• २७ पुस २०८१, शनिबार

नबिल बैङ्कले अग्राधिकार सेयर जारी गर्ने

blog

काठमाडौँ, भदौ १९ गते । नबिल बैङ्कले पाँच अर्ब रुपियाँ बराबरको नबिल आठ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने भएको छ । बैङ्कको मङ्गलबार सम्पन्न विशेष साधारण सभाले यस्तो सेयर जारी गर्ने निर्णय गरेको हो । 

राष्ट्र बैङ्कले यस्तो सेयर जारी गर्ने अनुमति दिएसँगै पहिलो पटक नबिल बैङ्कले यो प्रकृतिको सेयर जारी गर्ने निर्णय गरेको हो । संस्थागत लगानीकर्ताले मात्र लगानी गर्न पाउने यस्तो सेयरधनीलाई वितरणयोग्य नाफाको आठ प्रतिशत रकम छुट्याएर बाँकी नाफा सर्वसाधारण सेयरधनीका लागि वितरण गर्न पाइन्छ । 

नबिल आठ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयरको मताधिकार नहुने भएकाले वर्तमान सेयरधनीको मताधिकारलाई असर गर्दैन ।  

नेपाल राष्ट्र बैङ्कबाट जारी निर्देशनका सर्त र व्यवस्थाबमोजिम नियामक निकायको स्वीकृतिमा पाँच अर्ब रुपियाँ बराबरको ‘नबिल आठ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ जारी गर्ने प्रस्ताव विशेष साधारण सभाले सर्वसम्मत रूपमा पारित गरेको बैङ्कले जनाएको छ ।  

नेपाली पुँजी बजारका लागि यो नयाँ उपकरण भएकाले नेपाल राष्ट्र बैङ्कले यससम्बन्धी व्यवस्था गरेपश्चात् नबिल बैङ्कले नै पहिलो पटक विशेष साधारण सभाबाट पारित गरेर जारी गर्न लागेको हो । सम्बन्धित नियामकीय निकायको अन्तिम स्वीकृतिपश्चात् कुनै संशोधन वा थप परिमार्जन आवश्यक भएमा सोसमेत गरी अग्राधिकार सेयर जारी हुने बैङ्कले जनाएको छ ।