• २८ पुस २०८१, आइतबार

ज्येष्ठ नागरिकलाई सुविधा दिने कार्यविधि पूर्ण कार्यान्वयनमा ल्याउन मुख्यमन्त्री आचार्यको पहल

blog

दिवाकर पोख्रेल 

देउखुरी, भदौ १४ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सार्वजनिक सवारीसाधनमा ज्येष्ठ नागरिकलाई भाडा छुट र सुविधा दिने कार्यविधि पूर्ण कार्यान्वयनको लागी प्रदेश सरकारले पहल लिने बताउनुभएको छ । 

६० वर्ष उमेर पुगेका व्यक्तिलाई ज्येष्ठ नागरिकको दर्जा दिइएको छ । सार्वजनिक सवारीसाधनमा दुई वटा सिट सुरक्षित गरी ५० प्रतिशत गाडी भाडा छुट दिने कानुनी व्यवस्था छ । तर, यो व्यवस्था पूर्ण कार्यान्वयनमा नआउँदा ज्येष्ठ नागरिकहरू समस्या परेको भन्दै मुख्यमन्त्री आचार्यले कार्यविधिको पूर्ण कार्यान्वयनसँगै ८० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई सार्वजनिक सवारी साधनको भाडामा पूर्ण छुट दिने बारेमा समेत पहल गरिने बताउनुभएको हो ।

९२ वर्षीया ज्येष्ठ नागरिक जुद्धप्रसाद भट्टराई सँगको भेटमा मुख्यमन्त्री आचार्यले ज्येष्ठ नागरिकको संरक्षण र सामाजिक सुरक्षा गर्ने जिम्मेवारी राज्यको भएकाले पाका पुस्ताको ज्ञान, सिप, क्षमता र अनुभवको सदुपयोग गरेर समृद्ध लुम्बिनी आत्म निर्भर प्रदेश बनाउने अभियानमा जोडिन सबै ज्येष्ठ नागरिकहरूमा अपिल गर्नु भएको छ । "ज्येष्ठ नागरिकलाई श्रद्धा, आदर र सदभाव अभिवृद्धि गर्ने काम राज्यले गर्छ," उहाँले भन्नुभयो, "तपाईँहरूको ज्ञान, सिप, क्षमता र अनुभव मूलक बनाउन खाँचो छ ।"

मुख्यमन्त्री सँगको भेटमा ज्येष्ठ नागरिक भट्टराईले ८० वर्ष माथिका सबै ज्येष्ठ नागरिकलाई सार्वजनिक सवारी साधनमा भाडा निःशुल्क बनाउन माग राख्नु भएको थियो । मुख्यमन्त्री आचार्यलाई भेट गर्न भट्टराई बिहीबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरी आउनु भएको थियो ।

"हामीलाई सकभर गाडीमा चढाउँदै चढाउँदैनन् । चढाई हाले भाडा छुट दिँदैनन्," उहाँले भन्नुभयो, "हामी ज्येष्ठ नागरिकलाई यात्रामा पूर्ण छुट चाहियो ।" 

घरमा बस्नुभन्दा घुमेर समय बिताउन चाहने ज्येष्ठ नागरिकलाई राज्यले सुविधा दिनुपर्ने समेत भनाई राख्नु भयो । "एकै ठाउँमा बसिरहँदा बिरामी परिन्छ। राम्रो हुँदैन । भ्रमण गराउने काम राज्यले गर्नुपर्छ,’ भट्टराईले भन्नुभयो, "म घुमिरहन्छु । तर, गाडीमा यात्रा गर्न सजिलो छैन । ढाँट छल गर्छन् । दुःख दिन्छन् । हामीलाई सम्मान पूर्वक घुमिफिर गर्ने वातावरण बनाईदिनुपर्‍याे ।"

राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार नेपालमा ६० वर्षमाथिका ज्येष्ठ नागरिकहरूको सङ्ख्या २९ लाख ७७ हजार ३१८ पुगेको छ । जुन कुल जनसङ्ख्याको १०.२१ प्रतिशत हो ।