• २७ पुस २०८१, शनिबार

त्रिचालिस परिवारको त्रिपालमुनि बास

blog

नवराज श्रेष्ठ 

रामेछाप, भदौ २० गते  । रामेछापको दोरम्बा सैलुङ गाउँपालिका–१ का विभिन्न स्थानमा ४८ भन्दा बढी घरपरिवार पहिरोको जोखिममा परेका छन् । यही भदौ ८ गते रातिको अविरल वर्षापछि गएको पहिरोले सो वडाका विभिन्न बस्तीमा गरी ४८ घरपरिवार जोखिममा परेका हुन् । 

दोरम्बा सैलुङ गाउँपालिका–१ स्थित पात्लेमा तीन घर, मङ्सिरेमा छ घर, नागीमा दुई घर, मझुवा सल्लेटारस्थित थामी बस्तीमा ३२ घर, बालुवा थामी बस्तीमा तीन घर र थामी बस्तीमा दुई घरपरिवार जोखिममा रहेका दोरम्बा सैलुङ गाउँपालिका–१ का वडाध्यक्ष प्रेमकुमार लामाले बताउनुभयो । 

अहिले मझुवा सल्लेटारस्थित थामी बस्तीमा ३२ घर, पात्लेका तीन घर, मङ्सिरेका छ घर र नागीका दुई घर गरी ४३ घरपरिवारको त्रिपालमुनिको बास रहेको उहाँले बताउनुभयो ।  पहिरोका कारण धेरै परिवारको त्रिपालमुनिको बसाइ हुँदा पनि गाउँपालिका, जिल्ला विपत् व्यवस्थापन समितिलगायत सरोकारवाला निकाय बेखबर जस्तै रहेको वडाध्यक्ष लामाको गुनासो छ । 

उहाँले भन्नुभयो, “सबैको ध्यान जान मानवीय क्षति हुनुपर्ने रहेछ । यहाँ मान्छेको मृत्यु भएन तर घरहरू बस्नै नमिल्ने हुँदा सबै त्रिपालमुनि बसिरहेका छन् । केही घरका परिवार चिहानडाँडा, केही परिवार सडकमा र केही परिवार बारीका पाटामा त्रिपाल टाँगेर बसेका छन् । यसबारे जति भने पनि सरोकारवाला निकायको ध्यान गएन ।”

पहिरोले विस्थापित भएका घरका मानिसलाई गाउँपालिकाले उपलब्ध गराएको र गाउँमै सङ्कलन गरिएको केही त्रिपालमा बस्ने व्यवस्था गरिएको वडाध्यक्ष लामाले बताउनुभयो । जतिभन्दा पनि सरोकारवाला निकायले खासै वास्ता नगरेपछि अब चन्दा सङ्कलन गरेरै भए पनि अस्थायी टहरा निर्माण गर्ने भन्ने वडा कार्यालयले सोच बनाएको उहाँले बताउनुभयो । 

भदौ ८ गते रातिको वर्षापछि आएको पहिरोका कारण मझुवा सल्लेटारस्थित थामी बस्तीका ३२ परिवारको त्रिपालमुनिको बास भएको स्थानीय पीडित भीमबहादुर थामीले बताउनुभयो । यहाँका पहिरोपीडितको बिजोग हुँदा पनि पीडितको व्यवस्थापनका लागि गाउँपालिकालगायत सम्बन्धित निकायको खासै ध्यान नदिएको उहाँको गुनासो छ । उहाँले भन्नुभयो, “घर बस्नै नमिल्ने भएपछि हामी त्रिपालमुनि बसेका छौँ । यसरी डाँडा, बारी तथा सडकमा त्रिपाल टाँगेर कति समय बस्ने हो ? यसरी बस्दा झन् विभिन्न समस्या जोडिएर आउने रहेछन् । हाम्रो त बस्ती नै सार्नुपर्ने अवस्था छ । यसबारे कसैलाई चिन्ता छैन ।”

पहिरोपीडितको व्यवस्थापन र राहतमा गाउँपालिकालगायत सरोकारवाला निकायले खासै वास्ता नगरेको बताउनुहुन्छ मङ्सिरेका पहिरोपीडित सुमन थोकर । पहिरोका कारण आफ्नो गाउँमा छ घर जोखिममा परेकाले जोखिम रहेका घरका परिवार त्रिपाल टाँगेर बसिरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिरोले मङ्सिरेका छ घरपरिवारको बिजोग बनाएको छ । 

पीडितको व्यवस्थापन र राहतबारे जुन जुन निकाय बढी जिम्मेवार बन्नुपर्ने हो, त्यो देखिएन ।” पहिरोपीडितका अनुसार अहिलेसम्म दोरम्बा सैलुङ गाउँपालिकाले पीडितका लागि आठ बोरा चामल, दुई बोरा चिउरा र दुई बक्सा खाने तेल र केही थान त्रिपाल उपलब्ध गराएको छ । यस्तै रेडव्रmस रामेछापले केही ठाउँका पीडितलाई त्रिपाललगायतका केही राहत सामग्री उपलब्ध गराएको छ । 

दोरम्बा सैलुङ गाउँपालिका–१ का पहिरोपीडितलाई सामान्य राहत प्रदान गर्ने र अस्थायी बसोबासको व्यवस्थापन वडा तथा गाउँपालिकाले गरिरहेको भन्ने जानकारी रहेको रामेछापकी प्रमुख जिल्ला अधिकारी एवं जिल्लास्तरीय विपत् व्यवस्थापनकी संयोजक अनिता निरौलाले बताउनुभयो । 

उहाँले भन्नुभयो, “दोरम्बा सैलुङ गाउँपालिका–१, २ र ३ का विभिन्न बस्ती पहिरोको जोखिममा छन् भन्ने आएको छ । पहिरोको जोखिम देखिएका बस्तीको सम्बन्धमा विशेषज्ञसहितको अध्ययन टोली खटाई ती बस्तीको दीर्घकालीन व्यवस्थापनको सम्बन्धमा अध्ययन गर्न आवश्यक हुन्छ । यस कारण आवश्यक व्यवस्थापनका लागि राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई अनुरोध गरेका छौँ ।”