• १७ भदौ २०८१, सोमबार

संसदीय विशेष समितिले कृषि सहकारी प्रतिनिधिसँग छलफल गर्दै

blog

फाइल तस्विर

काठमाडौँ, भदौ १७ गते । प्रतिनिधिसभा, सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले आज कृषिसँग सम्बन्धित सहकारीका प्रतिनिधिहरुसँग छलफल सुरु गरेको छ । संसद्ले दिएको कार्यादेशअनुसार आज सिंहदरबारमा जारी छलफलमा सहकारीको रकम दुरुपयोग सम्बन्धमा छलफल सुरु गरेको हो । 

समितिले आइतबार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र महिला सहकारीका प्रतिनिधिसँग छलफल गरेको थियो । छलफलमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता, सचिव भरतमणि सुवेदीलगायत अधिकारीहरुको उपस्थिति थियो । समितिले देशभरका सबै स्थानीय तहसँग सहकारीसम्बन्धी विवरण माग गरेकोमा अहिलेसम्म नपाएको र समितिका अवधि पनि समाप्त हुन लागेकाले छिटो विवरण पठाउन सभापति सूर्यबहादुर थापाले अनुरोध गर्नुभएको थियो । 

मन्त्री गुप्ताले पाँच दिनभित्र सबै पालिकाबाट विवरण उपलब्ध गराउनेगरी सहजीकरण गर्ने प्रतिबद्धता जनाउनुभएको छ । समितिले आइतबार नै महिला सहकारीका प्रतिनिधिहरुसँग पनि सहकारी समस्या कसरी समाधान गर्ने ?, महिला सहकारीको वित्तीय अवस्था के छ ? लगायत विषयमा छलफल गरेको थियो । छलफलमा ३५ वटा सहकारीका अधिकारीहरुको उपस्थिति थियो । 

समितिले सरोकार भएका निकायसँग कागजात मगाएर, ती निकायका अधिकारीको भनाइ सुन्ने, बुझ्नेगरी अध्ययन गरिरहेको छ । समिति गठन भएको भदौ २३ गते तीन महिना पूरा हुँदैछ । समितिको अवधि तीन महिना तोकिएको छ । सहकारी पीडितले समितिको कामलाई सूक्ष्मतापूर्वक हेरिरहेका छन् । 

नेपाली कांग्रेसको लामो विरोधपछि संसदबाट जेठ २३ गते समस्या देखिएका सहकारीका विषयमा अध्ययन गर्न समिति गठन भएको थियो । 

समितिलाई समस्यामा परेका बचतकर्ताको रकमबारे अध्ययन गरी सिफारिस गर्ने, बचत फिर्ताको अवस्था कहाँ पुगेको छ, त्यसको अध्ययन गर्ने, रकम हिनामिना भएको भनिएका सहकारीबाट गोरखा मिडिया नेटवर्कमा रकम पठाउँदा कानुनबमोजिम प्रक्रिया पूरा गरी भए नभएको अध्ययन गर्नेलगायत जिम्मेवारी दिइएको छ ।

समितिले गोरखा मिडिया नेटवर्कमा आबद्ध अधिकारीहरुसँग पनि छलफल गरिसकेको छ । राजनीतिमा आउनुअघि नेटवर्कमा आबद्ध पूर्व गृहमन्त्री एवं सांसदसमेत रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग पनि समितिले छलफल गरिसकेको छ । रासस