• १७ भदौ २०८१, सोमबार

द्रुत गस्ती निरीक्षण टोली गठन

blog

काठमाडौँ, भदौ १७ गते । अर्थ मन्त्रालयले राजस्व चुहावट नियन्त्रणसम्बन्धी दुई वटा द्रुत गस्ती निरीक्षण टोली गठन गरेको छ । 

पहिलो टोली चितवनबाट पूर्व मेचीसम्म र दोस्रो टोली चितवनबाट पश्चिम महाकालीसम्मको क्षेत्रमा परिचालन हुने गरी मन्त्रालयले टोली गठन गरेको जनाएको छ । 

एउटा टोलीको नेतृत्व आन्तरिक राजस्व विभागका उपमहानिर्देशक र अर्को टोलीको नेतृत्व भन्सार विभागका उपमहानिर्देशकले गर्ने मन्त्रालयले जनाएको छ ।

अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईका अनुसार टोलीले कानुन अनुसार कर अधिकृत र भन्सार अधिकृतलाई प्राप्त अधिकार प्रयोग गर्ने छ । यसै गरी आवश्यकता अनुसार चुहावट नियन्त्रण गर्ने निकायसँग समन्वय गर्ने, सहयोग लिने, आन्तरिक राजस्व कार्याय र भन्सार कार्यालयको सहयोग लिने छ ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको एक सय दिनको कार्य योजनामा राजस्व चुहावट नियन्त्रणसम्बन्धी द्रुत गस्ती निरीक्षण टोली गठन गर्ने उल्लेख थियो । यसै गरी केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकले पनि यस्तो टोली गठन गर्ने निर्णय गरेको थियो ।