• ७ मंसिर २०८१, शुक्रबार

तरङ्ग (निबन्ध)

blog

ॐकारको तरङ्गबाट सृष्टि भयो । सृष्टिको आधार नै तरङ्ग हुनाले पृथ्वी, जल, तेज, वायु, आकाश सबैमा बेलाबखत तरङ्ग उत्पन्न हुने गर्दछ । भूकम्पले पृथ्वीमा तरङ्ग ल्याए झैँ जल कम्पनले पानीमा तरङ्ग ल्याएको हुन्छ । हावामा पनि तरङ्ग हुने गर्दछ, कहिले सिर्सिरे, कहिले आँधीबेहरी । तेजले पनि त तरङ्ग नै सिर्जना गर्दछ । उखरमाउलो गर्मी, आगलागी, न्यानोपन र तेज तरङ्ग नै हो नि । आकाश पनि द द धम अर्थात् दया, दम र धर्म गर भन्ने ध्वनिमा गडगडाएर तरङ्ग सिर्जना गर्दछ । कहिले भने आकाशमा शून्यताको तरङ्ग देखापरिरहेको हुन्छ । पञ्चमहाभूतको अंश पशुपन्छी एवं मान्छे पनि बाह्य तथा अन्तर तरङ्गले प्रभावित हुनु स्वाभाविकै भयो । खुला तर शान्त स्थानमा आफ्नै आवाज प्रतिध्वनित भई आफ्नै कानमा ठोकिनु पनि त तरङ्गकै बेजोड पक्ष हुँदै हो । 

तरङ्ग भन्नेबित्तिकै छाल, लहर, ज्वार, कम्पन, चाल र तर्कवितर्क भन्ने चिन्तन जाग्रत हुने गर्दछ । तरङ्ग त्यसै आउने त होइन । तरङ्ग उत्पन्न हुन केही न केही तìवले प्रभाव पारेकै हुनु पर्दछ । मान्छेको मनमा वा समुद्र वा तालमा छाल, लहर, ज्वाररूपी तरङ्ग सिर्जना हुन हावाले भूमिका खेलिरहेको हुन्छ । भूकम्पको तरङ्ग उत्पन्न हुनका लागि जमिनमुनिको तत्व चलायमान हुनु नै पर्दछ । तरङ्गको आफ्नै छट्टै अस्तित्व छैन । यो त कुनै परिवेशसँग जोडिएर आउँछ जान्छ, आउँछ जान्छ । लहर, छालजस्ता तरङ्ग निरन्तर आउने जाने गरिरहन्छन् । मान्छेले अनुभव नगर्ने साना भूकम्पजस्ता तरङ्ग निरन्तर आउने जाने गरिरहन्छन् भने ठुलो कम्पन निकै लामो समयको अन्तरालमा मात्र आउने गर्दछ । 

हरेक वस्तुसँग तरङ्ग जोडिएको हुन्छ । माटोमा गाडेको बिउ फुटेर जरा र मुनाका रूपमा तल र माथि अगाडि बढ्नु पनि त तरङ्ग नै हो नि, होइन र ? सृष्टि स्वयम् नै ॐकारको तरङ्ग भएपछि सृष्टि अन्तर्गत हुने उपसृष्टिमा तरङ्ग नहुने भन्ने के हुन्थ्यो र ? हुने नै भयो ।

पोखरीमा एउटा गुच्चा खसाल्दा वा एउटा गुच्चाले अर्को गुच्चालाई टिच्युँ गर्दा तरङ्ग त उत्पन्न हुन्छ । गुच्चाले गुच्चालाई हान्दा आएको टिच्युँको आवाजरूपी तरङ्ग थोरै पर पुगेर हराउँछ । पोखरीमा गुच्चा फाल्दा पानीमा उत्पन्न हुने लहरहरू पोखरीको किनारामा पुगेर बिलाउँछन् । जुन जोडमा तरङ्ग उत्पन्न गराइएको हुन्छ, त्यही तोडमा ठाम विशेष तरङ्गिन पुग्छ । बम तथा बन्दुक पड्कँदा सिर्जना हुने तरङ्ग तिनकै क्षमताका आधारमा फिस्स वा भयानक हुन पुग्छ । पानीमा फलिएको फलामको डल्लो डुब्दा सिर्जना हुने तरङ्ग र पानीमा तैरिने फलामको पाताले सिर्जना गर्ने तरङ्गको मापन एकैनास नभई पृथक् हुने नै भयो । 

