हिन्दु नारीहरूको महान् पर्व तिजमा चेलीबेटीका दुःखसुख समेटेर गीत गाउने, नाचगान गर्ने र रमाइलो गर्ने परम्परा पुरानै हो । तिजलाई नै लक्षित गरेर कलाकारले गीत/सङ्गीत सार्वजनिक गर्ने परम्परा पनि नौलो होइन तर पछिल्लो समय गीत/सङ्गीतका नाममा आएको विकृतिले निकट भविष्यमा तिजका वास्तविक गीत कस्ता थिए भनेर भावी पुस्ताले थाहा नपाउँलान् कि भन्ने आशङ्का समेत उत्पन्न हुन थालेको छ । पछिल्लो समय तिजका गीतको नाममा व्यापक विकृति बढे पनि थोरै सङ्ख्यामा रहेका पुराना कलाकारका कालजयी गीतले अहिले पनि उत्तिकै तिजको सान्दर्भिकता र मौलिकता झल्काएको हुन्छ ।
प्रत्येक वर्षका तिजमा जति नै नयाँ गीत सार्वजनिक भए पनि पुराना कलाकारका ती कालजयी गीत अहिलेसम्म पनि लोकप्रिय रहने गरेका छन् । चेलीबेटीले पाएका सुखदुःख र वेदनाका पीडादायक गीत घन्काउँदै तिजमा नाच्ने क्रम भने छुटेको छैन । मूलतः तिजका कालजयी र तिजका भाकामा लय मिलाएर प्रस्तुत गर्ने पुराना कलाकार लोकगीत सङ्गीतबाट विस्थापित भइदिँदा र नयाँ पुस्ताका कलाकारले मौलिकता बिर्सिदिँदा तिजको गीत/सङ्गीत बजारमा विकृति बढेको यथार्थ हो । यसै गरी तिजका गीतमा विकृति बढ्नुको अर्को प्रमुख कारण भनेको उटपट्याङ खालका सिर्जनालाई दर्शक, श्रोताले रुचाइदिने र सर्जक पनि त्यस्तै सिर्जनामा उत्प्रेरित हुनु पनि हो ।
मूलतः तिज गायिकाका रूपमा परिचित हरिदेवी कोइराला, बिमाकुमारी दुरा, लक्ष्मी न्यौपाने, शर्मिला गुरुङ र विष्णु माझीलगायतका थुप्रै गायिकाका गीत अहिले पनि उत्तिकै चर्चाको शिखरमा छन् । यसै गरी तिजका गीतमा मौलिकता पस्कने प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, राजु परियार, रेसम सापकोटा, शकुन्तला थापालगायतको नाम अग्रपङ्क्तिमा आउँछ । पुराना गायिका कोइरालाका तिज गीतले चेली माइती जान नपाउँदा पीडा, सासूससुराले गर्ने अभद्र व्यवहार र राम्रो व्यवहार, दिदीबहिनीको मित्रता तथा पीडा, श्रीमान्को माया तथा पीडालगायतका विषयवस्तुलाई आफ्ना गीतमा पस्कने गर्नुहुन्छ । कोइरालाका सयौँ तिज गीतमध्ये ‘सुन्नुहोला दिदीबहिनी’, ‘लाली जोवन कलिले’, ‘सुनको टिकी लाएर’, ‘पठाएनन् घरकाले फर्कें फरक्क’, ‘रातो सारी लाएर’, ‘आमा तिम्रो दुधैको भारा’, ‘यो छोरीको जीवन बरिलै’ लगायतका गीत अहिले पनि उत्तिकै चर्चामा छन् । कोइरालाका यी तिज गीत प्रायः सधैँका तिजमा गुञ्जने गर्छन् । यसबाहेक कोइरालाले पछिल्लो समय सार्वजनिक गर्नुभएका गीतमा पनि मौलिकता झल्कने गरेको हुन्छ । यसै तिजमा मात्र कोइरालाले बजारमा ल्याउनुभएका ‘घर धानेर बस राजै’ र ‘बिहानै उठी स्वामी राजै’ लगायतका गीतले वास्तविक तिजको झल्को दिएको छ ।
यसै गरी वरिष्ठ कलाकार नारायण रायमाझीले सङ्कलन गर्नुभएको बिमाकुमारी दुराको स्वरमा सजिएका ‘भरर रानी चरी’ बोलको गीत अहिले पनि उत्तिकै समय सान्दर्भिक रहेको छ भने चर्चित सङ्गीतकार शम्भुजित बास्कोटाको सङ्गीत रहेको गायिका मञ्जु थापाले स्वर दिनुभएको ‘तिजको रहर’ बोलको गीतमा कम्मर नमर्काउने महिला सायद कमै होलान् । तिजको कार्यक्रममा यो गीत बजेकै हुन्छ ।
