बहालवाला तथा सेवानिवृत्त निजामती कर्मचारी र तिनको परिवारको स्वास्थ्योपचारसम्बन्धी व्यवस्था गर्न निजामती कर्मचारी अस्पतालको व्यवस्था गरिएको छ । काठमाडौँको मीनभवनमा रहेको यस अस्पतालबाट हाल निजामती कर्मचारी तथा तिनको परिवारलगायत सर्वसाधारण नेपाली नागरिकसमेतले स्वास्थ्य सुविधा प्राप्त गर्दै आएका छन् । नेपाली सेना तथा नेपाल प्रहरीको आफ्नो छुट्टै अस्पताल रहेको परिप्रेक्ष्यमा निजामती कर्मचारीको सुविधाका लागि समेत एक विशिष्ट अस्पतालको आवश्यकता महसुस गरियो । अनि नेपाल सरकाले अस्पतालको भौतिक पूर्वाधार निर्माणलगायत सहयोगका चीन सरकारलाई अनुरोध गरियो । चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा १३२ शय्या क्षमताको पूर्ण सुविधासम्पन्न अस्पताल १४ नोभेम्बर २००८ मा नेपाल सरकारलाई हस्तान्तरण भयो । यस अस्पतालले २९ मार्च २००९ बाट बहिरङ्ग सेवा सुरु गरेको थियो । अस्पतालमा अन्तरङ्ग सेवा, इमरजेन्सी सेवा र शल्यक्रिया सेवासमेत सञ्चालनमा रहेका छन् ।
स्वास्थ्य सेवा प्रदान गर्ने कार्य थालनी गरेको १५ वर्षको अवधिमा अस्पतालले धेरै व्यक्तिलाई थुप्रै प्रकारका स्वास्थ्य सुविधा उपलब्ध गराएको भए पनि अस्पताल स्वयंको स्वास्थ्य अवस्था भने स्थापनाकालको तुलनामा खस्कँदै गएको छ । अस्पताल सञ्चालन भएको सुरुको समयमा हरेक बिरामीले अनुभव गर्ने चुस्त, भरपर्दो, प्रभावकारी र सहज स्वास्थ्य सुविधा हाल कठिन र दुर्लभ बन्दै गएको छ । खासगरी निजामती कर्मचारी र तिनका परिवारले निजामती अस्पतालको सेवा र गुणस्तरका बारेमा गुनासो गर्न थालेका छन् । अस्पताल स्थापनाको मुख्य उद्देश्य र अपेक्षा हासिल हुन सकेको छैन । निजामती कर्मचारी यस अस्पतालको सेवाबाट अपेक्षित लाभान्वित हुन नसक्नु र गुनासो गर्ने अवस्थामा पुग्नुलाई विडम्बना नै मान्नु पर्दछ ।
नेपालका प्रायः सरकारी अस्पतालको सेवाको गुणस्तर सन्तोषजनक छैन, जसका कारण सर्वसाधारण नागरिक निजी अस्पताल तथा नर्सिङ होमको महँगो सेवा लिन विवश हुने गरेका छन् । स्वास्थ्योपचारका लागि भारत तथा अन्य मुलुकतर्फ जाने नेपालीको सङ्ख्यासमेत उल्लेख्य रहने गरेको छ । मुलुकभित्रको स्वास्थ्य सुविधा खासगरी सरकारी अस्पतालको गुणस्तर वृद्धि हुन नसक्दा दुर्लभ विदेशी मुद्रा बहिर्गमनको समस्या खडा भएको छ र गरिब तथा असहाय नागरिक अकालमा नै मृत्युवरण गर्नुपर्ने अवस्थाबाट गुज्रिरहेका छन् ।
