• २८ पुस २०८१, आइतबार

वित्तीय अनुसन्धान ब्युरो गठन गछौँ : गृहमन्त्री लेखक

blog

गृहमन्त्री रमेश लेखक ।

काठमाडौँ, भदौ १४ गते। गृहमन्त्री रमेश लेखकले वित्तीय अपराध अनुसन्धानलाई थप विशिष्टीकृत रूपमा अनुसन्धान गर्न ‘वित्तीय अनुसन्धान ब्युरो’ गठन गर्ने बताउनुभएको छ।

सिंहदरबारस्थित गृह मन्त्रालयमा शुक्रबार सञ्चारकर्मीहरुसित कुरा गर्दै गृहमन्त्री लेखकले पछिल्ला दिनमा वित्तीय अपराध बढ्दो क्रममा रहेकाले त्यसको अनुसन्धानका लागि छुट्टै ब्युरो गठन गरिने बताउनुभयो। 

प्रहरी ऐनको विधेयकलाई मन्त्रिपरिषद् बैठकबाट निर्णय गराएर संसदमा दर्ता गर्ने तथा सशस्त्र प्रहरी बलको ऐनलाई टुङ्ग्याएर मन्त्रिपरिषद्मा पठाउने सो अवसरमा उहाँले जानकारी दिनुभयो।

“प्रहरीका केही कानुन धेरै पुराना भएकाले हामीले प्रहरी ऐनको विधेयकको मस्यौदालाई अन्तिम रूप दिएर मन्त्रिपरिषद्मा पठाउने तयारी गरिरहँदा केही प्रहरी अधिकृतले सर्वोच्च अदालतमा निवेदन दिनुभयो”, गृहमन्त्री लेखकले भन्नुभयो– ‘‘सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश सैद्धान्तिक रूपमा मेल नखाने देखिएपछि भ्याकेट निवेदन दिएका छौँ।” सर्वोच्च अदालतको आदेश सबैका लागि मान्य हुने उहाँको भनाइ थियो।

सर्वोच्च अदालतले २०७०/७१ मा नियमावलीमा भएको व्यवस्था ऐनमा व्यवस्था गर्न सरकारलाई दिएको आदेश यतिका दिनसम्म पालना नभएको उल्लेख गर्दै गृहमन्त्री लेखकले आफूले पदभार ग्रहण गरेपछि सो कार्य अघि बढाएको जानकारी दिनुभयो।

गृहमन्त्री लेखकले उत्तरमा तिङ्कर नाका तथा कोरला नाकाका साथै दक्षिणतर्फ बेलहिया नाकामा अध्यागमन कार्यालय स्थापना गर्ने तयारी भइरहेको बताउनुभयो। राष्ट्रिय परिचयपत्रलाई थप व्यवस्थित पार्ने, कुरिनटारमा रहेको सशस्त्र प्रहरी बलको विपद् शिक्षालयबाट विद्यार्थीलाई तालिम दिएर स्वयंसेवकका रूपमा खटाउने, केन्द्रीय नागरिकता सूचना प्रणालीलाई वडास्तरमा लैजाने तथा ट्राफिक नियम उल्लङ्घन गर्नेमाथि कारबाही गर्ने प्रक्रिया अघि बढाइएको उहाँले बताउनुभयो। 

सरकार गठनको एक सय दिनको अवधिलाई ध्यानमा राख्दै विभिन्न कामहरू प्राथमिकतामा राखेर काम अघि बढाइएको गृहमन्त्री लेखकको भनाइ थियो।