• २८ पुस २०८१, आइतबार

अनुमतिको बाध्यताले हेली उद्धारमा समस्या

blog

ल्होमन्थाङका ५९ वर्षीय तामदिङ आङ्गेललाई प्रभु एयरको हेलिकोप्टरबाट उपचारका लागि पोखरा लगिँदै ।

अमृतप्रसाद पौडेल

म्याग्दी, भदौ १३ गते । मुस्ताङको माथिल्लो भेक ल्होमन्थाङमा बुधबार बिहान एउटा पर्यटकको गाडीले ठक्कर दिँदा ५९ वर्षीय पुरुष सख्त घाइते भए । तत्काल प्राथमिक उपचार भयो तर उनलाई तुरुन्तै पोखरा लगेर उपचार गर्नुपर्ने भनेर स्वास्थ्य चौकी ल्होमन्थाङले भन्यो । हेलिकोप्टरमार्फत पोखरा लैजान तुरुन्तै प्रयास गरिएको भए पनि प्रयास गरेको चार घण्टापछि मात्रै हेलिकोप्टर ल्होमन्थाङ लैजान गृह मन्त्रालयले अनुमति दियो । त्यसपछि मात्रै पोखराबाट प्रभु एयरको हेलिकोप्टर ल्होमन्थाङ पुगेर बिरामीलाई लिएर पोखरा पुर्‍याएपछि चरक अस्पतालमा बिरामीको उपचार थालिएको छ । 

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक राजन थापाका अनुसार ग. १ य १०४७ नम्बरको गाडीले बुधबार बिहान ७ बजे ठक्कर दिँदा लोमन्थाङ गाउँपालिका–५, लोमन्थाङका तामदिङ आङगेल घाइते हुनुभएको थियो । घाइते तामदिङको ढाडमा चोट लागेका कारण गर्दा लोमन्थाङ स्वास्थ्य चौकीमा सामान्य उपचारपछि थप उपचारका लागि चरक अस्पताल पोखरा लगिएको उहाँले जानकारी दिनुभयो । गाडीचालक बागलुङको निसीखोला गाउँपालिका–६ का २२ वर्षीय हिरा घर्तीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । 

‘भर्जिन एरिया’ भनिने ल्होमन्थाङ आफैँमा दुर्गम तथा दूरदराजको क्षेत्र हो । त्यही दूरदराजका नागरिक बिरामी पर्दा तत्काल उद्धार गर्न निकै समस्या हुने गरेको छ । गाडीको ठक्करबाट घाइते तामदिङका भान्जा छेवाङ गुरुङका अनुसार कुनै बिरामीलाई तत्काल उपचारका लागि लैजान पर्दा हेलिकोप्टर लोमन्थाङ पु¥याउने भनेको युद्ध जिते जस्तै हो । उहाँ भन्नुहुन्छ, “स्वास्थ्य चौकीले पोखरा लैजान पर्छ भन्यो तर हेलिकोप्टर ल्याउने प्रक्रिया लामो र झन्झटिलो हुँदा निकै समस्या भयो ।” बिहान ७ बजे मामा घाइते भएपछि तत्काल बिरामीको आफन्तको अनुरोधका आधारमा ल्होमन्थाङ गाउँपालिकाबाट जिल्ला प्रशासनलाई सिफारिस र जिल्ला प्रशासनले गृह मन्त्रालयलाई अनुमतिको पत्र लेख्ने काम भएपछि गृहबाट अनुमति पाएर ११ बजेपछि मात्रै हेलिकोप्टर ल्होमन्थाङ पुगेको उहाँले बताउनुभयो । अहिले चरक अस्पतालमा उपचार भइरहेको छ, पैसा होस् वा नहोस् निषेधित क्षेत्र भएको कारणले गर्दा बिरामीको उपचार गर्न पनि धेरै झन्झट बेहोर्न परेको उहाँको अनुभव छ । सामान्य नागरिकका लागि त्यो प्रक्रिया निकै सकसपूर्ण रहेको उहाँले बताउनुभयो । 

ल्होमन्थाङ गाउँपालिकाकी उपाध्यक्ष छ्युमी विष्ट गुरुङले केन्द्र सरकारले कम्तीमा जिल्ला प्रशासनबाटै उपल्लो मुस्ताङको निषेधित क्षेत्रका लागि हेलिकोप्टर उडानको अनुमति प्रदान गर्ने व्यवस्था गरिदिने हो भने बिरामीको छिटो उपचार गर्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो, “निषेधित क्षेत्र हो तर त्यस क्षेत्रमा हेलिकोप्टर उडानका लागि कम्तीमा सम्बन्धित जिल्ला प्रशासनलाई अनुमति दिने अधिकार केन्द्र सरकारले प्रत्यायोजन गरेको खण्डमा धेरै बिरामीको उपचारमा ढिलाइ भएर अकालमा ज्यान जानबाट जोगिन्थ्यो ।” मुस्ताङको उपल्लो भेक सरकारले निषेधित क्षेत्र घोषणा गरेका कारण हेलिकोप्टरलगायतका उडानका लागि जिल्ला प्रशासनको सिफारिसका आधारमा गृह मन्त्रालयले अनुमति दिने गरेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले सहजीकरण गरेपछि तत्कालै हुन्छ तर पनि निषेधित क्षेत्र भएको हुनाले गृह मन्त्रालयले नै सहजीकरण गरेर उडान अनुमति दिने गरेको छ ।”