स्वास्थ्य क्षेत्रमा भएको सरकारी लगानीको सही सदुपयोग हुन नसकेको र स्वास्थ्य बिमा कार्यक्रम अपेक्षाकृत प्रभावकारी हुन नसकिरहेको तर्फ सरोकारवालाको ध्यान जानु आवश्यक छ । स्वास्थ्य क्षेत्र पनि भ्रष्टाचारजन्य विकृतिबाट मुक्त छैन । यस क्षेत्रमा भइरहेका विकृतिको गहिरो अनुसन्धान गरिनु आवश्यक छ । जनताको जीवनसँग प्रत्यक्ष गाँसिएको संवेदनशील विषय भनेर स्वास्थ्य क्षेत्रमा भइरहेको गलत क्रियाकलापप्रति आँखा चिम्लिने प्रवृत्ति मौलाएको छ । मेडिकल उपकरण वा औषधी खरिदलगायतका नाममा हुने गरेका अनियमितता र फजुल खर्चको फेहरिस्त निकै लामो हुने अवस्था छ ।
महालेखा परीक्षकको ६१ औँ वार्षिक प्रतिवेदनमा उल्लेख भएको विवरण हेर्दा स्वास्थ्य मन्त्रालय र मातहतका १७ वटा निकायका नाममा आव २०७९/८० मा २० करोड २९ लाख ४९ हजार बेरुजु बाँकी देखिएको छ । यस मातहतका अन्य सङ्गठित संस्था र समितितर्फ तीन अर्ब ३८ करोड ९७ लाख ५९ हजार बेरुजु कायम भएको छ । महालेखा परीक्षकको प्रतिवेदनमा प्रयोगविहीन रूपमा थन्क्याइएका उपकरणको खरिद र अन्य अनियमितता समेतका बारेमा धेरै बुँदामा चर्चा गरिएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहत सञ्चालनमा रहेको निजामती कर्मचारी अस्पतालका बारेमा महालेखा परीक्षकको ६१ औँ वार्षिक प्रतिवेदनमा उल्लेख भए अनुसार आव २०७९/८० मा यस अस्पतालले जम्मा एक अर्ब ११ करोड ९७ लाख रुपियाँ आम्दानी गरेको थियो भने सोही अवधिमा अस्पतालको ८० करोड २० लाख खर्च भई ३१ करोड ७७ लाख बचत रहेको देखिन्छ । सो आवमा यस अस्पतालले २७,८९३ निजामती कर्मचारी तथा तिनका परिवार र दुई लाख ६१ हजार १४८ सर्वसाधारण गरी जम्मा दुई लाख ८९ हजार ४१ जनालाई बहिरङ्ग सेवा प्रदान गरेको थियो । यो तथ्याङ्कले यस अस्पतालप्रति निजामती कर्मचारी र तिनका परिवारभन्दा धेरै ठुलो मात्रामा सर्वसाधारण जनता आकर्षित हुने गरेको पुष्टि गर्दछ ।
महालेखा परीक्षकको प्रतिवेदनमा यस अस्पतालमा पाँच करोड ३७ लाख रुपियाँको विभिन्न मेसिन खरिद गरी प्रयोगविहीन अवस्थामा राखिएको र अक्सिजन प्लान्ट निष्क्रिय राखी ८२ लाख ४९ हजार रुपियाँको अक्सिजन खरिद गरिएको कुरालाई अनियमितताको उदाहरणका रूपमा प्रस्तुत गरिएको छ । अघिल्ला प्रतिवेदनबाट अस्पतालको मेडिकल तथा क्लिनिकल अडिटमा औँल्याइएका विषयमा समेत सुधार नभएको कुरा उल्लेख भएको छ । महालेखा परीक्षकको यस प्रतिवेदनबाट निजामती कर्मचारी अस्पतालसमेत अन्य सरकारी अस्पतालको जस्तै अनियमितता र बेथितिको चाङबाट थिचिन थालेको पुष्टि गर्दछ ।