 साना साना तरङ्ग रोमाञ्चक हुने गर्छन् । नदी सुसाउँदा, समुद्रमा छाल आउँदा रमाइलो लाग्छ । छाल, लहरसँग त मान्छेले खेल्ने नै गरेको छ । यस्तो खेलमा छालको साथी मान्छे, मान्छेको साथी छालजस्तो अनुभूति हुने गर्दछ । एकले अर्कालाई पछ्याइरहेको, कुरिरहेको जस्तो देखिन्छ । नदी ज्यादै तरङ्गिँदा लहर बाढी बन्न सक्छ । समुद्र धेरै तरङ्गिँदा छाल सुनामी हुन सक्छ । अनि रमाइलो खेल प्रलयमा बदलिन पुग्छ । अति हुनेबित्तिकै उत्पातले हमला गर्न थाल्दछ । यसैले पनि सीमा बन्धनलाई आदर्श मान्ने गरिएको हो । 

तरङ्ग लाभदायक वा हानिकारक दुवै हुन सक्छ । मतापको तरङ्गले लाभ दिन्छ । रमाइलोपनको सिर्जना गरिदिन्छ । उदण्ड तरङ्गले हानि पु¥याउने काम गर्दछ । नरमाइलो स्थिति सिर्जना गरिदिन्छ । पञ्चमहाभूतले सिर्जना गर्ने प्राकृतिक तरङ्गमा देखापर्ने नरमपना र कडापनले उज्यालो अँध्यारो दुवै पक्ष देखाइरहेको हुन्छ । उग्र र नम्र तरङ्गको प्रभाव कस्तो हुन्छ भन्ने यथार्थ मान्छेले बेहोरेको हुन्छ । अरिङ्गालको गोलोमा ढुङ्गा हान्दा उत्पन्न हुने तरङ्गले मान्छेको ज्यानै जानेसम्मको अवस्था सिर्जना गरिदिन्छ । 

भँगेरा, सारौँ आदि चराले बिरालो देखेमा चिरचिर आवाज निकालेर आफ्नो समुदायमा खतरा उत्पन्न भएको तरङ्ग सिर्जना गर्ने गर्छन् । आकाशमा चिल उडेको देख्दा जमिनमा चरिरहेका हाँस कुखुरा आफ्ना बचेरालाई सतर्क गराउँछन् । उनीहरूको अगाडि त्यो चिल एउटा तरङ्ग हो, जसले एक्लै आफ्नो सुरक्षा गर्न नसक्ने उनीहरूको बचेरालाई ग्रास बनाइदिन्छ । हरेकले आफ्नो आवश्यकताका लागि तरङ्ग उत्पन्न गर्ने गर्छन् । 

मान्छे पनि तर्क वितर्क कुतर्क गरेर तरङ्ग उत्पन्न गर्ने गर्दछ । मान्छेको मनमा हरेक दिन उत्पन्न हुने साठी हजार विचार तरङ्ग नै हो । केही न केहीले प्रभाव पार्दा त्यत्रो सङ्ख्यामा विचार उत्पन्न हुन पुग्छ । आफूले खाएको खानेकुराको प्रभावले उत्पन्न हुने अन्तर तरङ्गको आडमा मान्छेको विचार तरङ्गिएको हुन्छ । सकारात्मक विचारले सकारात्मक तरङ्ग सिर्जना गर्दछ । नकारात्मक विचारले त्यस्तै नरकारात्मक तरङ्ग सिर्जना गर्दछ । पोखरीमा ढुङ्गा फाल्दा लहर उत्पन्न भई सम्पूर्ण पोखरीभरि फैलिए झैँ मान्छेको हृदयरूपी पोखरीमा ढुङ्गारूपी विचार फाल्दा शरीरभरि लहर फैलिई सम्पूर्ण शरीर तरङ्गिन पुग्दछ । सुविचाररूपी ढुङगाले सुतरङ्ग र कुविचाररूपी ढुङ्गाले कुतरङ्ग सिर्जना भइदिन्छ, मान्छेभित्र । 

