• १६ भदौ २०८१, आइतबार

फेरिँदै तिज मनाउने शैली

blog

मध्यविन्दु (नवलपरासी), भदौ १५ गते । बर्दघाट सुस्तापूर्वको कावासोती नगरपालिका–३ की ६५ वर्षीया गङ्गादेवी पाण्डे तिजको समयमा गाइने पुराना गीत अझै पनि गुनगुनाउनुहुन्छ । पहिलेपहिले दिदीबहिनी माइतीघरको पिँढीमा जम्मा भएर गाउने गीत उहाँको मानसपटलमा अझै ताजै छ । तर हिजोआज यस्तो गीत गाउन साथी भेट्नै मुस्किल पर्ने उहाँले बताउनुभयो ।

“अहिले वेदनाका गीत गाउन खोजे पनि साथी भेटिँदैनन्, तिजका नाचगान अहिले पाटीप्यालेस र होटलमा हुन थालेका छन्”, उहाँले भन्नुभयो, “कसलाई रङ्ग पुराना तिजको भाकामा, मलाई त यो संस्कार नै हराउने हो कि भन्ने पिर लाग्छ ।”

नेपाली नारीहरूले तिज पर्वलाई महान् चाडका रूपमा लिने गरेका छन् । तिजको अर्को विशेषता नारी वेदना समेटेर गाइने मौलिक गीतलाई पनि लिने गरिन्छ । पहिलेपहिले तिज आएसँगै गाउँघरका दिदीबहिनी एक ठाउँमा बसेर दुःख, वेदनाका गीत गाउने परम्परा रहिआएको थियो । तर पछिल्लो समय यस्तो चलन कम हुँदै गएको छ ।

तिज नजिकिँदै गर्दा पहिलेपहिले गाउँघर, चौतारामा महिला दिदीबहिनी दुःखसुखका गीत गाउँदै रमाउने गर्थे । आधुनिकतासँगै यो संस्कार पनि हराउन थालेको छ । यसका कारण आजभोलिको तिज खल्लो लाग्ने गरेको कावासोती नगरपालिका–१५ की यानुमाया अधिकारीले बताउनुभयो । साँझ परेपछि पालैपालो छिमेकीको घरमा जम्मा भएर गीत गाउने गरेको सम्झना यानुमायालाई अस्ति भर्खरजस्तै लाग्छ । तर हिजोआज यस्तो रमाइलो नपाउने गरेको उहाँको गुनासो छ ।

“गीतलाई आधुनिकताले छपक्कै छोपेको छ, देखासिकी बढेको छ, तिजमा आफ्नै सुखदुःख बिर्साउनेभन्दा पनि गीत बजाएर खानपिन गर्नेतर्फ धेरैको ध्यान गएको छ, यो मलाई राम्रो लागेको छैन”, उहाँले भन्नुभयो ।

स्पिकरमा बज्ने गीतले रमाइलो गराए पनि आनन्द भने नदिने बताउनुहुन्छ अर्का स्थानीय विनीता डुम्रे । विगतका दिनमा गाउँघरमा सबै महिला दिदीबहिनी एकै ठाउँमा जम्मा भई दुःखसुखका गीत गाएर, नाचेर वर्षभरिका पीडा भुल्ने गरेको अनुभव छ उहाँसँग । तर पछिल्लो समय यसमा आएको परिवर्तन उहाँलाई पनि राम्रो लागेको छैन ।

“पहिलेका गीतमा नारी वेदना हुन्थ्यो, खाना सादा हुन्थ्यो, स्वस्थ हुन्थ्यो, रमाइलो र आनन्द त्यसमा पो थियो”, उहाँले भन्नुभयो, “अहिलेको तडकभडकमा के नै रमाइलो छ र, मात्र देखावटीपन छ ।”

एक दशकअघिसम्म प्रत्येक घरका पिँढीमा दिदीबहिनी भेला भई रमाइलो  गरेको देवचुली नगरपालिका–१३ दलदलेकी माया केसीलाई अझै सम्झना आउँछ । पहिला गाउँमा हुँदा दिदीबहिनीसँगै सुखदुःखका गीत गाउने, रमाइलो गर्ने गरेको भए पनि गाउँबाट बजारमा बसाइँ सरेपछि त्यो रमाइलो पनि हराएको मायाको अनुभव छ ।

“हामी गाउँमा हुँदा पीडा र वेदनाका गीत पनि गाउँथ्यौँ, विकृति र विसङ्गति पनि गीतमार्फत गाउँथ्यौँ । तिजको गाउँघरमा छुट्टै महत्त्व हुन्थ्यो”, उहाँले भन्नुभयो, “पहिले घरको पिँढीमा हुने रमाइलो अहिले पाटीप्यालेसमा सरेको छ । दुःखसुखका गीतबाट दिदीबहिनी हिन्दी गीतमा नाच्ने भएका छन् ।”

नेपाली महिलाले तिज पर्वलाई पवित्र पर्वका रूपमा मनाउँदै आए पनि पछिल्लो समय तिज मनाउने शैलीमा तडकभडक र विकृति बढ्दै गएको महिलाहरूले नै गुनासो गरेका छन् । तिजमा गाइने गीत र मनाउने शैलीमा आएको तडकभडकका कारण तिजको मौलिकता हराउँदै गएको छ । तिज आउनुभन्दा एक महिना अगाडिबाट दर खाने प्रचलन सहरबजारमा बढेको छ ।

कुनै समय एउटा घरमा जम्मा भएर दर खाने दिदीबहिनी आजभोलि होटल र पाटीप्यालेसमा दर खाने गरेको स्थानीय मुना भुसालले बताउनुभयो । दिनप्रतिदिन परम्परागत संस्कृति र संस्कारअनुसारको नेपाली मौलिकपन हराउँदै गएकामा नयाँ पिँढीका महिला पनि चिन्तित छन् । रासस