• २७ पुस २०८१, शनिबार

सर्पले डसेर युवकको मृत्यु

blog

जनार्जन खत्री

सर्लाही, भदौ १८ गते । सर्लाहीको हरिवनमा विषालु सर्पले डसेर एक युवकको मृत्यु भएको छ । हरिवन नगरपालिका–८, चापिनीका ३५ वर्षीय सागर आले मगरको सर्पले डसेर मृत्यु भएको हो । 

आलेलाई सोमबार राति शौचालय जाँदा गोमन सर्पले डसेको थियो । उहाँलाई सर्पदंश उपचार केन्द्र नवलपुरमा उपचार सम्भव नभएपछि जनकपुरतर्फ लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको हो । आलेलाई सोमबार राति १ बजेतिर सर्पको डसेको थाहा पाएपछि उपचारका लागि नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा ल्याइएको थियो । 

गम्भीर अस्पतालमा ल्याइएका आलेलाई उपचार केन्द्रले भेन्टिलेटर र आइसियु सञ्चालनमा नरहेको भन्दै जनकपुर रेफर गरेको थियो । उपचार केन्द्रका इन्चार्ज जगर्नाथ यादवले बिरामीको शरीरभरि विष फैलिएपछि उपचारका लागि ल्याएकाले यहाँ उपचार सम्भव नभएको बताउनुभयो । 

आफूहरूले १० भाइल एन्टीस्नेक भेनम चलाएर जनकपुरतर्फ पठाउँदा बिरामीको बाटोमा नै मृत्यु भएको उहाँले बताउनुभयो । यादवले बिरामीलाई सुरुमा विषालु सर्पले डसेको भनी थाहा नभएकाले पनि उपचारका लागि ल्याउँदा ढिलो भएको पाइएको बताउनुभएको छ । 

उपचार केन्द्रमा ल्याएपछि स्वास्थ्यकर्मीले घाउको डोप हेरेर गोमन सर्पले डसेको भनी पहिचान गरेका थिए । नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा चलाउन जान्ने जनशक्ति नहुँदा केन्द्रको भेन्टिलेटर र आइसियु लामो समयदेखि थन्किएर बसेको छ ।