• २७ पुस २०८१, शनिबार

नगरप्रमुखको कार्यशैली अपारदर्शी भएको आरोप

blog

सुनसरी समाचारदाता

इटहरी, भदौ २१ गते । इटहरी उपमहानगरपालिकाका नगरप्रमुख हेमकर्ण पौडेलको कार्यशैली पारदर्शी नभएको र आर्थिक अनियमितता र नीतिगत भ्रष्टाचार बढेको भन्दै विभिन्न पाँच राजनीतिक दल आन्दोलित बनेका छन् ।

इटहरीमा विभिन्न राजनीतिक दलले पत्रकार सम्मेलन गरी प्रदेश र प्रतिनिधि सभामा समेत इटहरी उपमहानगरपालिकामा भएको अनियमितता र आर्थिक घोटालाको सन्दर्भ उठेको भन्दै दुई साताभित्र सार्वजनिक सुनुवाइमार्फत जवाफ दिन माग गरेका छन् ।

इटहरीमा विकासको नाममा शिक्षा, स्वास्थ्य, यातायातलगायतका विषयमा नगरप्रमुख पौडेलले मनोमानी र अपारदर्शी किसिमले खर्च गर्दै उपमहानगरपालिकालाई आर्थिक हिसाबले धराशायी बनाएको दलहरूको आरोप छ ।

पत्रकार सम्मेलनमा सहभागी नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी र नागरिक मुक्ति पार्टीका नगर अध्यक्ष तथा अन्य पदाधिकारीले इटहरी उपमहानगरपालिकाले अपारदर्शी र मनोमानी ढङ्गले अनावश्यक कर्मचारी नियुक्ति गरेको र विगत तीन महिनादेखि कर्मचारीले तलब नपाएको विषयमा पनि नगरप्रमुख पौडेलको चर्को आलोचना गरेका छन् । 

त्यस्तै उपमहानगरपालिकाले विद्युतीय बस खरिद र अस्पतालको सिटी स्क्यान मेसिन खरिद प्रव्रिmयाका व्रmममा आर्थिक घोटाला र नीतिगत भ्रष्टाचार गरेको उल्लेख गर्दै सो विषयमा उठेका सवालको नगरप्रमुखले सार्वजनिक सुनवाइमार्फत जवाफ दिनुपर्ने दलहरूको माग छ । 

इटहरी–१४ मा रहेको शान्ति सिर्जना विद्यालयमा शिक्षक तलबको नाममा ८० लाखभन्दा बढी भुक्तानी गरेको विषयदेखि अनावश्यक निर्माणसम्बन्धी मेसिनरी सामान खरिदमा अनियमितता भएको दलहरूको विज्ञप्तिमा उल्लेख छ । शिक्षा र स्वास्थ्यमा नीतिगत भ्रष्टाचार भएको, आर्थिक सहयोगको नाममा कार्यविधि मिची तोक आदेशमा मनपरी भुक्तानी गरिएको, तोक आदेशको भरमा योजना सञ्चालन गरिएको र नगर प्रहरीलगायत कर्मचारीको दुरुपयोग भएको नेकपा एमाले इटहरी नगर अध्यक्ष रुपेश बस्नेतले जानकारी दिनुभयो । 

त्यसै गरी गत आर्थिक वर्षको आर्थिक दायित्व भुक्तानी गर्नुपर्ने बाँकी रहेको सञ्चार माध्यमलाई विज्ञापनको नाममा दिइएको अपारदर्शी रकमका सम्बन्धलगायतका विषयमा तत्काल सार्वजनिक सुनुवाइ गरेर जवाफ दिन दलहरूले माग गरेका छन् । 

पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा नेकपा एमाले इटहरी अध्यक्ष रुपेश बस्नेत, रास्वपा सभापति विष्णु बस्नेत, राप्रपा अध्यक्ष आकाश सुब्बा, नेकपा एकीकृत समाजवादी संयोजक गौरीमान परियार र नागरिक मुक्ति पार्टीका अध्यक्ष शेषकराम थान्दारले हस्ताक्षर गर्नुभएको थियो ।