• २७ पुस २०८१, शनिबार

चेपाङ बालबालिकालाई तिजको दर

blog

चेपाङ बालबालिकालाई तिजको दर खुवाइँदै ।

वसन्त पराजुली

नारायणगढ, भदौ २० गते । नेपाल प्रेस युनियन चितवनले चेपाङ बालबालिकालाई तिजको दर खुवाएको छ । रत्ननगर नगरपालिकाको टिकौलीमा रहेको चेपाङ संरक्षण केन्द्र पुगेर युनियनले बिहीबार दर खुवाएको हो । 

केन्द्रमा १५० जना बालबालिका छन् । युनियनका अध्यक्ष अनिल ढकालले तिजको अवसरमा खाइने दर ‘लट्टे’ (अनदी जातको चामलमा भेली वा चिनी मिसाएर पकाइने एक प्रकारको खाना) खुवाएर चेपाङ बालबालिका त्यसमा पनि चेलीहरु माझमा तिज मनाइएको बताउनुभयो । 

उहाँले तिजको अघिल्लो दिन खाइने दर लट्टे चेपाङ समुदायका लागि नयाँ परिकार रहेको पनि बताउनुभयो । सो अवसरमा रत्ननगर नगरपालिकाका प्रमुख प्रल्हाद सापकोटाले नेपाली चाडपर्व, धर्म संस्कृतिका बारेमा बालबालिकालाई सचेत गराउनु महत्वपूर्ण भएको बताउनुभयो । 

कार्यक्रममा नगरपालिकाका उपप्रमुख यादव पाठक, पत्रकार सिन्धु ढकाल, शान्ता अधिकारी, प्रतिमा सिलवाल, प्रतिमा कुमाललगायतले दर खाने संस्कृतिका बारेमा चर्चा गर्नुभएको थियो । 

कार्यक्रममा केन्द्रका संरक्षक केपीकिरण शर्माले २०६५ सालबाट सञ्चालन गरिएको केन्द्रमा अहिलेसम्म लट्टे नै पकाएर दर नखुवाएको बताउनुभयो । यसले तिजको दरको संस्कृतिबारेमा समेत बालबालिकालाई शिक्षा दिएको पनि उहाँले बताउनुभयो ।