अहिलेको जस्तो प्रविधिको विकास नभएको क्रममा गाउँघरमा क्यासेटमार्फत तिजका गीत घन्काएर नाच्ने क्रममा प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, हरिदेवी कोइरालाको ‘वेदनाको पोको’ बोलको एल्बमले त्यो समयमा मात्र होइन अहिलेसम्म पनि उक्त गीतको लोकप्रियता कायमै छ । शर्मिला गुरुङ र राजु परियारको ‘तिज दाइबिना’ बोलको गीत होस् ‘टाढाका चेली’ बोलको गायक परियार र गायिका दुराको गीत पनि सधैँको तिजमा बज्ने गर्दछ । लक्ष्मी न्यौपानेका ‘तिज आयो राजै’, ‘म त मसक्कै’, ‘जान्न म त नाइ’ लगायतका गीत अहिलेसम्म चर्चित रहे । यस्तै सुखी, सम्पन्न भएकी एक चेलीले आफ्नो माइतीलाई बिर्सेकी चेलीले आफ्नी आमा र भाइलाई कतिसम्म हेला गर्छिन् भन्ने प्रस्तुत गर्न खोजिएको रमेश बिजीको शब्द रहेको पुरुषोत्तम न्यौपाने र दुराको स्वर रहेको गीत ‘तिज आयो दिदी लिन’ बोलको गीत पनि सधैँका तिजमा घन्कने गर्दछ । तिजका गीतमा मौलिकता र तिज भाका प्रस्तुत गर्न सिपालु गायिका शर्मिला गुरुङका पनि धेरै कालजयी तिज गीत लोकप्रिय छन् । उहाँका ‘फाटी सक्यो होला मैले बोक्ने डोको, आज मेरो माइत जाने पालो’ लगायतका तिज गीतलाई सदाबहार गीतका रूपमा लिन सकिन्छ ।
गायिकाहरू शर्मिला गुरुङ, शिला आले, शकुन्तला थापाले सामूहिक रूपमा सिर्जना गर्नुभएको ‘शिरमा लगाउने शिरफूल’ बोलको गीतले पनि सधैँका तिजमा दर्शकको मन जित्ने गरेको छ । तिजका गीतमा लोकप्रिय अर्का गायिका हुनुहुन्छ सिन्धु मल्ल । उहाँले बद्री पङ्गेनीसँग गाउनुभएको ‘माइतबाट फर्किनु भो’ र रामचन्द्र काफ्लेसँगको ‘रातो साडी’ र ‘मै राम्री भैछु रे’ लगायतका गीत पनि तिजमा बज्ने गीत हुन् । गायिका विष्णु माझीका ‘नाचम्ला छम छम’, ‘लाउँदिन टिकी’, ‘पुतलीको भट्टी’ लगायतका गीत पनि हालसम्म चर्चामै छन् । यसै वर्षको तिजमा माझीले ‘आइन् आमा यो तिजमा’ बोलको गीतले तिजको साङ्गीतिक बजारमा सर्वाधिक लोकप्रियता कमाइरहेको छ ।
पुराना कलाकारका तिजका गीत खाली चेलीको वेदना पस्कन मात्र चर्चित भएनन् । ठट्यौली किसिमले घरपरिवारको समस्यालाई जस्ताको तस्तै उतार्न खोजेका तिज गीत पनि अहिलेसम्म पनि चर्चित छन् । रेसम सापकोटाको शब्द रहको देवी घर्ती र राधिका हमालको स्वर रहेको ‘पल्के भेना भाइ’ अत्यधिक रुचाइएको गीत हो । त्यसैले त गीत सार्वजनिक भएको लामो समयसम्म अर्थात् वर्षौंसम्म पनि यो गीत तिज नजिकिएसँगै गुञ्जिहाल्छ । राष्ट्रिय सभा सदस्यसमेत रहनुभएकी गायिका कोमल वलीले धेरै समयअगाडि ‘पोइला जान पाम’ बोलको गीत सबैले गुनगुनाउने गीत बन्यो । त्यही गीतका कारण वली अहिलेसम्म पनि चर्चामा रहिन् र त्यसपछि बजारमा ल्याएका अन्य गीत पनि चल्न थाले ।
यसरी पहिलाका तिज गीत सदाबहार गुञ्जने र लोकप्रिय भए भन्दै गर्दा पछिल्लो समय नयाँ कलाकारले बजारमा ल्याएका गीत लोकप्रिय भएन भन्न खोजेको भने हैन तर लोकप्रिय हुने र चर्चा कमाउने नाममा तिजका गीतमा विकृति ल्याउनु भने कदापि राम्रो होइन । पछिल्ला तिजमा मौलिकता हराउन थालेको भने पक्कै हो । पुराना गीत जस्तै हाल सार्वजनिक केही गीतले अहिले पनि मौलिकता र तिज भाकालाई संरक्षण गरिराखेको भए पनि केही कलाकारले भाइरल बन्नकै लागि देखावटी र लोकप्रिय हुने बहानामा विकृति बढेको भने पक्कै पनि हो । त्यसैले आमदर्शक श्रोताले पनि तिजका गीतमा वास्तविक मौलिकता, भाका र मन छुने शब्दको प्रयोग गरेका सिर्जनालाई प्रोत्साहन गर्ने र सर्जकले पनि त्यसै अनुरूप आफ्ना सिर्जना अगाडि बढाउने हो भने तिजका गीतको मौलिकता कायमै रहला । यदि यसो हुन नसकेको खण्डमा यही अनुसार तिजका गीतमा विकृति बढ्दै जाने हो भने हाम्रो मौलिकता, भाका र शैली हराएर जाने निश्चित छ ।