• २७ पुस २०८१, शनिबार

मुख्यमन्त्री पाण्डेद्वारा नवनिर्मित बागलुङ बसपार्क उद्घाटन

blog

बागलुङमा निर्माण भएको बसपार्कको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य

बागलुङ, भदौ १८ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नवनिर्मित बागलुङ बसपार्कको उद्घाटन गर्नुभएको छ । बागलुङ नगरपालिका ४ उपल्लाचौरको दाबगरामा तीन वर्षअघि निर्माण सम्पन्न भएको उक्त सुविधासम्पन्न बसपार्कको मुख्यमन्त्री पाण्डेले मंगलबार एक कार्यक्रमकाबिच उद्घाटन गर्नुभएको हो । 

२३ वर्षपछि बागलुङवासीको सपना पुरा भएको भन्दै खुसीयालीमा स्थानीयहरूले विभिन्न झाँकी र नृत्य प्रदर्शन समेत गरेका छन् । 

बागलुङ नगरपालिकाले निर्माण गरेको उक्त बसपार्क बनाउन निःशुल्क रूपमा जग्गा उपलब्ध गराउने जग्गादाताहरूलाई सहमति अनुसार फिर्ता गर्न र अन्य पूर्वाधारको निर्माणमा ढिलाइ भएका कारण बसपार्क सञ्चालनमा समय लागेको हो । 

बसपार्क सञ्चालनमा आएसँगै २३ वर्ष देखिको बागलुङवासीको सपना पूरा भएको बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले बताउनुभयो । नगरपालिकाले जग्गादाताहरूलाई जग्गा फिर्ताको प्रक्रिया अगाडी बढाउनुका साथै बसपार्कको पहुँचमार्ग विस्तार गरेर बसपार्क सञ्चालनमा ल्याइएको नगर प्रमुख श्रेष्ठले बताउनुभयो । 

बसपार्कमा सुविधा सम्पन्न टिकट कक्ष, टर्मिनल भवन, व्यापारिक भवन, भूमिगत ट्याक्सी तथा मोटरसाइकल पार्किङ र ग्यारेज निर्माण गरिएको छ । बसपार्क बनाउन नगरपालिकाले नगर विकास कोषबाट करिब ९ करोड ऋण प्राप्त गरेको नगरप्रमुख श्रेष्ठले बताउनुभयो । 

२०५८ सालमा बसपार्क निर्माणका लागि यहाँका ३५ घरपरिवारले ५२ रोपनी जग्गा निःशुल्क प्रदान गरेका थिए । बसपार्क निर्माणपछि पचास प्रतिशत जग्गा घडेरीका रूपमा पुन फिर्ता गर्नुपर्ने जग्गाधनीहरूसँग नगरपालिकाले सम्झौता गरिएको थियो । 

बसपार्क सञ्चालनमा आएपछि जग्गाधनीले छिटो जग्गा फिर्ता पाउने आशामा रहेको जग्गादाता तथा बसपार्क व्यवस्थापन समितिका अध्यक्ष सुवास राजभण्डारीले बताउनुभयो । जग्गा फिर्ता गर्न नक्सा तयार भइसकेको उहाँले बताउनुभयो । बसपार्क सञ्चालनमा आएसँगै उपल्लाचौरमा चहलपहल बढ्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । 

उद्घाटनका अवसरमा बागलुङ, म्याग्दी, पर्वत र मुस्ताङका जनप्रतिनिधिहरूको पनि सहभागिता रहेको छ ।