निजामती कर्मचारी अस्पताल विकास समिति (गठन) आदेश, २०६४ को दफा ३ मा उल्लेख भएबमोजिम बहालवाला तथा सेवानिवृत्त निजामती कर्मचारी र तिनका परिवारको स्वास्थ्योपचारसम्बन्धी व्यवस्था गर्न नेपाल सरकारका मुख्य सचिवको अध्यक्षतामा सामान्य प्रशासन मन्त्रालयका सचिव, अर्थ मन्त्रालयका सचिव, कानुन मन्त्रालयका सचिव र स्वास्थ्य मन्त्रालयका सचिवसमेत सदस्य रहेको निजामती कर्मचारी अस्पताल विकास समिति गठन हुने व्यवस्था गरिएको छ । साथै सो दफामा चिकित्सा क्षेत्रमा कार्यरत वरिष्ठ चिकित्सकमध्येबाट नेपाल सरकारले मनोनीत गरेको एक जना चिकित्सक विकास समितिको सदस्य रहने र अस्पतालको कार्यकारी निर्देशक विकास समितिको सदस्यसचिव रहने उल्लेख गरिएको छ ।
अस्पताल विकास समिति गठन आदेशमा विकास समितिको एउटा छुट्टै कोष रहने र यस्तो कोषमा विभिन्न प्रकारका रकम जम्मा गरी अस्पतालको सेवासुविधाको विकास र विस्तारमा खर्च गर्न सकिने व्यवस्था रहेको छ । कानुनी व्यवस्था र लेखापरीक्षण प्रतिवेदनको मूल्याङ्कन गर्दा यो अस्पताल आर्थिक समस्याबाट गुज्रिएको भने देखिँदैन तर आर्थिक सदाचारिता र प्रभावकारिताको विषयचाहिँ अध्ययन गर्नुपर्ने देखिन्छ । अस्पतालमा उपलब्ध उपकरण, दक्ष जनशक्ति र स्रोतको सही परिचालन गरी सेवाप्रवाहलाई चुस्त बनाउनका लागि सम्बन्धित पदाधिकारी र अस्पताल प्रशासनको विशेष ध्यान जानु आवश्यक छ ।
निजामती अस्पतालबाट सेवा लिने सेवाग्राहीमध्ये सर्वसाधारण सेवाग्राहीबाट खासै गुनासो आएको पाइँदैन । पर्याप्त फराकिलो अस्पताल परिसर, आधुनिक यन्त्र उपकरण र प्रयोगशाला, अनुभवी चिकित्सक, बिरामी सुत्ने सुविधाजनक शय्या, सरल र सस्तो उपचारविधिको अवलम्बन तथा खुला वातावरणसमेतका कारण सर्वसाधारण सेवाग्राही यस अस्पतालको सेवामा गुनासो गर्नु आवश्यक ठान्दैनन् तर यहाँ विचारणीय कुरा के छ भने यो अस्पतालको खास लक्षित वर्ग अर्थात् निजामती कर्मचारी र तिनका परिवारबाट आफ्नो स्वास्थ्य समस्याका बारेमा अस्पतालले खास चासो नदेखाएको र अपेक्षाबमोजिम सहज सेवा प्राप्त गर्न नसकेको भन्ने गुनासो निरन्तर वृद्धि भइरहनुको कारण खोजी गर्नु आवश्यक छ ।
निजामती कर्मचारी अस्पताल मूलतः निजामती कर्मचारी र तिनका परिवारको स्वास्थ्यसम्बन्धी समस्या समाधानका लागि स्थापना गरिएको हो र यसले लक्षित वर्गप्रति उचित व्यवहार गर्नु पर्छ । नेपाली सेना र नेपाल प्रहरीका अस्पतालबाट ती निकायसँग आबद्ध जनशक्ति र तिनका परिवारले पाएसरहको विशिष्ट स्वास्थ्य सुविधा निजामती कर्मचारी र तिनका परिवारलाई यस अस्पतालबाट प्राप्त हुनु पर्दछ । यो नै अस्पताल स्थापनाको उद्देश्य पनि हो तर हालको व्यवहारले यस अस्पतालसँग निजामती कर्मचारीको विश्वास र भरोसा कमजोर हुन लागेको देखिन्छ । यस अवस्थामा तत्काल सुधार ल्याउनु जरुरी छ । अन्यथा अस्पताल स्थापनाको मुख्य उद्देश्य धुमिल हुँदै समस्त निजामती कर्मचारीले पीडित हुनुपर्नेतर्फ सरोकारवाला सचेत रहनुपर्ने आवश्यकता देखिएको छ ।