• १६ भदौ २०८१, आइतबार

धुलिखेल बन्योे पहिलो ‘स्वस्थ सहर’

blog

बनेपा समाचारदाता

बनेपा, भदौ १३ गते । काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिका नेपालको पहिलो ‘स्वस्थ सहर’ घोषित भएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का प्रतिनिधि सुभागी गुडले मङ्गलबार भर्चुअल बैठकमार्फत धुलिखेललाई एसियाको दोस्रो स्तर र नेपालको पहिलो स्वस्थ सहरका रूपमा घोषणा गर्नुभएको हो । 

२०७५ सालदेखि स्वस्थ सहर बनाउने अभियान सुरु गरेको धुलिखेल नगरपालिकालाई स्वस्थ सहर घोषणा गर्नका लागि विश्व स्वास्थ्य सङ्गठनले विसं २०७८ देखि अनुगमन सुरु गरेको र दुई वर्षसम्मको निरन्तर अनुगमनपछि यस वर्ष नगरपालिकालाई नेपालको पहिलो स्वस्थ सहर घोषणा गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सन्दीप केसीले जानकारी दिनुभयो । उहाँले डब्लुएचओको एसिया स्तरमा काम गर्ने युजिएचडब्लु नामक संस्थाले स्वस्थ सहरका लागि तयार पारेको विभिन्न सूचकाङ्कमा ६५.४८ अङ्क प्राप्त गरी डब्लुएचओको हेल्दी सिटी नेटवर्कमा आबद्ध भएको बताउनुभयो । 

एसियाको दोस्रो स्तर र नेपालको पहिलो स्वस्थ सहर भएसँगै नगरपालिकाले स्वस्थ सहर अन्तर्गत विभिन्न कार्यव्रmम सञ्चालनका लागि पाँच हजार अमेरिकी डलर पुरस्कार प्राप्त गरेको स्वास्थ्य शाखा प्रमुख केसीले बताउनुभयो । मङ्गलबार स्वस्थ सहर घोषणा भए पनि उक्त घोषणाको औपचारिक प्रमाणपत्र भने आगामी नोभेम्बर अन्तिम साता विशेष समारोहबिच नगरपालिकाले प्राप्त गर्ने जानकारी दिइएको छ । डब्लुएचओले स्वस्थ सहर घोषाण गर्नुपहिले स्वास्थ्यमा नागरिकको सहभागिता, स्वास्थ्य नीति निर्माण, स्वास्थ्यमा राजनीतिक प्रतिबद्धता,  पोषण, बाल स्वास्थ्य, स्वास्थ्यमा रचनात्मक व्रिmयाकलाप (क्षयरोगमुक्त, पोषणमैत्री कार्यव्रmम) लगायतका विभिन्न सूचकलाई आधार मानेर अनुगमन तथा मूल्याङ्कन गरेको थियो । स्वस्थ सहरका लागि नेपालबाट धुलिखेल नगरपालिका, ललितपुर महानगरपालिका, धरान उपमहानगरपालिका र चन्द्रागिरि नगरपालिकाले आवेदन दिएका थिए । नगरपालिकाले स्वस्थ सहर बनाउने अभियान अन्तर्गत बस्ती स्तरमा महिला स्वास्थ्य स्वयंसेविकाको नेतृत्वमा १० सदस्यीय, वडामा २१ सदस्यीय र नगरपालिकाका ३३ सदस्यीय स्वास्थ्य स्वयंसेवक समिति गठन गरी त्यसमा ६७० जना नागरिकलाई आबद्ध गरेको थियो । 

त्यस्तै नगरपालिकाले क्षयरोगमुक्त अभियान, पारदर्शिताका लागि ड्यासबोर्ड कार्यव्रmम सञ्चालन, स्वास्थ्य संस्थाको सामाजिक परीक्षण, बस्ती स्तरमा विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य शिविर सञ्चालन र नगरभित्रका नागरिकको डिजिटल स्वास्थ्य प्रोफाइल बनाइएको स्वास्थ्य शाखा प्रमुख केसीले बताउनुभयो ।