• २० असोज २०८१, आइतबार

विपत् जोखिम न्यूनीकरण र व्यवस्थापनमा उल्लेख्य सुधार

blog

सुर्खेतस्थित वीरेन्द्रनगर नगरपालिका । तस्बिर : ललित बसेल

ललित बसेल

सुर्खेत, भदौ १९ गते । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले विपत् जोखिम न्यूनीकरण र व्यवस्थामा उल्लेख्य सुधार गरेको पाइएको छ । विगत पाँच वर्षको अवधिमा नगरपालिकाले विपत् न्यूनीकरण र व्यवस्थापनमा सुधार गर्दै उत्तम श्रेणी हासिल गर्न सफल भएको हो । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन अनुक्रमणिका स्वमूल्याङ्कन नतिजा २०२४ मा वीरेन्द्रनगर नगरपालिकाले १६० अङ्कभारमा १५१ अङ्क अर्थात् ९४ प्रतिशत नतिजा प्राप्त गरी उत्तम श्रेणी हासिल गर्न सफल भएको छ । जबकि २०२० मा नगरपालिकाले केवल ६३ अङ्क प्राप्त गरेको थियो ।

वीरेन्द्रनगर नगरपालिकाका योजना शाखाका वरिष्ठ अधिकृत प्रकाश पौडेलले वीरेन्द्रनगर नगरपालिकाको अनुक्रमणिकाको स्वमूल्याङ्कन नतिजामा चार वर्ष यता उल्लेख्य सुधार हुँदै आएको जानकारी दिनुभयो । २०२० मा वीरेन्द्रनगरले ६३ अङ्क, २०२१ मा १०५ अङ्क, २०२२ मा १३१ अङ्क, २०२३ मा १४८ अङ्क प्राप्त गरेको थियो । अहिले अघिल्लो वर्षको भन्दा दुई अङ्क सुधार गरी ९४ प्रतिशत अर्थात् १५१ अङ्क प्राप्त गरी उत्तम श्रेणीमा पर्न सफल भएको उहाँले बताउनुभयो । 

मन्त्रालयले नगरपालिकाले वर्षभरि विपत् जोखिम न्यूनीकरण र व्यवस्थापनका क्षेत्रमा गरेका कामको मूल्याङ्कन गरी अङ्क दिने गर्दछ । जसमा वीरेन्द्रनगरले संस्थागत क्षमता अभिवृद्धिमा शतप्रतिशत, पारिस्थितिकीय प्रणालीको संरक्षण गरी तिनले गर्ने सुरक्षात्मक कार्यको अभिवृद्धिमा पनि शतप्रतिशत, सुरक्षित बस्ती र उत्थानशील सहरको अवलम्बनमा शतप्रतिशत, वर्तमान तथा भावी जोखिम परिदृश्यको पहिचान, बुझाइ तथा प्रयोगमा पनि शतप्रतिशत तथा आघातपछिको पुनर्लाभ तथा अझ सुरक्षित, राम्रो र बलियो निर्माणमा पनि शतप्रतिशत अङ्क प्राप्त गरेको छ । ती सबै गतिविधिहरूको नतिजाको स्वमूल्याङ्कनमा वीरेन्द्रनगर नगरपालिकाले ९४ प्रतिशत नतिजा प्राप्त गरी उत्तम श्रेणीमा पर्नुले विपत् जोखिमको न्यूनीकरण तथा व्यवस्थापनमा सुधार हुँदै गएको पाइएको योजना शाखाका वरिष्ठ अधिकृत पौडेलले बताउनुभयो । 

यसै गरी विपत् पूर्वतयारी तथा प्रभावकारी प्रतिकार्यमा ८२ प्रतिशत, पूर्वाधार उत्थानशीलतामा वृद्धिमा ९५ प्रतिशत, उत्थानशीलताका लागि सामाजिक क्षमता अभिवृद्धिमा ९३ प्रतिशत, विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन र उत्थानशीलताका लागि वित्तीय क्षमता अभिवृद्धिमा ९५ प्रतिशत अङ्क वीरेन्द्रनगरले हासिल गरेको छ । अनुक्रमणिकाले नगरपालिकाको सम्बन्धित विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्ययोजना कार्यान्वयन गर्दाको प्रगति र चुनौतीको अनुगमन तथा समीक्षा गर्न, विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्रणाली र क्षमतामा नगरपालिकाका सबल पक्ष पत्ता लगाउन सहयोग पुग्ने छ । यस्तै विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्रणाली र क्षमतामा रहेका कमीकमजोरी पहिचान गर्न, पहिचान गरिएका कमजोरीमा आधारित रहँदै सोको सम्बोधन गर्न कार्ययोजना निर्माण गर्न, नगरपालिका तहका योजना तथा कार्यक्रममा यी अनुक्रमणिकालाई आत्मसात् गर्दै स्वमूल्याङ्कन प्रणालीलाई निरन्तरता दिन सहयोग पुग्ने उहाँको भनाइ छ । 

यता नगरपालिकाले उत्तम श्रेणीमा ल्याएपछि नगरप्रमुख मोहनमाया ढकालले विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा सबैको सहयोगले उल्लेख्य सुधार गर्न सफल भएको बताउनुभयो । उहाँले आगामी वर्ष उपलब्धिमा अझ सुधार गर्नेतर्फ अग्रसर रहने प्रतिबद्धता व्यक्त गर्दै गर्नुपर्ने काम अझै बाँकी रहेको जनाउनुभयो । 

९५ जनालाई राहत

यसै गरी वीरेन्द्रनगर नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ मा नगरभित्र भएका विपत्का घटनाबाट प्रभावित ९५ जनालाई राहत वितरण गरेको छ । नगरपालिकाले ९५ जनालाई जनही पाँच हजार रुपियाँका दरले चार लाख ९० हजार रुपियाँ राहत प्रदान गरेको हो । नगरपालिकाका अनुसार आगलागीबाट ६८ जना, बाढीबाट ४४ जना, डुबानबाट दुई जना र महामारी तथा जङ्गली जनावरको आक्रमणमा एक/एक प्रभावित भएकालाई राहत रकम प्रदान गरिएको योजना शाखाका वरिष्ठ अधिकृत पौडेलले बताउनुभयो ।