• १७ भदौ २०८१, सोमबार

सङ्कटमा चौँरीपालन

blog

जुगल गाउँपालिका–३, तेम्बाथान र हेलम्बु गापा नेखर्क छयादीका चौँरी तथा याक ।

चित्र मिजार 

सिन्धुपाल्चोक, भदौ १७ गते  । सिन्धुपाल्चोकमा चौँरी तथा याकपालन पेसा सङ्कटमा पर्न थालेको छ । चरन क्षेत्रको अभाव र नयाँ पुस्ताको रोजाइमा नपरेका कारण चौँरीपालन पेसा सङ्कटमा परेको हो । 

जुगल गाउँपालिका–३, तेम्बाथान, दिपु, तेगा, बाह्रबिसे नगरपालिका–३ को शीरभेग धार्पाखानी, बालुवा, शमशेरडाँडा, हेलम्बु गापाको माथिल्लो भेग नेखर्क छयादी र पाँचपोखरी थाङपाल गापाको हिमाली क्षेत्रमा चौँरी तथा याकपालन हुँदै आएको छ । सिन्धुपाल्चोकभर मुस्किलले ३१ जना किसान चौँरीपालन पेसामा रहेका छन् ।

पछिल्लो समय उक्त पेसामा युवापुस्ताको रुचि नहुँदा चौँरीपालन व्यवसाय नै सङ्कटमा परेको हो । आवश्यक परेका बेला पैसा नहुने, चरन क्षेत्र नहुने र चौँरीपालनले आधारभूत आवश्यकता पनि पूरा नहुने भएपछि युवापुस्ताको रोजाइमा चौँरीपालन पेसा नपरेको जुगल गाउँपालिका–३, तेक्बाथान स्पाबल चौँरीखर्कका किसान नोर्साङ शेर्पाले बताउनुभयो । 

पछिल्लो समयममा चौँरीपालन पेसा पाका र अनुभवी चौँरीपालक किसानले समेत चौँरीपालन पेसा छाडेर विस्थापित भएका छन् । बाह्रबिसे नगरपालिका–३ शीरभेगमा चौँरीपालन गर्दै आउनुभएका ५५ वर्षीय चक्र रुम्बाले चौँरीपालन छोडर राजधानी विस्थापित हुनुभएको छ । वर्ष दिनमा नौ महिना लेक क्षेत्रमा नै हुनुपर्ने, विभिन्न रोग र महामारीले चौँरी तथा याक मर्ने हुँदा त्यसको बिमा नभएका कारणले घाटा बेहोर्नु परेकाले उक्त पेसा छाडेको रुम्बाले जानकारी दिनुभयो ।

चौँरीगोठ र खर्कमै जन्मेर हुर्केबढेका युवापुस्ताले बाआमालाई चौँरीपालनमा सघाए पनि उमेर पुगेपछि वैदेशिक रोजगारीमा जाने गरेका छन् । लेक क्षेत्रको जीवनयापनमा अति कठिनाइ भोग्नुपर्ने, चौँरीखर्कमा उत्पादन गरेका चौँरीका दुध, चिज, मक्खन, छुर्पी र घिउ सडक बाटोको पहुँच नहुँदा बजारसम्म पु¥याउन समस्यालगायतका कारणले युवापुस्ता चौँरीपालनमा नलागेर वैदेशिक रोजगारीमा गएका छन् । अहिले चौँरीखर्कमा ५५ देखि ८० वर्षसम्मका मानिसले चौँरीपालन गरिरहेका छन् । बिस्तारै उनीहरूले पनि चौँरीपालनका काम छाड्न थालेका छन् ।

स्थानीय र सङ्घ सरकारले चौँरी तथा याकलाई औषधोपचार र बिमाको व्यवस्था, चौँरी खरिदमा सहुलियत, चौँरीको दुधजन्य परिकारको सहज बजारीकरणको व्यवस्था गरेमा युवापुस्तालाई उक्त पेसामा आबद्ध गराउन सकिने रुम्बाले जानकारी दिनुभयो । चौँरी तथा याक संरक्षण गर्न हेलम्बु गाउँपालिका, जुगल गापालगायतले केही वर्षअघि चौँरीको बिमा गराउने व्यवस्था गरेको थियो ।