मान्छेको हृदयमा धर्मको बास रहेमा चरित्र सुन्दर हुन पाउँछ । चरित्र सुन्दर भएमा घरमा समझदारी हुन्छ । घरमा समझदारी कायम भएको अवस्थामा देशमा अमन चयन कायम हुन पाउँछ । देशमा अमनचयन भएमा संसारमा शान्ति उत्पन्न हुन्छ । मान्छेको हृदयमा अधर्मको बास रहेमा चरित्र खराब हुन्छ । चरित्र खराब भएमा घरमा असमझदारी हुन्छ । घरमा असमझदारी भएमा देशमा अमन चयन रहँदैन । देशमा अमन चयन नरही भद्रगोल भएपछि संसारमा शान्ति छाउन सक्दैन । व्यक्तिमा उत्पन्न हुने तरङ्गले संसारमा शान्ति वा अशान्ति हुने कुराको निर्धारण हुने गर्दछ । 

मान्छेको हृदयमा सुविचाररूपी तरङ्ग पैदा भएको अवस्थामा त्यो तरङ्ग आँखामा पुग्दा सुदृष्टि उपलब्ध हुन्छ । कानमा पुग्दा सुमधुर ध्वनिमा परिणत हुन्छ । हातमा पुगेको त्यस्तो तरङ्गले सुकर्म गर्न सघाउँछ । खुट्टामा पुगेको तरङ्गले सुमार्गमा हिँड्न अभिप्रेरित गर्दछ । मान्छेको हृदयमा कुविचाररूपी तरङ्ग उत्पादन भएमा त्यो लहर पनि फैलिएर आँखा, कान, नाक, हात, गोडा गरी सम्पूर्ण शरीरभर फैलन्छ । आँखामा सुदृष्टि आउनुको सट्टा कुदृष्टि उत्पन्न भइदिन्छ । कानमा सुमधुर आवाज आउनुको सट्टा कर्कस आवाज आइदिन्छ । हातले सुकर्म गर्नुको सट्टा कुकर्म गर्न थाल्छ । गोडा सुबाटो त्यागी कुबाटोतर्फ लाग्छ । 

मान्छे शासक पनि, शासित पनि हो । शासन सत्ताको बागडोर समातेर शक्तिको पदमा बस्ने व्यक्तिमा देश प्रेम भएमा त्यो तरङ्गले सबैलाई त्यही भावमा काम गर्न निर्देशित गर्दछ । यस अवस्थामा व्यक्ति समृद्ध नभई देश समृद्ध भइरहेको हुन्छ । सत्तासिनले देश घात गर्ने चिन्तन गरी त्यही तरङ्ग शरीरभर फैलाएमा नकारात्मक एवं दूषित भावले आँखा, कान, हात, गोडा जस्ता तìवलाई प्रभावित पार्दछ । यस परिवेशमा देश गरिब भई व्यक्ति धनी हुन पुग्छ । तरङ्गको जग भनेकै विचार हो, जसरी छालको जग समुद्र स्वयम् नै हो । विचारले नै मान्छेलाई बनाउँछ । विचारले नै मान्छेलाई भत्काउँछ । कोही बोल्दा तरङ्ग उत्पन्न हुन्छ भने कोही नबोली चुपचाप लाग्दा पनि तरङ्ग उत्पन्न हुन्छ । कुनै घटनाले पनि तरङ्ग उत्पन्न गर्दछ । 

तरङ्ग वैयक्तिक मात्र नभई सामाजिक, राजनीतिक, सांस्कृतिक, आर्थिक, शैक्षिक जस्ता अनेकौँ क्षेत्रमा देखापर्ने वस्तु हो । कोही खुसी भएको, कोही दुःखी भएको, कोही उदास भएको अवस्थासँग पनि तरङ्ग जोडिएकै हुन्छ । नियमितभन्दा अलिकति फरक अवस्था सिर्जना हुन्छ भने त्यो तरङ्ग उत्पन्न भएको अवस्था हो । यस्तो तरङ्गको लहरको फैलावट कति तरङ्गको प्रकृति र त्यसले सिर्जना गर्ने प्रभावमा भर पर्ने कुरा हो । 

Author

डा. विश्वदीप अधिकारी