• २७ पुस २०८१, शनिबार

सिर्जनशील भएर सेवा प्रवाह गर्न आग्रह

blog

काठमाडौँ, भदौ २० गते । मुख्य सचिव एकनारायण अर्यालले सबै निजामती कर्मचारीलाई सिर्जनशील भएर सेवा प्रवाह गर्न आग्रह गर्नुभएको छ ।  

बुधबार गोरखापत्रसँग कुरा गर्दै उहाँले निजामती सेवाप्रति आमसेवाग्राही सन्तुष्ट हुन सकेका छैनन् भन्दै सेवाप्रति समय समयमा विभिन्न गुनासा आइरहेकाले सेवालाई विश्वसनीय र पारदर्शी बनाउनुपर्नेमा जोड दिनुभयो । 

अर्यालले  भन्नुभयो, “निजामती  कर्मचारीले सरकार र सेवाग्राहीको पुलका रूपमा काम गरिरहेकाले सेवाग्राहीको अपेक्षा अनुसार कर्मचारीले सेवा प्रवाह गर्नु पर्छ ।”  दरबन्दी अनुसार कर्मचारी व्यवस्थापन र सेवालाई प्रविधि र गुणस्तरीय बनाउँदै जाने सरकारको लक्ष्य रहेको उल्लेख गर्दै उहाँले सरकारको नीति, कार्यक्रम,  बजेटलाई  इमानदारी र सकारात्मक सोचका साथ परिणाममुखी बनाउनुको विकल्प नभएको बताउनुभयो ।  

यस वर्षदेखि सरकारले राम्रो काम गर्ने कर्मचारीलाई पुरस्कृत र गलत गर्ने कर्मचारीलाई दण्डित गर्ने गरी काम अगाडि बढाइरहेको चर्चा गर्दै मुख्य सचिव अर्यालले थप्नुभयो, “कर्मचारीले काम गरे पनि हुने, नगरे पनि हुने भन्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै कर्मचारीलाई  निरन्तर  सेवाप्रति उत्साहित गर्दै लगिने छ ।” प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिसँग सङ्घीय निजामती सेवा ऐन जारी गर्ने विषयमा परामर्श गरिएको भन्दै उहाँले निजामती सेवा विधेयकलाई छिट्टै संसद्बाट पास गरी ऐन जारी गर्ने वातावरण सिर्जना गर्न सबै राजनीतिक दलका प्रतिनिधिलाई आग्रह गर्नुभयो । बिहीबारदेखि नै संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा सङ्घीय निजामती सेवा ऐनका बारेमा  छलफलको कार्यक्रम तय भएको अर्यालले जानकारी दिनुभयो । सङ्घीय निजामती सेवा ऐन समयमा नै जारी हुन नसक्दा प्रशासनिक सङ्घीयतामा जटिलता देखिएको छ भन्दै मुख्य सचिव अर्यालले कर्मचारीलाई आफूले गर्नुपर्ने काम समयमा नै सम्पन्न गर्न आग्रह पनि गर्नुभयो ।