• २८ पुस २०८१, आइतबार

‘ज्येष्ठ नागरिकको सेवा सरकारको कर्तव्य’

blog

पोखरा समाचारदाता 

पोखरा, भदौ १७ गते । गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री विन्दुकुमार थापाले ज्येष्ठ नागरिकको सेवामा समर्पित हुनु सरकारको कर्तव्य भएको बताउनुभएको छ । जिल्ला प्रशासन कार्यालयले स्थापना गरेको ज्येष्ठ नागरिक विश्राम कक्ष एवं स्वास्थ्य सहायता केन्द्रको आइतबार उद्घाटन गर्दै मन्त्री थापाले ज्येष्ठ नागरिक अनुभवका खानी र समाजको ऐना भएको उल्लेख गर्नुभयो । 

जिल्ला प्रशासन कार्यालय कास्कीले ज्येष्ठ नागरिकलाई लक्षित गर्दै स्थापना गरेको स्वास्थ्य सहायत केन्द्र प्रभावकारी हुनेमा आफू विश्वस्त रहेको भन्दै मन्त्री थापाले बताउनुभयो । उहाँले गण्डकीको स्वास्थ्य मन्त्रालयले ज्येष्ठ नागरिकलाई स्टाफ नर्स, शय्या र निःशुल्क औषधी उपलब्ध गराएको जानकारीसमेत दिनुभयो । उहाँले प्रदेश सरकार ज्येष्ठ नागरिकमैत्री कानुन निर्माणमा सचेत भएको बताउनुभयो । 

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख भरतमणि पाण्डेले कार्यालयमा ज्येष्ठ नागरिकको भिड देखेर स्वास्थ्य सुरक्षा र सहजताका लागि सहायता केन्द्रको स्थापना गरिएको बताउनुभयो । ज्येष्ठ नागरिकलाई लाइन लाग्ने वातावरण नबनोस् भन्नेमा जिल्ला प्रशासन कार्यालय सचेत रहेको उहाँको भनाइ थियो । उहाँका अनुसार राष्ट्रिय परिचयपत्र लिन आएका ज्येष्ठ नागरिकको भिड हुन थालेपछि कार्यालयले विश्राम कक्षको व्यवस्था गरेको हो । जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख पाण्डेले प्रशासन कार्यालयले सेवाग्राहीलाई विश्राम कक्षमै पुगेर सेवा प्रवाह गर्ने पनि बताउनुभयो ।