काठमाडौँ लगन गोफलटोलमा जन्मिनुभएका चित्रकार हरिप्रसाद शर्मा ८७ वर्षको हुनुभयो । इतिहासका घटना, पात्र र परिवेशलाई चित्रकलामा उतार्नुहुने शर्माले पृथ्वीनारायण शाहको कान्तिपुरमाथिको आक्रमण, सम्राट् अशोकको लुम्बिनी तीर्थयात्रा, अरनिकोको चीन प्रस्थानको क्षण, रानीपोखरी उद्घाटनको दृश्यलगायत दर्जनौँ ऐतिहासिक घटनालाई क्यानभासमा उतार्नुभएको छ । प्रस्तुत छ, चित्रकारिताको विषयमा केन्द्रित रहेर कलाकार शर्मासँग गोरखापत्र समाचारदाता सुकृत नेपालले गर्नुभएको कुराकानी :
कसरी बित्दै छ दिन ?
म ८७ वर्षको भएँ । आफ्नो हराएका इतिहास संस्कृतिलाई देशका लागि अझ पनि भ्याएसम्म जगेर्ना गर्नु पर्छ भन्ने सोच छ । धेरैलाई देशको इतिहासको बारेमा खासै थाहा छैन । त्यसैले पनि मैले आफ्नो देशका लागि अझ पनि केही गर्न सक्छु कि भनेर चित्रमार्फत यसलाई जोगाइराख्ने प्रयास गरिरहेको छु । अहिले यस्ता खालका चित्र विरलै बन्छन् । इतिहास र इतिहासका पात्रलाई कसरी जीवन्त बनाउने भन्ने सोचले सात/आठ वर्षको उमेरदेखि नै म यसमा लागिपरेको हुँ । यसै विषयमा ०५८ सालमा मेरो एउटा पुस्तक पनि प्रकाशित भएको थियो ।
ऊ बेला र अहिलेको कलामा कस्तो परिवर्तन देख्नुहुन्छ ?
अहिले चित्रकलामा धेरै प्रगति भएको छ । नयाँ पुस्ताले चित्रकलालाई निरन्तरता दिइरहनुभएको छ । आफ्नो इतिहास र संस्कृति जोगाउने कार्यमा लाग्नुभएको छ । कहिलेकाहीँ उहाँहरूको प्रदर्शनीमा जान्छु । चित्रकलामा धेरै विकास भएको र युवा पुस्तामा जागरुकता आएको छ ।
तपाईंले बनाउनुभएको पहिलो चित्र कुन थियो ? पहिलो चित्र कोर्दा कस्तो अनुभूति हुँदोरहेछ ?
मैले आठ/नौ वर्षको उमेरदेखि नै चित्र बनाउन थालेको हुँ । मेरा पिताजीले यो काम नगर भनेर भन्ने गर्नुहुन्थ्यो । मैले धेरै चित्र बनाएको थिएँ । अहिले मसँग एक/दुई वटा मात्र पुराना चित्र छन् । म राणाकहाँ धेरै पुगेको छु । बुवालाई राणाहरू खुसी भएर कोट नै उपहार दिने गर्थे । बुवाले राणालाई पनि मेरो छोरो राम्रो चित्र बनाउँछ भनेर भन्नुभएको थियो । मैले बनाएको नाग, लक्ष्मी भनेपछि सबैले प्रशंसा गर्थे । त्यही बेला मैले बनाएको चित्रलाई पाँच/दस पैसा दिन्थे । त्यही पैसाले सिसाकलम किन्ने गर्थे ।
तपाईंले बनाउनुभएको कोतपर्व र पृथ्वीनाराण शाहको चित्रले के इङ्गित गर्छ ?
यी दुवै चित्र बनाउँदा पृथ्वीनारायण शाहको सम्झना पनि भयो । यो राणा जङ्गबहादुरको पनि बीभत्स हत्याकाण्ड हो । अकस्मात भएको र इतिहासमा पनि पढेको छु । कोत हत्याकाण्ड कस्तो भयो होला ? चतुर्दशीको रातको बखत कस्तो भयो होला भन्ने सोचले यसको एउटा चित्र कोर्नै पर्छ भनेर कोरेको हुँ । यसले इतिहासका विद्यार्थीलाई ठुलो काम दिन्छ । किताब पढ्छन् बिर्सन सक्छन् तर भिजन कहिले पनि बिर्संदैन । भिजन भन्ने कुरा एकचोटि देखेपछि जिन्दगीभर छाप परिरहन्छ । कोत बनाउँदा पनि घर थिएन र घर कहाँ पाइएला भनेर खोज्दै हिँड्दा केशर महलको केशर लाइब्रेरीमा पाइयो अनि त्यसपछि म चित्रको सिर्जना गर्न कल्पनामा डुब्न थालेँ । कस्तो थियो होला त त्यो बीभत्स हत्याकाण्ड । भारदार कस्ता थिए ? कस्ता लुगा लगाउँथे होला । जङ्गबहादुरले कस्तो लुगा लगाए होला । यो कल्पना गर्न नै बर्सौं दिन लाग्छ । चित्र बनाउनेभन्दा पनि पहिला ठाउँ, मान्छे यथार्थ हुनुप¥यो । त्यो घटना कसरी भयो र त्यसमा फौजहरू कसरी जम्मा भए । एक एक कुरा मनमा झलल ल्याउनु पर्छ ।
तपाईं इतिहास र नेवार समुदायको विषयमा मात्र चित्र कोर्नुहुन्छ, अन्यमा रुचि लागेन ?
इतिहासले र संस्कृतिले मलाई धेरै नै आकर्षित बनाएको हुनाले पनि मेरो रुचि यसैमा मात्र लागेको हो । म आफू बसेको घरबाटै इतिहास लाग्थ्यो । कहिले खड्ग जात्रा त कहिले इन्द्रजात्रा अनि गठेमङ्गल । हरेक चाडपर्व मेरै घरबाट जाने भएको हुनाले पनि मलाई इतिहासले खिचेको हो । अझ गाईजात्रा जुन अद्भुत नै हुन्थ्यो । इतिहासको किताब पढ्दै गएको हुनाले पनि मलाई नेपालको इतिहास अद्भुत लागेको हो ।