• २७ पुस २०८१, शनिबार

‘जानकी साहित्य पुरस्कार’ भण्डारीलाई

blog

रमेश विश्वकर्मा
गुल्मी, भदौ १८ गते ।
‘जानकी साहित्य पुरस्कार’ साहित्यकार ठाकुरप्रसाद शर्मा भण्डारीलाई प्रदान गरिएको छ । ‘जानकी प्रतिष्ठान’ द्वारा स्थापना गरिएको सो पुरस्कार मोती जयन्तीको अवसर पारेर किरण पुस्तकालय तम्घास गुल्मीले यस वर्ष साहित्यकार भण्डारीलाई प्रदान गरेको हो ।

लुम्बिनी प्रदेशका सांसद डिल्लीराज भुसालद्वारा नगद र सम्मान पत्रसहित साहित्यकार भण्डारीलाई ‘जानकी साहित्य पुरस्कार’ प्रदान गरिएको हो । निरन्तर साहित्यिक क्षेत्रमा कलम चलाउने स्रष्टालाई पुरस्कृत गर्ने परम्परा अनुसार उहाँलाई सो पुरस्कार प्रदान गरिएको किरण पुस्तकालयका अध्यक्ष शशी पन्थीले जानकारी दिनुभयो ।

पुरस्कृत हुनुभएका सत्यवती गाउँपालिका वडा नम्बर–५, जोहाङ्गका साहित्यकार भण्डारीका समालोचना, निबन्ध लगायतका विभिन्न २७ थान पुस्तक प्रकाशन भएका छन् । उहाँले विभिन्न समयमा समालोचना विविध विधाका पुरस्कार तथा सम्मान प्राप्त गरिसक्नु भएको छ । वि.सं.२०३३ सालमा रुरुक्षेत्र गाउँपालिका –४ बलेटक्सारमा जन्मनुभएकी जानकी ज्ञवाली साहित्य र मानवअधिकारको क्षेत्रमा काम गर्दागर्दै ३९ वर्षको उमेरमा असामयिक निधन भएको थियो ।

ज्ञवालीको निधनपछि उहाँका श्रीमान् शङ्करप्रसाद गौतमको अग्रसरतामा जानकीको स्मृतिमा किरण पुस्तकालय तम्घासमा २०७३ सालमा एक लाख ५१ हजार १५१ रुपियाँको अक्षयकोष स्थापना गरिएको हो । अहिले यस अक्षकोषमा रकम थप गरी दुई लाख रुपियाँ पु¥याइएको छ । यस अक्षयकोषको ब्याजबाट हरेक वर्ष ज्ञवालीको जन्मदिनको अवसर पारेर गुल्मी जिल्लामा जन्मेर साहित्य सिर्जना गर्ने वा गुल्मीलाई केन्द्रमा राखेर साहित्य सिर्जना गर्ने साहित्यकारहरुलाई प्रत्येक वर्ष किरण पुस्तकालयबाट पुरस्कार घोषणा गर्ने र मोतीराम भट्टको जन्म जयन्तीको अवसरमा किरण पुस्तकालयमार्फत पुरस्कार प्रदान गरिन्छ ।

यसभन्दा अगाडि सो पुरस्कार सूर्यबहादुर सेन वलीले २०७५ सालमा, भागिरथी श्रेष्ठले २०७६ सालमा र रामप्रसाद पन्तले २०७७ सालमा, नारद गौतमले २०७८ सालमा, रुद्र ज्ञवालीले २०७९ सालमा  र हरिप्रसाद भण्डारीले २०८० सालमा प्राप्त गरिसक्नुभएको छ । पुस्तकालयले २०७३ सालदेखि जानकी साहित्य पुरस्कार प्रदान गर्दै आएको छ ।