हुँदाखाने र हुनेखाने सबैले आआफ्नो गच्छे अनुसार चाडपर्व मनाउनु पर्छ । चाडपर्व मनाउनुको खास उद्देश्य भनेको सबैसँग भेटघाट गर्नु, मिठोमसिनो खानु र घरबाहिर भएका सन्तान आफ्ना अभिभावक भएको ठाउँमा केही समयका लागि भए पनि आऊन् भन्ने हो । हाम्रा ठुला चाडबाड बर्खापछि मनाइन्छ, जसबाट खेतिपाती गर्दा थकित शरीरले आराम, मनोरञ्जन र पोषण पाओस् भन्ने पनि हो । फलस्वरूप मानिसमा नयाँ जोश, जाँगर र ऊर्जा सञ्चार हुन्छ । आफूले मान्ने विभिन्न चाडपर्व, रीतिथिति, परम्परा आदिलाई निश्चित नीति नियम अनुसार सौहार्दपूर्ण वातावरणमा मनाउनु नै संस्कृति हो । संस्कृति नै हाम्रो पहिचान हो । पहिलेपहिले प्रत्येक चाड सौहार्दपूर्वक मनाइने गरिन्थ्यो । तडकभडक, प्रतिस्पर्धा र देखावटीको कुनै छनक पाइँदैनथ्यो । हिजोआज भने अनावश्यक तडकभडक, देखासिकी र प्रतिस्पर्धा मौलाउँदै जान थालेको छ, जुन विकृति हो र यस्तो हुनु वास्तवमा राम्रो होइन ।
समय परिवर्तन सँगसँगै मानवीय क्रियाकलापमा पनि परिवर्तन आउनु पर्छ, जुन समयको माग पनि हो तर मौलिकतामा विकृति ल्याउनुलाई सही परिवर्तन भन्न सकिँदैन । चाडपर्व मनाउने तरिका पनि सही हुनु पर्छ । मानिसले राम्रो कार्यको अनुशरण गर्नु पर्छ भने अरूका नराम्रा कार्यबाट राम्रो पाठ सिक्नु पर्छ, जसलाई परिवर्तनको संज्ञा दिन सकिन्छ । वर्तमान समयमा आएर अनावश्यक प्रतिस्पर्धा यति तीव्र गतिले बढिरहेको छ, जसका कारण आज कतिपय मानिसको घरबारै तहसनहस बन्न पुगेका कैयन् उदाहरण पाइन्छन् ।
हिन्दु नारीको महान् पर्व तिजको सन्दर्भको चर्चा गर्नुपर्दा यसले निकै भड्किलो रूप लिएर आउन थालेको दुई दशक बित्न लागिसक्यो । हिमालयकी पुत्री पार्वतीले शिवलाई पति पाऊँ भनी निराहार व्रत बसेको हरितालिका पर्वको दिनमा नारीलाई व्रत बस्न सहज होस् भन्ने हेतुले तिजको अघिल्लो दिन अरू दिनभन्दा गरिष्ठ भोजन गर्ने चलन छ, जसमा विभिन्न परिकार जस्तै : घ्यु राखेको भात, विभिन्न तरकारी, अचार, खीर, मिठाइ आदि । तिजको ठिक अघिल्लो दिन खाने यस्ता विभिन्न परिकारलाई दर भनिन्छ तर अहिले आएर एक महिनाअघिदेखि घरमा धेरै महिला वर्गको उपस्थिति गराई दर खाने प्रचलन बढेको छ । आफ्नो हैसियत प्रदर्शन गर्ने एउटा ठुलो कार्यक्रम बनेको छ । प्रतिस्पर्धा गर्ने माध्यम भएको छ, जुन कुरा पटक्कै राम्रो होइन । नाचगान गर्नु पर्छ । भेटघाट र खानपिनमा पनि कन्जुस्याइँ गर्नुहुँदैन तर एउटा निश्चित सीमाभित्र रहेर । पहिले पनि गाउँघरमा जनैपूर्णिमापछि तिजसम्म बेलुका आमा, दिदीबहिनी मिलेर एक/दुई घण्टा नाचगान गर्थे, जसले तिज नजिकिएको सङ्केत गथ्र्यो । हातले ताली बजाएर विभिन्न मौलिक गीत गाई नाचगान गर्ने चलन थियो । दर खाने दिन भने अलि धेरै समय नाचगान गर्ने चलन थियो ।
अहिले विशेष गरी सहरमा बस्ने कतिपय फुर्सदिला पैसावाल दिदीबहिनीले यो पर्वको निहुँमा एक महिनाअघिदेखि नै पार्टी प्यालेसमा गएर दिनभर नाचगान गर्ने, दर खाने गर्छन् । कतिपयले भने आफ्नो घरमै नातेदारलाई बोलाई दर खुवाउने, दिनभर टोलै थर्किने गरी नाचगान गर्ने कार्यलाई निरन्तरता दिन थाले, जसले गर्दा आर्थिक अवस्था कमजोर हुनेलाई अप्ठ्यारो परिरहेको छ । आफन्तकहाँ गएर दर खाएपछि आफूले पनि बोलाउनुप¥यो, जसका निमित्त खानपिनलगायत गहना, कपडा तथा शृङ्गार पनि सुहाउँदो हुनुप¥यो । महँगीले आकाश छुन आँटेको छ । यस्ता संस्कार भित्र्याउँदा भोलि हाम्रो समाज कतातिर जाला ? एक पटक गहिरिएर सोच्नुपर्ने हो कि !
