• २७ पुस २०८१, शनिबार

तम्घासमा कविता वाचन प्रतियोगिता

blog

रमेश विश्वकर्मा

गुल्मी, भदौ १८ गते । गुल्मीको तम्घासमा कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ । जिल्लाकै पुरानो पुस्तकालय तम्घासस्थित किरण पुस्तकालयद्वारा युवाकवि मोतीराम भट्टको १५९ औँ जन्मजयन्तीको अवसरमा आयोजित कविता वाचन प्रतियोगितामा १२ जना बाल कविहरू सहभागी हुनुभएको हो ।

कविता वाचनमा अप्रतियोगी छ जना कविहरूको समेत सहभागिता रहेको थियो । प्रतियोगितामा रेसुङ्गा बहुमुखी क्याम्पसका उपप्राध्यापक भुवन अर्याल र पूर्व उपप्राध्यापक विष्णुकान्त पन्थीसहितको दुई सदस्यीय मूल्याङ्कन समिति गठन गरिएको हो ।

मूल्याङ्कन समितिको सिफारिसमा प्रतियोगितामा सहभागी बाल कविहरूलाई प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कार प्रदान गरिएको किरण पुस्तकालयका अध्यक्ष शशी पन्थीले बताउनुभयो । वाचन भएका कविताहरू विशेषगरी बुवाआमासंग सम्बन्धित तथा समसामयिक विषयमा आधारित थिए ।

प्रथम हुनुभएका अर्जुन आवासीय माध्यमिक विद्यालयका छात्रा कृतिका दवाडीले एक हजार रुपियाँ नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गर्नुभयो । द्वितीय हुनुभएका  सोही विद्यालयका युवा झाँक्री मगरले सात सय रुपियाँ नगद र प्रमाणपत्र प्राप्त गर्नुभयो । तृतीय हुनुभएका रेसुङ्गा बहुमुखी क्याम्पसका छात्रा सम्झना गिरीले पाँच सय रुपियाँ नगद र प्रमाणपत्र प्राप्त गर्नुभयो ।

सान्त्वना हुनुभएका प्रतीक्षा श्रेष्ठ र विजया पन्थीले तीन/तीन सय रुपियाँ नगद र प्रमाणपत्र प्राप्त गर्नुभयो । पुरस्कार वितरण गुल्मी जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले गर्नुभयो ।