• १७ भदौ २०८१, सोमबार

इन्दुशङ्करको चिनी गोदाम सिलबन्दी

blog

काठमाडौँ, भदौ १७ गते । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले इन्दुशङ्कर चिनी उद्योगको चिनी गोदामलाई सिलबन्दी गरेको छ । विभागको अनुगमन टोलीले सो उद्योगको अनुगमन गर्ने क्रममा चिनीका बोरामा फरक फरक अधिकतम खुद्रा मूल्य लेखेको देखिएपछि चिनी उद्योगको चिनी गोदामलाई सिलबन्दी गरेको हो ।

 विभागका निर्देशक राकेश पाण्डेले सो चिनी उद्योगको गोदाम अनुगमन गर्ने क्रममा राज हंस ब्रान्डको एक लाख २० हजार केजी चिनीमा दुई थरी मूल्य तोकेको पाइएकाले गोदाम सिल गरेर सोधपुछ गर्ने काम भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार एउटै ब्रान्डको चिनीका बोराको एमआरपी एकथरी बोरा प्रतिकेजी पाँच हजार ७५० रुपियाँ र एक थरी छ हजार रुपियाँ तोकिएको पाइएको छ । 

पछिल्ला केही दिनयता नेपाली बजारमा चिनीको भाउ बढेको भन्ने गुनासो धेरै आएपछि विभागले चिनी उद्योगका गोदाममा अनुगमन सुरु गरेको विभागले जनाएको छ । इन्दुशङ्कर चिनी उद्योगको गतिविधि हेर्दा पनि भारतले चिनी निर्यातमा कडाइ गरेर भन्दा पनि चिनी उद्योगीले आफूखुसी मूल्य तोकेर बजारमा पठाएर समस्या आएको स्पष्ट हुन्छ । यस्ता उद्योगीलाई उपभोक्ता संरक्षण ऐन २०७५ र नियमावली २०७६ अनुसार हदैसम्म कारबाही गरिने विभागका निर्देशक पाण्डेले जानकारी दिनुभयो । कानुन अनुसार उक्त उद्योगले स्पष्ट कारण दिन नसकेमा तीन लाख रुपियाँ जरिबाना गर्न सकिने व्यवस्था छ । यस्तै प्रकारको गल्ती पुनः दोहोरिएमा उद्योग नै खारेजी गर्न सक्नेसमेत कानुनी व्यवस्था छ ।