वास्तवमा हाम्रा धार्मिक र सांस्कृतिक चाडपर्व धेरै वैज्ञानिक र व्यावहारिक छन् । पहिलेपहिले बिहे गरेर कर्मघर गएका छोरीहरू बर्खाभरि खेतिपातीको काम गरेर धेरै कमजोर, थकित र दिक्दार भएका हुन्थे । तसर्थ तिजको निहुँले पाँच/सात दिन भए पनि माइत गएर आराम गरून्, मिठोमसिनो खाऊन्, सबैसँग भेटघाट गरी आआफ्ना सुखदुःखका कुरा गरी मन हलुङ्गो बनाऊन् साथै नाचगानले तनमनमा नयाँ उमङ्ग आओस् भनी तिजमा नाच्ने कार्यक्रम सुरुवात भएको हो । त्यति मात्र कहाँ हो र, दाजुभाइ तथा दिदीबहिनीबिच सानातिना कुराले सम्बन्धमा खटपट भएको रहेछ भने पनि तिजमा दाजुभाइ दिदीबहिनीको घरमा लिन गएपछि सम्बन्ध सुमधुर बन्छ । यस्तो पवित्र र महत्वपूर्ण चाड तिजलाई महिनौँसम्म मनाएर के अर्थ रहन्छ ? ३०/३५ दिनदेखि दर खाने चलन कसरी भित्रियो ? यो चलन क्रमशः विस्तार हुनुमा दोषी को ? हामी महिला वर्गै हौँ । किन यस्तो हुन गयो । अधिकारको सही तरिकाले उपयोग गर्नु वाञ्छनीय देखिन्छ ।
तिजमा नचाहिने विकृति बढ्नुमा के कस्ता कुराले प्रभाव पारेको छ । फुर्सद, धन, इज्जत, सोच, अहङ्कार, देखावटी, रहर र प्रतिस्पर्धाले । अर्थतन्त्रमा मन्दी छ, जसको प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव उद्योग, कलकारखाना तथा व्यक्तिलाई पर्नु स्वाभाविकै हो । देशका विभिन्न भागमा डेङ्गु तथा आँखासम्बन्धी रोगले मानिसलाई आक्रान्त पारेको छ । बाढीपहिरोले मानिस बिचल्लीमा परेका छन् । चाडबाड मनाउनु पर्छ । नाचगान गर्ने, मिठो खाने, राम्रो लगाउनेजस्ता कार्य मानिसले गर्न पाऊन् भनेरै चाडपर्व मनाउने चलन सुरुवात भएको हो तर प्रत्येक कुरामा विकृति भित्रिनाले यहाँ कतिपय मानिसलाई जबर्जस्ती व्यवहार गर्नु परेका उदाहरण पनि सुन्नमा आएका छन् । साथी, दिदीबहिनी र अन्य नातेदारसँग उस्तै भएर सहभागी हुन नसकेमा आफू आर्थिक रूपमा कमजोर देखिने डरले पनि कतिपय महिलालाई विभिन्न किसिमका दर खाने कार्यक्रममा सहभागी हुन जाँदैनन् । एक समूहले गरेका कार्यले अर्को समूह, परिवार र सिङ्गो समाजमा के कस्तो असर पार्छ भन्ने कुराको मनन गर्नुपर्ने बेला आएको छ । बेलैमा रोक्न नसके यो अतिवाद अझ झाँगिने छ, जसको नकारात्मक प्रभावले भोलिका दिनमा जटिल परिस्थिति सिर्जना हुने सम्भावना देखिन्छ ।
फेरि सामाजिक सञ्जालमा पनि दुई महिनाअघिदेखि तिजका गीत बज्छन्, जसले विकृति बढ्नमा मद्दत गरेजस्तो लाग्छ । जुन गीतमध्ये कतिपय गीत परिवारसँग बसेर हेर्न सकिँदैन । अब सरकारी पक्षबाट सामाजिक विकृति कम गर्न पाइला चाल्नुपर्ने देखिन्छ । नत्र भने हाम्रो समाजको हविगत जताततै विकृतिमय नहोला भन्न सकिँदैन ।