• २८ पुस २०८१, आइतबार

माडीमा एकीकृत विकासका कार्यक्रम

blog

चितवन समाचारदाता

चितवन, भदौ १५ गते  । माडी नगरपालिकामा एकीकृत सहरी पूर्वाधार विकास कार्यक्रम अन्तर्गत सघन सहरी तथा भवन निर्माण कार्यालय, भरतपुरमार्फत सडक, पार्क, चक्रपथ (रिङ रोड) को निर्माण कार्य सुरु भएको छ । २०७९ फागुनबाट सुरु भएको एकीकृत विकासका कार्यव्रmम अन्तर्गत अहिलेसम्म ६० प्रतिशत काम सम्पन्न भएको कार्यालय प्रमुख झपटबहादुर थापाले जानकारी दिनुभयो । 

एक वर्ष छ महिनामा सम्पन्न गर्नुपर्ने भए पनि निर्माण व्यवसायीले समयमा काम नगरेपछि छ महिना म्याद थप गरिएको छ । व्यवस्थित र सुविधा भएको सहरको अवधारणा अनुसार सडक निर्माणपछि आराम गर्न एकीकृत विकास अन्तर्गत वडा नं. ६ मा शान्तिपार्क र वडा नंं. २ मा सहिदपार्क निर्माण गरिँदै छ । 

छ वटामध्ये तीन वटामा कालोपत्रे गर्ने कार्य सम्पन्न भएको छ । बाँकी तीन वटा सडक कालोपत्रे गर्नका लागि बेस हाल्ने काम भइसकेको कार्यालयका प्रमुख थापाले जानकारी दिनुभयो । 

१६ करोड रुपियाँ बजेटमा निर्माण भइराखेको सहरी पूर्वाधारमा ८० प्रतिशत बजेट सडकमा र बाँकी बजेट पार्कमा खर्च गरिने कार्यालयले जानकारी दिएको छ । ढलसहित र ढल नभएको कम्तीमा छ मिटर चौडाइको सडक निर्माण गरिएको छ । बहुवर्षीय योजना अन्तर्गत यस वर्षबाट रिङरोड निर्माणको काम सुरु गरिने र यसका लागि एक करोड ५० लाख रुपियाँ बजेट विनियोजन भएको कार्यालय प्रमुख थापाले जानकारी दिनुभयो । जिल्लामा भरतपुर महानगरपालिका र माडी नगरपालिकामा एकीकृत सहरी पूर्वाधार विकास निर्माणको काम भइरहेको छ । भरतपुरमा ८० प्रतिशत निर्माणको काम सम्पन्न भएको छ । भरतपुरमा सहरी पूर्वाधार विकास निर्माणका लागि ५० करोड रुपियाँको कार्यव्रmम भए पनि ३१ करोड रुपियाँको बजेटबाट काम भइराखेको छ ।