• ७ मंसिर २०८१, शुक्रबार

नृत्यको हुटहुटी ‘नूग् : द्य’

blog

काठमाडौँ, भदौ १४ गते । थापागाउँस्थित मण्डला थिएटरमा नाटक ‘नूग् : द्य’ मञ्चन भइरहेको छ । नेपाल भाषामा ‘नूग् : द्य’ अर्थात् भित्री आत्मा हो ।  मुख्य पात्र नुहाङकै लेखनमा विजय तामाङ ब्लोनले नाटकको निर्देशन गर्नुभएको हो । डान्सर बन्ने हुटहुटी बोकी हिँड्ने लोप्साङको जीवनमा आउने उतारचढावलाई नाटकमा प्रस्तुत गरिएको छ । तिनै कलाकारको उतारचढावलाई नाटकमा विभिन्न कोणबाट देखाउन खोजिएको छ । नृत्यको सपना पुनः सँगालेर आएका लोप्साङले आफूलाई त उभ्याएका छन् नै तमाम युवालाई समेत सपना देख्न र सपनाको गन्तव्यमा हिँड्न सिकाएका छन् ।

नाटकको सुरुवात राष्ट्रियस्तरको नृत्य प्रतिस्पर्धामा ‘म्याजिक क्रु’ को अन्तिम राउन्डको प्रस्तुतिबाट भएको छ । अन्तिम राउन्डको प्रस्तुतिकै क्रममा लोप्साङको नृत्य सपनामा अचानक तुषारापात हुन्छ । नृत्य देखाइरहनुपर्ने लोप्साङ जब ह्विलचियर देखिन्छ त्यसपछि उनी आफ्नो विगतमा फर्कन्छन् । उनका जीवन भोगाइ विस्तारै विस्तारै खुल्दै जान्छन् । 

२६ वर्षीय लोप्साङको कलाकार बन्ने सपनादेखि लिएर नृत्य प्रतिस्पर्धामा उत्कृष्ट भएर अन्तर्राष्ट्रियस्तरमा प्रतिनिधित्व गर्न पाएमा नामसँगै थोरै दाम पनि कमाउँछु भन्ने उनको सपना छ । नृत्यबाट पैसा कमाइहाले बहिनी निमा (चेनमी राई) लाई राम्रो स्कुल पढाउने, आपा (बुवा) छिरिङ (युभहाङ राई) लाई किराना पसल खोलिदिने र आमा डोल्मा (रञ्जिता लिम्बू) लाई राम्रो अस्पतालमा लगेर उपचार गराउने उनको सपना छ । त्यही सपना बोकेर उनी दुई घण्टाको बाटो लगाएर डान्स कक्षा र काममा दिनहुँ जाने गर्छन् । 

उनी मात्र होइन उनी जस्तै सपना बोकेर आउने अन्य साथी साया (स्मृति श्रेष्ठ), सुरज (मनिष पाण्डे), दिवस (श्याम कार्की) लाई उनले नृत्य कक्षामा भेट्छन् । सबैको मनमा केवल नृत्य गर्ने हुटहुटी मात्र छ । हुटहुटीसँगै समस्याका चाङ पनि उस्तै छन् । मुख्य कुरा भनेको पैसा हो । नृत्य सिक्नका लागि पैसाको जोहो कहाँबाट मिलाउने सबै रनभुल्लामा छन् । सबै आमाबुवाको चाहना आफ्नो जवान छोराले केही कमाएर घरबार चलाओस् भन्ने छ तर छोरा लोप्सन नृत्यकै पछि लागिरहेको छ । घरको अभावले नै गर्दा उनले छोराले त्यो बाटो समातेको खासै रुचाउँदैनन् । उनी छोराका लागि कामको खोजी गरिरहेका छन् तर यता लोप्साङ आफ्नै नृत्यमा नै व्यस्त छन् । त्यसपछि सुरु हुन्छ, बाउछोरामा देखिने मनमुटाव  । 

अनेकन् समस्याले जुधिरहेको र ह्विलचियरमा पुग्दा उनकी आमा बितिसकेकी हुन्छिन् । जब उनका आँखाअगाडि आमा र आफ्नै सपना आउँछन्, तब उनले आफैँभित्रको उज्यालो देख्छन्, आफैँलाई विश्वास गर्छन् र हिम्मत जुटाएर उज्यालो लिएर फेरि उठ्छन् ।

नाटकलाई नुहाङ लेखनमा मात्र सीमित नभएर आफ्नो अभिनय कलामा समेत उत्तिकै प्रबल देखिन्छन् । लोप्साङ प्रमुख पात्रको भूमिकामा देखिएका छन् । रङ्गकर्मी विजयले आफ्ना कथा पनि उनकै लेखनमा मिसाइदिएका छन् ।

बुवाको चरित्रमा देखिएका (युभहाङ राई), साहुजी (राजीव चौधरी) को अभिनयलाई धेरैले सम्झिरहने छन् । नाटकमा प्रकाश डिजाइनमा उमेश तामाङ, सेट डिजाइनमा मानबहादुर राई, युभहाङ राई, प्रप्समा श्याम कार्की, कस्ट्युममा अपिल कार्की, स्टेज व्यवस्थापन र सहायक निर्देशनमा मञ्जिल श्रेष्ठ छन् ।