• १७ भदौ २०८१, सोमबार

पाँच दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा

blog

अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा । तस्बिर : सडक डिभिजन

नेत्र शाही
जुम्ला,  भदौ १७ गते ।
अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण गत भदौ १२ गतेदेखि बन्द भएको सडक सञ्चालनमा आएको हो ।

सडक डिभिजन कार्यालय जुम्लाका अनुसार राजमार्गको दहीखोला र मालाचौरमा गएको पहिरोे पन्छ्याएपछि राजमार्ग खुलेको छ । डिभिजन प्रमुख चेतनकुमार मण्डलका अनुसार मालाचौरमा आइतबार साँझबाट सडक सञ्चालनमा आएको हो ।

डिभिजन प्रमुख मण्डलले सडक सञ्चालनमा आएपछि रोकिएका स्याउ तथा मालवाहक ट्रकहरु गन्तव्यतर्फ जान थालेका छन् ।
यही भदौ १२ गते अविरल वर्षाका कारण दही खोला, मालचौर यासमोड, मेअरखोला, गगने खोलासहितका दर्जनौँ स्थानमा पहिरो जाँदा सडक बन्द भएको थियो । पहिरोले सडक अवरुद्ध हँदा जुम्लाबाट सुर्खेत, नेपालगन्जका लागि पठाइएका स्याउका दर्जनौँ ट्रक, खाद्यान्न सामग्री साधन र यात्रुहरु अलपत्र परेका थिए ।

पाँच दिनसम्म सडक बन्द हुँदा कर्णाली राजमार्गमा झण्डै सात सय टन स्याउका ट्रक अलपत्र परेका थिए । जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले सात करोड सात लाख रुपियाँको स्याउ अलपत्र भएको विपत् बैठकमा जानकारी दिनुभयो ।