलियो रस हुन्छ । यही रस चुसेर भोक मेटाउँथ्यौँ । यो रस चुस्न भँवरा, माहुरी, बारुला पनि आउँथे । हामी भोका मनुवा यी कीटपतङ्गलाई बाङसोकै झुप्पाले धपाएर रस चुस्दै अघाएपछि वनमा छरिएर रहेका गाईबाख्रालाई बटुलेर घाँसदाउराको भारीसँग साँझपख घर फर्किन्थ्यौँ । मधुपर्क